५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर

शुक्रबार, १ मंसिर, २०८०
डिजिटल संस्करण

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रूपमा मनाइने भएको छ।

आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने जनाइएको छ। विभागअन्तर्गत एउटा ठूला करदाता कार्यालय, एउटा मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी कुल ८४ वटा कार्यालय सञ्चालनमा रहेका छन्।

विभागका अनुसार गत आर्थिक वर्ष ०७९/८० सम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिएका करदाताको संख्या ५५ लाख २५ हजार नौ सय १९ रहेको छ। जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर (बी–पान) लिएका करदाताको संख्या १८ लाख ७६ हजार तीन सय पाँच र व्यक्तिगत स्थायी लेखा नम्बर (पी–पान) लिने करदाताको संख्या ३६ लाख ४९ हजार ६ सय १४ रहेको छ।

गत आर्थिक वर्ष ०७९/८० मा सरकारले कुल रु. नौ खर्ब ५७ अर्बबराबर राजस्व असुली गरेकोमा आन्तरिक राजस्व विभागबाट उठेको राजस्व मात्र रु. चार खर्ब ७९ अर्बबराबर थियो। जुन सरकारको कुल वार्षिक राजस्व असुलीको ५०.१२ प्रतिशतबराबर हो। गत आव सरकारले विभागलाई रु. ६ खर्ब २६ अर्ब ६१ करोडबराबर राजस्व असुलीको लक्ष्य दिएकोमा लक्ष्यको ७६.५७ प्रतिशत अर्थात् रु. चार खर्ब ७९ अर्ब ७९ करोडबराबर राजस्व उठेको विभागले जनाएको छ। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक राजस्वको योगदान करिब २० प्रतिशत रहेको छ।

आन्तरिक राजस्वको शीर्षकगत असुलीको प्रतिशत हेर्दा सबैभन्दा बढी योगदान आयकरको रहेको छ । कुल आन्तरिक राजस्वमा आयकरको हिस्सा ४४.५२ प्रतिशत छ । मूल्य अभिवृद्धि कर (भ्याट)को योगदान २४.५० र अन्तःशुल्कको योगदान २१.६७ प्रतिशत रहेको छ । त्यस्तै, ब्याजदरको योगदान ६.६७ प्रतिशत, घरबहाल करको योगदान ०.६४ प्रतिशत, स्वास्थ्य सेवा शूल्कको अंश १.४१ प्रतिशत र शिक्षा सेवा शुल्कको अंश ०.४२ प्रतिशत रहेको छ।

गत आवमा कार्यालयगत राजस्व संकलनको अवस्था हेर्दा ठूला करदाता कार्यालयको ३९ प्रतिशत देखिन्छ भने मध्यमस्तरीय करदाता कार्यालयको चार प्रतिशत रहेको छ । त्यस्तै, आन्तरिक राजस्व कार्यालयको ५३ प्रतिशत र करदाता सेवा कार्यालयको चार प्रतिशत रहेको विभागले जनाएको छ।

सुझावित समाचार