आइसिसी एकदिवसीय विश्वकप– २०२३ : बंगलादेशसँग स्तब्ध हुँदै बाहिरियो श्रीलंका

श्रीलंकाले प्रस्तुत गरेको दुई सय ८० रनको लक्ष्य बंगलादेशले ४१.१ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

श्रीलंका एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । नयाँदिल्लीमा बंगलादेशसँग सोमबार तीन विकेटले पराजित हुँँदै श्रीलंका विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको हो । बंगलादेशलाई हराउँदा श्रीलंकाको सेमिफाइनलमा पुग्ने आशा जीवितै रहन्थ्यो । तर, हारसँगै श्रीलंकाको अंकगणितीय आधारमा समेत अन्तिम चारमा पुग्ने कुनै सम्भावना रहेन । श्रीलंकाले आठ खेलमा चार अंक मात्र बटुलेको छ । श्रीलंका तालिकाको आठौँ स्थानमा छ । जितसँगै बंगलादेश चार अंकका साथ सातौँ स्थानमा उक्लेको छ । बंगलादेशले रनरेटमा श्रीलंकालाई पछि पारेको हो । 

नयाँदिल्लीको मैदानमा श्रीलंकाले पहिलो ब्याटिङ गरी ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय ७९ रन जोडेको थियो । प्रत्युत्तरमा बंगलादेशले ४१.१ ओभरमा सात विकेटको नोक्सानीमा दुई सय ८२ रन बनायो । बंगलादेशले ५३ बलअघि नै खेलमा बाजी मारेको हो । बंगलादेशको जितमा मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट योगदान दिएका थिए । सुरुवाती कमजोर गरेको बंगलादेशले मध्यक्रमका ब्याट्सम्यानबाट बलियो साझेदारी पाउँदा जितको आशा बनायो । नजमुल हुसेनले सर्वाधिक ९० रनको योगदान दिए । यसैगरी, कप्तान सकिव अल हसनले ८२ रन बटुले । 

एक सय ६९ रनको साझेदारी
बंगलादेशले ६.२ ओभरमा दुई विकेट गुमाउँदा ४१ रन जोडेको थियो । त्यसपछि हुसेन र सकिवबीच तेस्रो विकेटका लागि एक सय ६९ रनको साझेदारी भयो । यी दुईबीचको साझेदारीले नै बंगलादेशले सन् १९९६ को विश्वकप विजेतालाई स्तब्ध बनाएको हो । हुसैनले एक सय एक बलमा १२ चौका प्रहार गरेका थिए । सकिवले ६५ बल सामना गरी १२ चौका र दुई छक्का प्रहार गरे । सकिवलाई थिक्षणाले बोल्ड गरे । एक ओभरको अन्तरमा हुसैनको विकेट पतन हुँदा श्रीलंकाले खेलमा फर्कने प्रयास गरेको थियो । म्याथ्युजले हुसेनलाई बोल्ड गरे । त्यसपछि महमुदुल्लाहले २३ बलमा तीन चौका र एक छक्काको सहयोगमा २२ रन जोडे । मुसफिकर रहिमले १३ बलमा १० रन र हिद्रोयले १५ रनको योगदान दिए । श्रीलंकाका लागि दिल्सान मुदुसंकराले ६९ रनमा तीन विकेट लिए । 

चरिथको शतकीय इनिङ्स
पहिलो ब्याटिङ गरेको श्रीलंकाका लागि पाँचौँ क्रममा ब्याटिङ गरेका चरिथ असालांकाले शतकीय इनिङ्स खेलेका थिए । उनले एक सय पाँच बलमा पाँच छक्का र ६ चौका प्रहार गरेका थिए । उनी आउट हुँदा श्रीलंका ४८.४ ओभरमा २७८÷८ को स्थितिमा थियो । उनले धनञ्जय डिसिल्भा र महिश थिक्षणासँग गतिलो साझेदारी गरे । धनञ्जयले ३४ रन बनाउन ३६ बलमा चार चौका र एक छक्का प्रहार गरे । महिशले ३१ बलमा तीन चौकाको सहयोगमा २१ रन बनाए । ओपनर पथुम निसांकाले ३६ बलमा आठ चौका प्रहार गरी ४१ रन बनाए । सदिरा समाराविक्रमाले ४२ बलमा ४१ रन बनाए । बंगलादेशका लागि सकिवले ५७ रन खर्चेर दुई विकेट लिए । सोरिफुल इस्लामले ५१ रनमा दुई विकेट हात पारे । 

श्रीलंकाको राष्ट्रिय क्रिकेट बोर्ड बर्खास्त
विश्वकपमा भारतसँगको लज्जास्पद हार भएको केही दिनपछि श्रीलंका खेलमन्त्री रोशन रणसिंघेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक संकटमा परेको श्रीलंकाको सबैभन्दा धनी खेल संस्था श्रीलंका क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद यथावत् रहेको छ । श्रीलंकाको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुंगालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको छ । 

‘पूर्वकप्तान अर्जुना क्रिकेटलाई पुनर्जीवन दिन सबैभन्दा उपयुक्त व्यक्तिका रूपमा लिएका छौँ, उनको पहिलो कार्य नै राष्ट्रलाई राम्रो प्रदर्शन गराउनु हो,’ मन्त्री रोशनले भने । यसैगरी, भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यीय प्यानलमा तीनजना न्यायाधीशलाई समावेश गरिएको जानकारी उनले दिएका छन् ।

पूर्वकप्तान अर्जुनाले क्रिकेट पुनर्निर्माणको चुनौती स्विकारेका छन् । ‘श्रीलंका क्रिकेट देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ, म त्यो छवि परिवर्तन गर्न चाहन्छु,’ चुनौती सामना गर्न तयार रहेको जनाउँदै उनले भने । बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डी सिल्भाले पदबाट राजीनामा दिएका छन् । गत साता विश्वकपमा आयोजक भारतसँग श्रीलंका तीन सय दुई रनले पराजित भएको थियो । 

मुम्बईको वाँखडे रंगशालामा भारतले तीन सय ५८ रनको लक्ष्य दिएको थियो । श्रीलंका पूरै टोली ५५ रनमै अलआउट भयो । इनिङ्सको एक समय श्रीलंका २९÷९ को कमजोर अवस्थामा थियो । श्रीलंका अलआउट भएको योगफल एकदिवसीय विश्वकपकै चौथो सबैभन्दा कम स्कोर हो । भारतसँग पराजित भएपछि कोलम्बोमा सार्वजनिक रूपमै आलोचना भएको थियो । कोलम्बोमा बोर्डको कार्यालयबाहिर प्रहरी परिचालन गरिएको थियो । खेलमन्त्री रणसिंघेले श्रीलंका क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताएका छन् । उनले बोर्डमाथि ‘देशद्रोही र भ्रष्ट’ भएको आरोप लगाएका छन् । 

टाइम आउट हुने म्याथ्युज पहिलो खेलाडी
श्रीलंकाका अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युज क्रिकेट इतिहासमा टाइम आउट हुने पहिलो खेलाडी बनेका छन् । भारतमा चलिरहेको एकदिवसीय विश्वकपअन्तर्गत सोमबार बंगलादेशविरुद्ध क्रिजमा समयमै ब्याटिङ गर्न नआएपछि उनी टाइम आउटका सिकार भएका हुन् । कप्तान सकिब अल हसनले सदिरा समाराविक्रमालाई ४१ रनमा क्याचआउट गराए । 

त्यसपछि म्याथ्युज ब्याटिङ गर्न मैदान आए । तर, उनले हेल्मेट परिवर्तन गर्न थप समय लगाएपछि बंगलादेशका कप्तान सकिब अल हसनले टाइम आउट अपिल गरेका थिए । हेल्मेट लगाउनमा समय बढी लगाएपछि उनी टाइम आउट भएका हुन् । यसरी उनी क्रिकेट इतिहासमा टाइम आउटको आधारमा आउट हुने पहिलो खेलाडी बने । नियमअनुसार कुनै पनि खेलाडी ब्याटिङ गर्न तीन मिनेटभित्रमा आइसक्नुपर्छ । विश्वकपको नियमअनुसार दुई मिनेटभित्र ब्याटिङ गर्न ब्याट्सम्यान आउनुपर्छ । म्याथ्युज दुई मिनेट नपुग्दै मैदान आएका थिए । 

पहिला आफूले लिएको हेल्मेटमा केही समस्या भएपछि उनले ड्रेसिङ रुमबाट पुनः हेल्मेट मगाएका थिए । पुनः हेल्मेट मगाउँदा दुई मिनेटभन्दा बढी समय लागेको थियो । नयाँ हेल्मेट मैदानमा ल्याउँदासम्म दुई मिनेटभन्दा बढी समय गइसकेको थियो । त्यसपछि बंगलादेशले विकेटका लागि अपिल गरेको थियो । म्याथ्युज कुनै पनि बलको सामना नगरी आउट भए । म्याथ्युजले बंगलादेशका कप्तान सकिबसँग कुरासमेत गरेका थिए । सकिबले उनको कुरा सुने पनि अपिल फिर्ता गरेनन् । ‘टाइम आउट’ आउट भएपछि म्याथ्युजले निराश हुँदै आफ्नो हेल्मेट पछाडि फ्याँकेका थिए । 

सुझावित समाचार