बाल सुधारगृहमा राखिएका ५३ प्रतिशत बालक जबर्जस्ती करणी कसुरमा संलग्न देखिनुले के संकेत गर्छ ?
विभिन्न अध्ययनले देखाएअनुसार दुर्व्यवहारमा संलग्न अधिकांश बालक आफैँ पनि कुनै न कुनै समयमा दुर्व्यवहारमा परेको पाइन्छ । सानै उमेरमा यौनजन्य क्रियाकलाप देखेको या यौनजन्य सामग्रीमा पहुँच पाएको बालक यौन क्रियाकलाप के हो, यसबाट कस्तो दुष्परिणाम निम्तिन सक्छ भन्ने बुझ्न नपाउँदै यसबारे अनुभव गर्ने हुटहुटीले यस्ता बिज्याइँमा संलग्न हुने गरेको पाइन्छ । सुधार गृहमा राखिएका बालकको जबर्जस्ती करणी कसुरको तथ्यांक यसैको परिणाम हो ।
जबर्जस्ती करणीका घटनामा पीडक बालक र पीडित बालिका देखिनुमा को बढी जिम्मेवार छ ?
यसमा हामी सबै यसमा जिम्मेवार छौँ । शिक्षक, शिक्षिका, अभिभावक, समाज सबै आआफ्ना स्थानबाट जिम्मेवार छन् । ठुलाले सानाको परवाह नगरी यौनजन्य क्रियाकलाप गरिदिने, सानालाई खेलौनाका रूपमा लिने, बालबालिकाले इन्टरनेटमा कस्ता सामग्री हेरिरहेका छन्, कसलाई साथी बनाइरहेका छन्, उनीहरूको संगत कस्ता मानिससँग भइरहेको छ जस्ता विषयमा अभिभावक, घर, परिवार, सामाज, विद्यालय सबै सचेत नभइदिने हो भने यो तथ्यांकमा सुधार हुन कठिन छ ।
यस्तो अवस्थामा कसरी सुधार ल्याउन सकिएला त ?
सबैभन्दा पहिले बुबाआमा सचेत हुनुपर्छ । बालबालिकालाई सानैदेखि जहाँसुकै र जोसुकैबाट जोसुकैमाथि दुव्र्यवहार हुन सक्छ भन्ने ज्ञान दिनु जरुरी छ । दुर्व्यवहार, ‘गुड टच’ र ‘ब्याड टच’ बारे सानैदेखि छोरीलाई मात्र होइन, छोरालाई पनि शिक्षा दिन जरुरी छ । साथै, केकस्ता क्रियाकलाप गर्दा कस्ता दुष्परिणाम निम्तिन सक्छन् भन्नेबारे छोराहरूलाई पनि पर्यापत जानकारी दिन सक्नुपर्छ ।