गणित विज्ञानमा महिलालाई आकर्षित गर्न सम्मेलन

आइतबार, १९ कार्तिक, २०८०
डिजिटल संस्करण

गणित विषयका ज्ञान आदान–प्रदान गर्ने र सो विषयमा महिलाको आकर्षण बढाउने उद्देश्यले काठमाडौंमा आयोजित तीनदिने सम्मेलन आइतबार सम्पन्न भएको छ।

गणित विज्ञानमा नेपाली महिला नामक संस्थाको आयोजनामा भएको सम्मेलनमा भारत, पाकिस्तान, अमेरिका, फ्रान्स र नेपालका गरी ५८ जना महिला गणित शिक्षक एवं विद्यार्थीको सहभागिता थियो। सम्मेलनमा गणितका विविध पक्षलाई समेटेर ३९ वटा कार्यपत्र प्रस्तुत भएको संस्थाका कार्यसमिति सदस्य सुस्मिता पाठकले जानकारी दिइन्।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा हीराबहादुर महर्जनले नेपालमा गणित विषयप्रति देखिएको निराशाले शैक्षिक उन्नयनमा क्षति पुर्याउने भएकाले समयमै राज्यको ध्यान जानुपर्ने बताए। माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाले पनि गणित शिक्षामा आकर्षण घटेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा हुने यस्ता सम्मेलनले गणितप्रति आकर्षण बढाउने विश्वास व्यक्त गरे।

सम्मेलन आयोजक संस्थाका अध्यक्ष सहप्राध्यापक धनकुमारी थापाले गणित विषयमा महिलालाई आकर्षित गर्न र गणित विषय सिक्ने–सिकाउने सिलसिलामा विश्वमा विकास भएका नवीन पद्धतिबारे जानकारी गराउन सम्मेलन आयोजना गरिएको बताइन्।

गणित विषयका शिक्षकहरू संस्थागत रूपमा एकताबद्ध हुँदा अनुभव आदान–प्रदान हुने र विश्वमा भएका विकासबारे जानकारी हुने अध्यक्ष थापाले बताइन्। आगामी दिनमा गणित विषयमा महिलालाई आकर्षित गर्न विभिन्न कार्यक्रम गर्ने संस्थाको योजना रहेको उनले जानकारी दिइन्।

सुझावित समाचार