नेपाल विद्युत् प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएका ठाउँबाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको जनाएको छ।
भूकम्पका कारण पोल तथा लाइनहरूमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो। प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरूको मर्मतसम्भार गरी बिहान १० बजेपछि विद्युत् सुचारु गरेको बताइएको छ।
प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालहरूको लाइन सुचारु गरिएको बताए। यादवले घरहरू भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे।
उनका अनुसार धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको छ भने अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको छ।
शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। अहिले उद्धार कार्य जारी छ।