महिला टी-२० सिरिजमा नेपाल तेस्रो

आइतबार, ३ मंसिर, २०८०
डिजिटल संस्करण

चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ। आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो। 

हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो। 

नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दु बर्माले १२ रन बनाइन्। बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक–एक विकेट लिए। 

एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो। जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाए। 

बलिङतर्फ नेपालकी संगीता राई, इन्दु बर्मा, सीता रानामगर, खुसी डंगोल र सोनी पाख्रिनले एक–एक विकेट लिए। 

महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए। तान्जानिया र हङकङबीच उपाधिका लागि आज ११ः४५ बजे खेल हुँदै छ।

सुझावित समाचार