पोर्चुगलमा दूतावास खोल्ने सरकारी निर्णय

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण
पोर्चुगलमा दूतावास खोल्ने सरकारी निर्णय

सनिल नेपाल

सरकारले पोर्चुगलमा आवासीय राजदूतावास स्थापना गर्ने र राजदूतमा सनिल नेपाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । व्यवसाय, काम र अध्ययनका लागि गरी पोर्चुगलमा करिब ३० हजारको हाराहारीमा नेपाली रहेको अनुमान छ । उदार आप्रवासी नीतिले दक्षिण एसियाली कामदारका लागि दक्षिणी क्षेत्रमा रहेको युरोपियन मुलुक पोर्चुगल आकर्षक गन्तव्य हो ।

सरकारले क्यानाडाका लागि राजदूतमा परराष्ट्र सचिव भरतराज पौड्यालको नाम २ कात्तिकमा सिफारिस गरेको थियो भने पोर्चुगलमा नेपाललाई बिहीबार सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा राजदूतावास स्थापना गर्ने र राजदूत सिफारिस गर्ने निर्णय गरेको जानकारी दिइन् । 

प्रस्तावित राजदूत नेपाललाई सत्तारुढ कांग्रेसले सिफारिस गरेको हो । उनी कूटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रूपमा सक्रिय हुँदै आएका छन् । उनी विगतमा नेपाल विद्यार्थी संघमा सक्रिय थिए । उनले त्रिभुवन विश्वविद्यालयबाटै मानविकी संकायतर्फको अंग्रेजी साहित्य र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । 

२१ मंसिर ०७५ मा पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा गठित कार्यदलले डेनमार्क, क्यानाडा, स्पेन र दक्षिण अफ्रिकास्थित दूतावास हटाएर टर्की, इटली, केन्या, इन्डोनेसिया र सिंगापुरमा दूतावास थप्न सरकारलाई सुझाव दिएको थियो । कार्यदलले सुझाव नदिए पनि पोर्चुगलमा राजदूतावास स्थापना गर्न त्यहाँ रहेका नेपालीहरूले माग गर्दै आएका थिए । डेनमार्कले भने २०१७ देखि नेपालस्थित दूतावास हटाएको छ ।  हालै उत्तर कोरियाले नेपालमा रहेको राजदूतावास बन्द गर्न लागेको जानकारी सरकारलाई दिएको छ । युरोप र एसियाको सेतु युरोपको छैठौँ ठूलो अर्थतन्त्र भएको देश टर्कीमा दूतावास स्थापना गर्नुपर्ने  सुझाव छ । टर्कीसँग नेपालको सोझो हवाई सम्पर्क छ । 

इटलीमा दूतावास पुनः स्थापना गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ । पञ्चायतमै इटलीमा स्थापना भएको दूतावास त्यो समयमै बन्द भएको थियो । नेपालले इरानको तेहरानमा पनि राजदूतावास स्थापना गरेको थियो, तर पञ्चायतकालमै बन्द भएको थियो । इन्डोनेसिया आसियानको हेडक्वार्टर भएको र पर्यटक संख्या वृद्धिको सम्भावना भएका कारण दूतावास स्थापना हुनुपर्ने सुझाव कार्यदलले दिएको थियो । सिंगापुर एसियाको प्रमुख व्यापारिक नाका भएकाले राजदूतावास स्थापना हुनुपर्ने सुझाव छ । 

अब विदेशस्थित नेपाली राजदूतावास र स्थायी नियोगको संख्या ३४ पुगेको छ । पोर्चुगलसमेत थपिँदा अब विभिन्न मुलुकमा नेपालका ३१ राजदूतावास, संयुक्त राष्ट्रसंघका लागि ३ वटा स्थायी नियोग र ६ महावाणिज्य दूतावास गरी ४० कूटनीतिक कार्यालय भएका छन् । जसअनुसार अब ३३ देशमा नेपालका ३४ राजदूतावास (न्युयोर्कको नियोगसमेत) हुनेछन् । अमेरिकाका लागि नेपाली राजदूतावास वासिंटन डिसीमा छ भने न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग छ । सबै महादेश, विकास साझेदार मुलुक, शक्ति राष्ट्र, श्रम गन्तव्य मुलुकमा नेपालको कूटनीतिक उपस्थिति छ । दक्षिण एसियामा अफगानिस्तान, भुटान र माल्दिभ्सबाहेक सबै मुलुकमा नेपाली राजदूतावास छ । 

पोर्चुगलका लागि प्रस्तावितसमेत जोड्दा राजनीतिक भागबन्डाका आधारमा  नियुक्त हुने राजदूतहरूको संख्या १६ पुगेको छ । परराष्ट्र सेवाबाट राजदूत भएका र सिफारिससमेत जोड्दा संख्या १८ पुगेको छ । 

राजनीतिक भागबन्डाका आधारमा भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, रुस, कतार, दक्षिण कोरिया, दक्षिण अफ्रिका, डेनमार्क, श्रीलंका, स्पेन, साउदी अरेबिया र इजरायलमा राजदूत छन् ।  परराष्ट्रबाट प्रस्तावित छजना राजदूतबाहेक पाकिस्तान, जापान, बंगलादेश, बहराइन, म्यानमार, जर्मनी, ब्राजिल, इजिप्ट, ओमान, अस्ट्रिया, बेल्जियममा राजदूत छन् । 

पोर्चुगलमा प्रस्तावित राजनीतिक कोटाबाट हुन् भने क्यानाडामा प्रस्तावित राजदूत पौड्याल परराष्ट्र सचिव हुन् । पौड्याललाई सरकारले मन्त्रीस्तरीय हैसियत र सेवासुविधा पाउने गरी राजदूतमा सिफारिस गरेको हो । 

सुझावित समाचार