फलेबासबारे लेखिएका रचनालाई पालिकाले सहयोग गर्छ : मेयर तिवारी

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

पर्वतको फलेबास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले नगरपालिकालाई रमणीय फलेबास बनाउन कवि लेखकसँग आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय संस्कृति समितिको आयोजना र कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान पर्वतको संयोजनमा भएको ‘पर्वत, फलेबास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’लाई सम्बोधन गर्दै नगरप्रमुख तिवारीले नेपालमा प्रकृतिले अत्यन्त धेरै सुन्दर चिज दिएको र तिनको संरक्षण तथा उपयोग गर्न कवि लेखकलाई आग्रह गरेका हुन्।

‘फलेबास फलफूल उत्पादन हुने क्षेत्र हो। यहाँको हावामा फलफूलको बासना मिसिएको छ,’ तिवारीले भने, ‘सोही कारणले फलेबास नाम रहन गएको हो। तपाईंका कलमबाट सिर्जना भएका कृतिले देशलाई परिवर्तन गर्न सक्छन्। सम्बन्धित निकायलाई गोरेटो देखाउन सक्छन्। तपाईंका सिर्जनालाई प्रकाशन गर्न नगरपालिकाको सदैव सहयोग गर्नेछ।’

नगरप्रमुख तिवारीले विदेशमा रहेका नेपालीले सिर्जनामार्फत नेपालको चिनारी अन्तर्राष्ट्रिय स्तरमा फैलाएकोमा खुसी व्यक्त गरे। ‘तपाईंहरू विदेशमा बसेर पनि नेपाली साहित्य, संस्कृतिलाई जोगाइराख्न लागिरहनुभएको छ। तपाईंको सिर्जनात्मक क्षमताको हामी सम्मान गर्छौँ। सिर्जनामार्फत तपाईंहरूले थालेको अभियानमा हाम्रो साथ रहनेछ,’  तिवारीले भने।

उनले फलेबास कालीगण्डकी किनारमा रहेको सुन्दर नगरी भएको चर्चा गर्दै यो सुन्दर नगरीलाई कवि लेखकले सिर्जनाका माध्यमबाट सर्वत्र फैलाउन सहयोग गर्न आग्रह गरे। उनले विदेशमा रहेका नेपालीलाई स्वदेशमै फर्केर यही माटोमा सुन फलाउन आग्रह गरे।

शनिबार फलेबासको देवीस्थानस्थित कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको सभाहलमा भएको काव्ययात्रामा कार्यक्रमका सूत्रधार महेश्वर पन्तको कवितासंग्रह ‘उडेका पैताला’ विमोचन गरिएको छ। कवि पन्तका बुवा गोविन्दप्रसाद पन्त, आमा उर्मिला पन्त, फलेबास नगरपालिकाका मेयर गंगाधर तिवारी, अनेसास नेपालका अध्यक्ष राजेन्द्र केसीलगायतले कृति विमोचन गरेका हुन्।

कृतिमाथि कवि सुरेन्द्र अस्तफलले समीक्षात्मक टिप्पणी राख्दै पन्तका कवितामा माटोको माया र प्रवासको पसिना सबै मिसिएको बताए। काव्ययात्रामा विभिन्न स्रस्टाले रचना वाचन पनि गरेका थिए।

काठमाडौं, चितवन र पोखरादेखि शुक्रबार साँझ फलेबास आएका स्रस्टाले शनिबार बिहान कालीगण्डकी किनार, फलेबासका विभिन्न रमणीय र धार्मिक क्षेत्र अवलोकन गरेर स्थलगत रचना सिर्जना गरेका थिए। कार्यक्रमलाई निशा केसीले सहजीकरण गरेकी थिइन्।

सुझावित समाचार