कञ्चनपुरका माछा उत्पादक किसान, व्यवसायी र उपभोक्ताबीच भारतवाट चोरी–पैठारी हुने माछा नियन्त्रणका विषयमा सरोकारवालाले छलफल गरेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले माछा उत्पादक किसान, व्यवसायी र उपभोक्ताबीच छलफल गराएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले पछिल्ला दिनहरूमा माछा उत्पादक किसानले भारतबाट गैरकानुनी रूपमा माछा नेपाल भित्रिन थालेको विषयमा गुनासो आएपछि दुवै पक्षलाई राखेर छलफल गरेको बताए । ‘हामीकहाँ माछा उत्पादक किसानले गुनासो ल्याएपछि हामीले सरोकारवालासहित दुवै पक्षलाई राखेर छलफल गराएका छौँ, ‘एसपी थापाले भने, ‘यो छलफलबाट दुवै पक्षले स्वदेशी माछा बिक्री–वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।’
मानव स्वास्थ्यलाई हानिकारक हुने फर्मालिनयुक्त रसायन प्रयोग भएर भारतबाट चोरी–तस्करीका माछा नेपालमा भित्रिन थालेपछि स्वदेशी माछा उत्पादक किसान मारमा पर्दै आएका थिए । स्थानीय माछा उत्पादक किसानले भारतबाट आउने चोरी–तस्करीका माछाका कारण नेपाली माछाले बजार नपाएको गुनासो पोखेका छन । लाखौँ रुपैया बैंकबाट ऋण लिएर लगानी गर्दै आएको र अहिले आएर भारतबाट माछा भित्रिएपछि बिक्री नभएर मारमा पर्दै आएको गुनासो पोखेका हुन् ।
बेदकोट नगरपालिका–६, सिसैयाका माछा उत्पादक किसान हरिराम चौधरीले भारतीय माछाले आफूहरू मारमा परेको बताए । ‘हामीले यहाँ मरिमेटी माछा उत्पादन गर्छौँ, ‘उनले भने, ‘माछा बिक्रीकै समयमा भारतबाट सस्तोमा आउने माछाले बजार लिएपछि हामी पनि सस्तोमै बिक्री गर्न बाध्य हुन्छौँ ।’ शुक्लाफाँटा नगरपालिका–९, झलारीका माछा उत्पादक किसान ललितबहादुर सिंहले भारतबाट क्वारेन्टनिविनै माछा नेपाल भित्रिने गरेको बताए । ‘उता भारतबाट विनाचेकजाँच माछा भित्रिन्छन्, ‘उनले भने, ‘कानुनअनुरूप आएका मात्राको समेत भन्सार परिमाणभन्दा कमै काट्छन् ।’ पाँच क्विन्टल माछा ल्याएर ५० किलोको मात्रै भन्सार काट्ने प्रवृत्तिले राजस्व छलीका साथै मानव स्वास्थ्यमा खेलबाड भइरहेको छ ।
भीमदत्त नगरपालिका–१५, गोबरैयाका माछा उत्पादक किसान नरेन्द्र भट्टले बजारमा फर्मालिनयुक्त रसायन राखिएको माछाले नेपाली किसान मारमा परेको बताए । ‘क्वारेन्टिनविनै क्विन्टलका क्विटल माछा भित्रिँदै छन्, ‘उनले भने, ‘पुरानै बिलमा दोहोर्याएर, तेहोर्याएर माछा ल्याइरहेका छन ।’माछा विक्रेता व्यवसायीले भारतबाट आउने माछा सहज पाइने र स्वदेशमै उत्पादन भएको माछा पनि सहज उपलब्ध बिक्री गर्ने बताएका छन् । महेन्द्रनगरका माछा विक्रेता टीकाबहादुर थापा क्षेत्रीले बाध्यताले भारतबाट आउने माछा बिक्री गरेको बताए । ‘हामीलाई स्वदेश किसानले सहजै माछा उपलब्ध गराए हामी यहाँकै माछा बिक्री गर्छौँ, ‘उनले भने, ‘यहाँ मागेको समयमा माछा पाइँदैन, बाध्य भएर भारतबाट माछा ल्याउँदै आएका छौँ ।’