‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकार गम्भीर छैन’

आइतबार, १९ कार्तिक, २०८०
डिजिटल संस्करण

जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत विज्ञ तथा सरोकारवालाले सरकार जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न गम्भीर रूपमा नलागेको गुनासो गरेका छन्।

जलवायु परिवर्तनको विषय विकास, राजनीति र कूटनीतिको संगम भए पनि सरकारले यसलाई गम्भीर रूपमा लिन नसकेको उनीहरूको टिप्पणी थियो। आइतबार काठमाडौंमा आयोजित ‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टाेनियाे गुटेरेसको नेपाल भ्रमण र जलवायु परिवर्तनको सवाल’सम्बन्धी कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा बोल्दै युएनडिपीका सहायक आवासीय प्रमुख विजय सिंहले नेपालजस्तो देशले कुनै गल्ती नगरेको भए पनि जलवायु परिवर्तनको असर भोग्नुपरेको उल्लेख गरे। उनले यसको क्षति न्यूनीकरणका लागि सरकार गम्भीर रूपले लाग्नुपर्ने औँल्याए। विश्वका ठूला मुलुकले गरेको कार्बन उत्सर्जनका कारण नेपालको पर्वतीय शृंखलाहरूले जोखिम र क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै सिंहले त्यसको हानि–नोक्सानीको परिपूरण ठूला देशहरूले नै व्यहोर्नुपर्ने प्रस्ट्याए।

नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सानो तयारीले नपुग्ने बताउँदै उनले सरकारले महासचिव गुटेरेसको प्रतिबद्धतालाई निरन्तर अनुगमन गर्न आवश्यक रहेको उल्लेख गरे। महासचिव गुटेरेसले नेपालको हिमालको विषयमा आगामी जलवायु सम्मेलनमा बोल्न सक्ने भएकाले नेपालले आफ्नो पोजिसन पेपरमा यो विषय स्पष्ट राख्नुपर्ने बताए।

यसैगरी, अमेरिकाका लागि नेपालका पूर्वराजदूत तथा जलवायु परिवर्तनसम्बन्धी क्षेत्रका जानकार डा. अर्जुन कार्कीले जलवायु परिवर्तनले जनजीवन तथा खेती प्रणाली र उब्जनीमा पारेको प्रभावबारे आवाज उठाउनुपर्ने धारणा राखे। उनले जलवायु परिवर्तनको विषय राजनीति, विकास र कूटनीतिको संगम भएको प्रस्ट पारे।

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका जलवायु तथा वातावरणविद् उगान मानन्धरले जलवायु परिवर्तनसम्बन्धी स्पष्ट नीति भए पनि कार्यान्वयनमा चुनौती रहेको बताए। अझै पनि विश्वका ठूला राष्ट्रहरू जलवायु परिवर्तनलाई विषय नै बनाउन तयार नरहेको भन्दै उनले यसबाट नेपालले भोग्नुपरेको हानि–नोक्सानीलाई मुख्य प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए।

महासचिव गुटेरेसले नेपालको पक्षमा आवाज उठाइदिएकाले केही सजिलो भए पनि अन्तर्राष्ट्रिय सहायता आउने क्रम कम हुँदा जलवायुको विषय अझै ओझेलमा पर्न सक्ने मानन्धरको चिन्ता छ। यस विषयमा डोनर एजेन्सीहरूले केही काम गरे पनि सरकारी तहबाट राम्रो काम हुन नसकेको उनले बताए।

सुझावित समाचार