फेन्सी मोहले हातको सीप संकटमा

मंगलबार, २८ कार्तिक, २०८०
डिजिटल संस्करण

हस्तकलाका व्यापारी भन्छन्- ग्राहकले मिहिनेत र गुणस्तर बुझ्दैनन्, सामानको मूल्य सुनेर जिब्रो टोक्छन्

बिहान उठेपछि प्राय: हातमा क्रुस खेलाउँछिन्, रेसुंगा नगरपालिका-२ क्याम्पसरोडकी तारा पन्थी । ०५६ सालदेखि 'तारा बुनाई प्रशिक्षण केन्द्र' सञ्चालन गरेकी पन्थीले हस्तकलाका सामग्री लिएर १२ दिन महोत्सवमा पुगिन् । उनले दैनिक ग्राहक कुरिरहेकी थिइन् । गुल्मी उद्योग संघले १५ कात्तिकदेखि २७ गतेसम्म प्रथम ऐतिहासिक गुल्मी महोत्सवको आयोजना गरेको थियो ।

'नजिकैबाट हातभरि समान बोकेर बाहिरिनेहरूलाई ताराले स्टलका सामग्रीहरू देखाउँथिन् । ग्राहकले सामग्री हेर्थे पनि । तर, पैसा सुनेपछि जिब्रो टोकेर फर्किन्थे,' उनले भनिन्, 'जसका कारण साेचेअनुसारको व्यापार भएन ।' उनको स्टलमा झुन्डिएको सुइटरकाे मूल्य दुई हजार थियो । 

हातले मिहिनेत गरेर बुन्ने भएकाले पन्जु, चँदुवा, गलबन्दी, सुइटर, टोपी र माेजा सबैको मूल्य धेरै पर्छ । 'नजिकैको फेन्सी स्टलमा दुई हजारका दुईवटा ज्याकेट पाइन्छ । मैले दुई हजारको हातले बुनेको सुइटर घटाएर १७ सयमा दिँदा पनि ग्राहकले लगेनन्,' उनले भनिन्, ‘फेन्सी मोहले हातको सीप विस्थापित हुने भयो ।’ 

हातले बुनेका सामग्री बलिया हुन्छन् । यी सामग्री खोज्दै आउनेबाहेकले स्टलमा फर्किएर पनि नहेरेको पन्थीले गुनासो गरिन् । महोत्सवको स्टल नि:शुल्क पाइएकाले व्यापार नभए पनि घाटा व्यहोर्नुनपरेको उनले बताइन् । उनले ०४७ सालमा श्रीमान् बितेपछि बुनाईलाई नै अर्थोपार्जनको प्रमुख आधार बनाएर जीविकोपार्जन गरिरहेकी छिन् । 

उषा ढाका उद्योगकी उषा श्रीसले पनि महोत्सवमा सोचेअनुसारको व्यापार गर्न सकिनन् । उनको आफ्नै उद्योग छ । उनले ०७६ सालबाट व्यावसायिक रूपमा ढाका उद्योग सञ्चालन गरेकी छिन् । स्टल नि:शुल्क भएकाले केही आशा बोकेर १२ दिन महोत्सवमा बसिन् । उनको पनि पीडा ताराकै जस्तै थियो । 

उषाले उद्योगबाट सल, साडी, खादा, ब्याग र टोपीहरू निर्माण गर्छिन् । स्टलमा दुई सय ५० देखि ५५ सयसम्मका सामग्री थिए । तर, न्यूनतम मूल्यमा सोही प्रकृतिका आकर्षक फेन्सी सामग्रीहरू नजिकै पाइने भएकाले चेपुवामा ढाकाका सामग्री परे । ‘पहिलेका महोत्सवमा ३० हजारसम्मको व्यापार गर्थें । अहिले १२ दिनमा एउटा सल र केही ब्यागहरू बेचेँ,' उनले भनिन्, ‘फेन्सी बजारसँगै हामी दौड्न नसक्ने भयौँ ।’ पछिल्लो पुस्तालाई ढाका र त्यसको महत्त्व नै थाहा नभएकाले पुराना केही मान्छेले मात्रै सामग्री खरिद गरेकाे श्रीसले बताइन् । 

फेन्सी व्यावसायी सन्तुष्ट
सोचेअनुसारको व्यापार नभए पनि सन्तुष्ट थिए फेन्सी व्यावसायी । रुपन्देहीबाट आएका अर्मान जाबेदले विगतका महोत्सवमा साढे तीनदेखि चार लाखको व्यापार गर्थे । अहिले सिमलटारीमा पनि राम्रो व्यापार गरे । उनले लामो समयदेखि 'अर्मान जाबेद कलेक्सन' मार्फत जाडोका सुइटर, हाइनेक, टाउजरलगायतका सामग्री बिक्री गर्छन् ।

उपल्लो तम्घासमा पनि दुई दिनमा मात्रै डेढ लाखको व्यापार गरेको जाबेदले प्रतिक्रिया दिए । उनले सुरुका दिनमा निकै कम मान्छेहरू आएकाले धेरै फाइदा नभए पनि आफूहरू सन्तुष्ट रहेको बताए । मेला व्यावस्थापन राम्रो भए पनि ठाउँका कारण मान्छे कम आएको जाबेदकाे भनाइ छ । 

पोखराबाट गुल्मी पहिलोपटक आएका थिए, एम. डी. शाह आलम । उनले जाडोका फाइबर ज्याकेटको खुबै व्यापार गरे । गुल्मी चिसो ठाउँ र समय पनि मिलेकाले राम्रो व्यापार गरेकोमा आलमले खुसी व्यक्त गरे । उनले गुल्मीमा व्यापारीले अन्तिममा सित्तैमा छोडेर जान्छन् भनेर कुरेर बस्ने बानीका कारण सुरुमा राम्रो व्यापार नभएको बताए ।

अहिले युवादेखि पाको पुस्तासमेत फेन्सी र सस्तो बजारमा भुलेको छ । छिटो–छिटो फेसन परिवर्तन हुने र मौसमअनुसारका सामग्री सस्तोमा आउने भएकाले सबैको ध्यान फेन्सी बजारमा रहेको मालिका गाउँपालिका–४ का ६१ वर्षीय गीर बहादुर थापाले बताए । 

२५ सयका दुईवटा फाइबर सिरक किनेका थापाले हातले बनाएका कपासको सिरकजस्तो नभए पनि सस्तो र चार/पाँच वर्षलाई पुग्ने भएकाले खरिद गरेको बताए । ‘पहिले किन्ने पैसा नै हुन्थेन । रोजेर किन्ने सामग्री पनि हुन्थेनन्,' उनले भने, ‘अहिले पैसा र विकल्पहरू थुप्रै छन् ।’

गुल्मी उद्योग संघले आयोजना गरेको प्रथम ऐतिहासिक गुल्मी महोत्सवमा करिब तीन सय किसिमका व्यापारिक स्टलहरू राखिएको थियो । महोत्सवमा गुल्मीका घरेलु उत्पादनका सामग्रीको प्रदर्शन, माटाका सामग्री, कफी, काठको ठेकी निर्माण, किबीलगायत विभिन्न कृषि उत्पादन र घरेलु उत्पादनको सामग्रीहरूको लागि नि:शुल्क स्टलको व्यावस्थापन गरिएको गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए।

See More On

सुझावित समाचार