आइसिसी टी–२० विश्वकप छनोट : नेपालको जितले ओमानसमेत सेमिफाइनलमा

बुधबार, १५ कार्तिक, २०८०
डिजिटल संस्करण
आइसिसी टी–२० विश्वकप छनोट : नेपालको जितले ओमानसमेत सेमिफाइनलमा

मलेसियाविरुद्ध रन लिने प्रयासमा नेपाली क्रिकेटर कुशल मल्ल । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाल र ओमान आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै टोली समूह ‘ए’मा एक खेलअगाडि नै अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताअन्तर्गत त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले सिंगापुरलाई २२ रनले निराश पार्‍यो । दुई खेलबाट दुवैले समान चार अंक जोडेका छन् । रनरेटमा ओमान शीर्ष स्थानमा छ । प्रतियोगिताको नियमअनुसार समूह एको शीर्ष टोलीले समूह बीको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह एको उपविजेताले समूह बीको विजेताविरुद्ध खेल्नेछ । 

नेपालको नजरमा बिहीबार ओमानविरुद्धको खेल महत्वपूर्ण देखिन्छ । यस खेलमा नेपाल विजयी हुँदा समूह ‘बी’को उपविजेताविरुद्ध खेल्नेछ । यदि पराजित हुँदा नेपालले समूह ‘बी’को विजेताविरुद्ध खेल्नुपर्छ । समूह ‘बी’मा उपाधि दाबेदार युएई चार अंकका साथ शीर्ष स्थानमा छ । नेपालले युएईसँगको सम्भावित भिडन्त हुन नदिन ओमानलाई हराउनुपर्नेछ । 

समूह ‘ए’बाट मलेसिया र सिंगापुर एक खेलअगाडि नै अंकविहीन हुँदै बाहिरिएका छन् । मूलपानी मैदानमा बिहीबार पहिलो खेल युएई र हङकङबीच हुनेछ । यही मैदानमा दोस्रो खेलमा कुवेतले बहराइनको सामना गर्नेछ । फाइनलमा पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप खेल्नेछन् ।

 कुशलद्वयले जिताए नेपाललाई
त्रिवि मैदानमा मलेसियाले पहिलो ब्याटिङ गर्दै २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १८ ओभरमा चार विकेटको नोक्सानीमा एक सय ६६ रन बनाएको थियो । नेपालको जितमा ओपनर कुशल भुर्तेल र बायाँहाते ब्याट्सम्यान कुशल मल्लले उत्कृष्ट ब्याटिङ गरेका थिए । भुर्तेलले २५ बलमा समान चार चौका र छक्का प्रहार गरी ४३ रनको योगदान दिए ।

उनले ओपनिङमा आसिफ शेखसँग ५.२ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । आसिफले २३ बलमा दुई छक्का र एक चौका प्रहार गरी ३२ रन बनाए । त्यसपछि क्रिजमा आएका मल्लले मलेसियन बलरमाथि खनिँदै केवल ३४ बलमा सात छक्का र दुई चौकाको सहयोगमा सर्वाधिक ६५ रन जोडे । उनको यो तेस्रो अन्तर्राष्ट्रिय टी–२० अर्धशतक हो । यसअघि ब्याटिङ गरेको मलेसियाको इनिङ्समा ओपनर सइद अजिजले सर्वाधिक ६८ रन जोडेका थिए ।

गुल्सन झाको ओभरमा आउट हुनुअघि उनले ४९ बलमा दुई छक्का र चार चौका प्रहार गरेका थिए । ओपनर जुवेदीसँग उनले पहिलो विकेटका लागि ५.५ ओभरमा ५८ रन जोडेका थिए । जुवेदीले १६ बलमा ३४ रन बनाए । यी दुई ब्याट्सम्यानबाहेक अन्य कुनै पनि खेलाडीले गतिलो रन बनाउन नसक्दा मलेसियाले नेपालविरुद्ध चुनौतीपूर्ण योगफल बनाउन सकेन । नेपालका लागि अभिनाश बोहराले सर्वाधिक चार विकेट हात पारे । उनले चार ओभरमा २७ रन खर्चेएका थिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक विकेट लिए । 

ओमानले सिंगापुरलाई हरायो
ओमानले समूह ‘ए’मा सिंगापुरलाई २२ रनले हराएको थियो । पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७४ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा सिंगापुरले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५२ रन मात्र जोड्यो । लगातार दोस्रो हारले सिंगापुरको विश्वकप छनोट यात्रा समाप्त भएको छ । ओमानका लागि अकिव लियासले सर्वाधिक ६३ रनको योगदान दिँदा ३५ बलमा समान चार चौका र छक्का प्रहार गरे । सिंगापुरका सुरेन्द्रान हिट विकेट हुनुअघि ४१ रनमा आउट भए । अनिश परामले २३ बलमा २६ रन जोडे ।

बहराइन २० रनले विजयी
एसिया छनोटको समूह ‘बी’को खेलमा बहराइनले हङकङमाथि २० रनको जित निकालेको थियो । मूलपानी क्रिकेट मैदानमा बहराइनले पहिलो ब्याटिङ गरी १९.३ ओभरमा सबै विकेट गुमाएर एक सय ४६ रनको मध्यम योगफल खडा गरेको थियो । हङकङ १९.१ ओभरमा एक सय २६ रनमा अलआउट भयो । बहराइनका अब्दुल मजिदले ३.१ ओभरमा सात रन खर्चेर सर्वाधिक तीन विकेट लिए । हङकङको ब्याटिङमा अंशय राथले ३० बलमा २८ रन र जेसान अलीले २१ रन जोडेका थिए । बहराइनको ब्याटिङमा इमरान अलीले सर्वाधिक ६२ रन बटुले । उनले ४३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए । 

युएईको लगातार दोस्रो जित
मूलपानी मैदानमा समूह ‘बी’मा युएईले कुवेतमाथि पाँच विकेटको जित निकाल्यो । पहिलो ब्याटिङ गरेको कुवेतले २० ओभरमा आठ विकेटको नोक्सानीमा ८८ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा युएईले १४.२ ओभरमा पाँच विकेट गुमाएर ९४ रन जोड्यो । युएईको जितमा खालिद साहले १९ बलमा २३ रन र कप्तान मोहमद वासिमले २३ बलमा ३३ रन जोडेका थिए । यसअघिको ब्याटिङमा कुवेतका लागि राभिजाले सर्वाधिक २२ रन बटुलेका थिए । विलाल ताहिरले १५ रन जोडे । 

समूहमा शीर्ष रहँदा सहज हुन्छ
रोहितकुमार पौडेल, कप्तान, नेपाल

हामीले ब्याटिङ पावर प्लेमा राम्रो गर्‍यौँ । यसअघि मलेसियाविरुद्धको पावर प्ले त्यति राम्रो भएन । गुल्सन र अभिनाशले मध्यतिर इनिङ्सलाई नियन्त्रणमा राखे । पछि बलिङमा सोचेजस्तो भयो । हाम्रो फिल्डिङमा सुधार आयो । नेपाललाई जित दिलाउन कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाए । विशेषगरी कुशल मल्लले लगातार उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । समर्थकले सुरुदेखि नै समर्थन गरिराखेका छन् । सेमिफाइनलमा जो टोली भए पनि फरक पर्दैन । तर, हामी समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गर्न चाहन्छौँ । यस अवस्थामा सेमिफाइनल खेल्न सहज हुनेछ । बिहीबारको खेल जितका लागि खेल्नेछौँ । 

मध्यक्रममा खेल बिग्रियो
अहमदे फैज, कप्तान, मलेसिया

हामीले पहिलो ब्याटिङ गरी उत्कृष्ट सुरुवात गरेका थियौँ । ओपनरले पावर प्लेमा योजनाअनुसार ब्याटिङ गरे । यही गतिलाई अन्तिमसम्म लान नसक्दा स्कोर बोर्डमा सोचेजस्तो योगफल तयार गर्न सकेनौँ । कम्तीमा एक सय ९० रनको योगफल खडा हुँदा चुनौतीपूर्ण हुन सक्थ्यो । केही अनावश्यक रनआउटले पनि नराम्रो भयो । नेपालका ब्याट्सम्यानले राम्रो खेले । विशेषगरी दुई ब्याट्सम्यानले राम्रो स्ट्रोक लगाए । उनीहरूले हामीलाई फर्कने मौका नै दिएनन् । कुशल मल्ललाई हामीले रोक्न सकेनौँ । युवा खेलाडीले राम्रो खेले ।

 खेल सकाउन नपाउँदा मल्ल दुःखी
नेपालको जितमा महत्वपूर्ण योगदान गरेकामध्ये बायाँहाते ब्याट्सम्यान कुशल मल्ल हुन् । उनले क्रिजमा आएदेखि विस्फोटक ब्याटिङ गर्दै मलेसियाका बलरलाई निराश पारे । मलेसियाविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका उनले अन्तिमसम्म ब्याटिङ गर्न नपाउँदा दुःख व्यक्त गरेका छन् । खेलकै म्यान अफ दी म्याच घोषित भएका मल्लले भने, ‘अन्तिमसम्म ब्याटिङ गर्न पाइनँ, खेलमा फिनिसिङ गर्नुपर्ने थियो, मैले त्यो गर्न सकिनँ ।’ उनले पहिलो छक्का प्रहार गरेपछि थप आकर्षक स्ट्रोक लगाउन सक्ने विश्वास भएको जनाए । ‘कन्डिसनअनुसार खेलेको थिएँ, पहिलो छक्कापछि थप यस्तै प्रहार गर्न सक्ने हिम्मत आयो,’ म्यान अफ दी म्याचको चेक लिँदै उनले भने, ‘आज अगाडि नै ब्याटिङ गर्न मौका पाएँ ।’

 दीपेन्द्रले लगभग विश्वकप छनोट गुमाउने
टी–२० विश्वकप छनोटअन्तर्गत सिंगापुरविरुद्धको खेलअगाडि घाइते बनेका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले लगभग प्रतियोगिता गुमाउने भएका छन् । समूह ‘ए’को दोस्रो खेलमा मलेसियामाथि सानदार जित निकालेपछि नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफ्ना सहकर्मीले विश्वकप छनोट गुमाउन सक्ने जानकारी दिएका छन् ।

दीपेन्द्रसिंहको ‘एंकल’मा चोट लागेको छ । सन्दीपका अनुसार ऐरी पूर्ण रूपमा फिट भएर मैदानमा आउन डेढ महिना समय लाग्न सक्छ । ‘दीपेन्द्रको चोट गहिरो रहेको छ, चोट पूरै निको हुन कम्तीमा एकदेखि डेढ महिना लाग्छ,’ सन्दीपले भने, ‘नेपाली टोलीमा लामो समयदेखि उनी विश्वासिलो खेलाडीका रूपमा रहेका छन् ।’ नेपालका पूर्वकप्तानसमेत रहेका सन्दीपले दीपेन्द्रको अभाव टोलीमा खड्किरहने बताए । 

सुझावित समाचार