१७० किलोमिटर लामो ‘मञ्जुश्री ट्रेल रेस’ सुरु

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण
१७० किलोमिटर लामो ‘मञ्जुश्री ट्रेल रेस’ सुरु

तस्बिर सौजन्य : जीवन लामा

एक सय ७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण सुरु भएको छ । शुक्रबार बिहान ६ बजे काठमाडौंको दहचोकस्थित कालु पाँडे डाँडाको फरेस्ट क्याम्पबाट दौड सुरु भएको हो।

यति लामो ट्रेल रेस नेपालकै पहिलो र एक मात्र भएको आयोजकको दाबी छ। मञ्जुश्री ट्रेल रेसअन्तर्गत नै लामो दूरीमा सहभागी हुन अनुकूल नहुनेको सहभागिताका लागि झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीनवटा रेस प्रतियोगिता पनि समावेश छन्। सबै दौड दहचोकस्थित कालु पाँडे डाँडामै पुगेर सकिनेछन्।

प्रतियोगिताका चार चरणमा गरी ६७ नेपाली र २१ विदेशी गरी जम्मा ८८ प्रतियोगी सहभागी छन्। जसमध्ये ६९ जना पुरुष र १९ जना महिला छन्।

ट्रेलमाण्डुको सहकार्यमा गैरनाफामूलक संस्था ‘मञ्जुश्री ट्रेल रेस’ले  कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिए। कार्यक्रमको व्यवस्थापनमा आयोजक समितिका पदाधिकारीसहित ५० जना स्वयंसेवक खटिएका छन्।

‘ट्रेल रेसका लागि नेपाल विश्वमै उत्कृष्ट गन्तव्य हो, यसको अझै प्रचार र व्यवस्थापन हुन सके ट्रेल रेसको हबका रूपमा नेपाललाई विकास गर्न सकिन्छ,’ अन्तर्राष्ट्रिय क्षेत्रमा ट्रेल रेसमा लागिपरेका जिम्मीले भने।

‘नेपालमा प्रचुर सम्भावना भएर पनि ट्रेल रेसको कल्चर बिस्तारै विकास हुँदै गइरहेको छ,’ रेस व्यवस्थापक महेश दाहाल भन्छन्, ‘यस किसिमको प्रतियोगिताले नेपालमा रेस कल्चरको विकास गर्न र नेपाली धावकलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित ट्रेल रेसमा प्रतिस्पर्धा गर्नका लागि योग्य बन्न अभिप्रेरित गर्छ।’

विभिन्न देशबाट यो कार्यक्रमकै लागि भनेर सहभागी आउनुले नेपालको ट्रेल रेस अन्तर्राष्ट्रिय जगतमा परिचित हुँदै गएको र राम्रो सम्भावना भएको पुष्टि गर्ने दाहालको भनाइ छ।

नेपाल पर्यटन बोर्डका पब्लिक रिलेसन तथा पब्लिसिटी अफिसर सीताराम दाहाल नेपालमा फरक–फरक खालका अनगिन्ती पर्यटकीय गन्तव्य भएको बताउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका ट्रेल रेसको प्रवर्द्धन गर्न सके थप पर्यटकहरू आकर्शित गर्न सकिने धारणा राख्छन्।

आयोजकका अनुसार एक सय ७० किलोमिटरको दौडमा पुरुष र महिलातर्फका विजेताले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विट्जरल्यान्डमा आयोजना हुने ‘अल्ट्रा टुर मोन्टा रोस (युटिएमआर)’मा सहभागी हुने अवसर पाउनेछन्। सो अवसरमा उनीहरूको आर्थिकलगायत सम्पूर्ण व्यवस्थापनको संयोजन मञ्जुश्री ट्रेल रेसले गर्नेछ।

विजेताले नगद र प्रमाणपत्रसहित ‘एड्भेन्चर गियर’ पुरस्कारस्वरूप प्राप्त गर्ने आयोजकले बताएको छ। विश्वमै चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए। त्यसपश्चात् उनीहरूले सन् १०१६ मा यो रुट छिचोले।  जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्यलगायतले पटकपटक गरी ट्रेलको वैकल्पिक रुटहरूसहित नक्सांकन गरेका थिए। विभिन्न चरणमा विभिन्न  व्यक्तित्वको संलग्नतामा एक सय ७० किलोमिटर दूरीको यो रुट पूर्ण रूपमा निर्धारण गर्न करिब तीन वर्ष लागेको थियो।

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्यांकन तथा निर्धारण गर्ने संस्था युटिएमबीको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ।

आइटिआरएको मापदण्डअनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अंक प्राप्त गर्छन् जुन आइटिआरए सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ।

यसअघि केही सहभागीले दुई दिनमा र केहीले तीन दिनमा दौड पूरा गर्ने गरेको थापाले जानकारी दिए। 

आयोजकका अनुसार दौडको रुटमा १९ चेक प्वाइन्ट रहेको छ। कालु पाँडे डाँडाबाट सुरु भएको रुट रामकोट, जामाचोक, तीनपिप्ले, गुर्जे भन्ज्याङ, शिवपुरी पिक, चिसापानी, जर्सिङ पौवा,  नगरकोट, नालागुम्बा, साँगा, रानीकोट, लाँकुरीभन्ज्याङ, फुल्चोकी, लेले, बागमती खोला, फर्पिङ, हात्तीवन, चन्द्रागिरि, चित्लाङ हुँदै पुनः कालु पाँडे डाँडामा नै पुगेर फरेस्ट क्याम्पमा सांगीतिक प्रस्तुतिसहित समापन हुने कार्यक्रम छ।

सुझावित समाचार