चालू आर्थिक वर्षको तीन महिनामा प्राकृतिक र गैरप्राकृतिक विपत्बाट बागमती प्रदेशका १३ जिल्लामा ४१ जनाको मृत्यु भएको छ । विभिन्न घटनामा १०६ जना घाइते र १२ जना बेपत्ता भएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तत्थ्यांकअनुसार चालू आवको साउनदेखि असोजसम्म बाढीपहिरो, डुबान, भूस्खलन, चट्याङ, आगलागी, सर्पदंश, सडक दुर्घटनालगायतका विभिन्न विपत्का घटनामा परी तीन महिनाको अवधिमा ४१ जनाले ज्यान गुमाएका हुन् ।
मन्त्रालयका सचिव ध्रुव गैडाका अनुसार विपत्का घटनाबाट प्रदेशका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, दोलखा, सिन्धुली र रामेछापमा जनधनको क्षति भएको छ । गत साउनमा ३९ विपत्जन्य घटनामा १७ जनाको मृत्यु भएको थियो । ३६ जना घाइते भएका थिए । प्राकृतिक विपत्मा परेर ६ जना र गैरप्राकृतिक विपत्मा परी ११ जनाको मृत्यु भएको उनको भनाइ छ ।
जसमध्ये पहिरोमा पाँच र भूस्खलनमा एकजनाको मृत्यु भएको थियो । साउनमै गैरप्राकृतिक विपत्मा परी ११ जनाको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमणबाट दुई, सर्पदंशका कारण एक र जल दुर्घटनामा परी आठजनाले ज्यान गुमाएका थिए । भदौमा २२ विपत्जन्य घटनामा १९ जनाको मृत्यु र ६३ जना घाइते भएको मन्त्रालयका सचिव गैडाले जानकार दिए ।
उनका अनुसार भदौमा प्राकृतिक विपत्का घटनामा चार र गैरप्राकृतिक विपत्का घटनामा १५ जनाको मृत्यु भएको थियो । जसमध्ये पहिरोमा तीन, भूस्खलनमा एक, आगलागीमा दुई, सडक दुर्घटनामा १० र जल दुर्घटनामा परी तीनजनाको मृत्यु भएको थियो । असोजमा विपत्जन्य घटनामा पाँचजनाको मृत्यु र सातजना घाइते भएका छन् । १० वटा विपत्जन्य घटनामध्ये पहिरोमा परी दुई, आगलागीमा एक र जल दुर्घटनामा दुईजनाको मृत्यु भएको मन्त्रालयको तत्थ्यांकमा उल्लेख छ ।