गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरस्केलको भूकम्पले रुकुम पश्चिममा पनि मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्यायो। सोही भूकम्पले गर्दा हजारौँको घरबास उजाड भएको छ भने हजारौँको संख्यामा स्थानीय बासिन्दा त्रिपालको सहारामा चिसो रात कटाउन बाध्य भएका छन्।
भूकम्पले घर पूर्ण रूपमा क्षति पुर्याउँदा शनिबारदेखि नै त्रिपाल सहारा बनेको र त्रिपालमै चिसो रात कटाउनुपरेको आठबीसकोट नगरपालिका– १३ भल्लमाका ४१ वर्षीय हरिबहादुर ओलीले बताए। त्रिपालमा चिसो रात कटाउन आफ्नो परिवारलाई निकै मुस्किल भएको उनको गुनासो थियो।
भूकम्पले आठबीसकोट नगरपालिकामा चार हजार दुई सय ७३ घर पूर्ण रूपमा क्षति भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए। उनका अनुसार भूकम्पले नगरपालिकाको ९, १०, ११, १२, १३ र १४ नम्बर वडाका घर बढी क्षति भएका र अन्य बाँकी वडामा भने कमै मात्रा क्षति पुगेको छ।
नगरपालिकामा भएका जम्मा आठ हजार ६ सय ३७ घरमध्ये चार हजार दुई सय ७३ घर पूर्ण रूपमा क्षति हुँदा दुई हजार १८ घरमा आंशिक क्षति पुगेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहको भनाइ थियो। भूकम्पले नभएका वडामा पनि सामान्य क्षति पुगेको छ। सामान्य क्षति हुनेमा एक हजार सात सय घर छन्। त्यस्तै स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नमा पनि ठूलो क्षति पुगेको छ।
घरमा राखिएको धान, गहुँ र मकै पनि पुरिएर क्षति हुनाका साथै १४ वटा भैँसी, आठवटा गोरु, ६१ वटा भेडाबाख्रा र पाँच सय ७८ कुखुरा मरेको नगरपालिकाले जनाएको छ।
गत शुक्रबार गएको भूकम्पले रुकुम पश्चिममा ५२ जनाको मृत्यु हुनाका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ। अहिले ती क्षेत्रमा पीडितलाई राहत वितरणको काम चलिरहेको छ।