१५ महिनापछि बढ्यो आयात

उपभोग्य वस्तुको आयात बढे पनि औद्योगिक कच्चा पदार्थको नबढेको निजी क्षेत्रको भनाइ, अर्थशास्त्री भन्छन्– सरकारले खर्च बढाउनुपर्छ

सोमबार, १३ कार्तिक, २०८०
डिजिटल संस्करण

बजारमा वस्तुको मागसँगै निरन्तर घट्दै गइरहेको आयात व्यापारमा १५ महिनापछि सुधार आएको छ । बजारमा चाडपर्वकेन्द्रित माग बढेपछि आयातमा समेत वृद्धि भएको अर्थशास्त्रीहरूको विश्लेषण छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले बढेको हो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको असोजसम्ममा चार खर्ब सात अर्ब ७५ करोडको वस्तु आयात भएको छ । गत वर्ष अवधिमा चार खर्ब ९९ करोड मात्रै आयात भएको थियो । अर्थात्, यसबीच आयात ६ अर्ब ७६ करोड रुपैयाँबराबरले बढेको हो । 

गत आर्थिक वर्षको साउनयता आयात निरन्तर घट्दै गइरहेको थियो । गत आवको साउनमा एक खर्ब ३१ अर्बको वस्तु आयात भएको थियो । जुन अघिल्लो आर्थिक वर्ष ०७८/७९ को साउनको तुलनामा १२.९ प्रतिशतले कम थियो । अर्थशास्त्री डा. पुष्कर बज्राचार्यले यो आयात वृद्धिलाई क्षणिक रूपमा माग वृद्धिका रूपमा टिप्पणी गरे । उनले भने, ‘अहिले बजार पोहोरजति खराब अवस्थामा छैन । चाडपर्वले चाँडै पिकअप गरिदियो । तर, यो क्षणिक हो ।’ रेमिट्यान्समा भएको वृद्धिले उपभोगलाई बढाउन मद्दत पुगेको उनको भनाइ छ । 

पोहोर आयात खुम्चिएर राजस्वमा समेत गिरावट आएकाले सरकारले खर्च गर्न रकम जोहो गर्न सकेको थिएन । बजारमा ब्याजदरसमेत बढेको अवस्थामा माग संकुचित हुँदै गइरहेको थियो । यसपालि रेमिट्यान्समा भएको वृद्धि र यसको प्रभावस्वरूप आयात बढेसँगै सरकारी राजस्वमा समेत वृद्धि भएको छ । सरकारले राजस्वबाट उपलब्ध स्रोतबाट पुँजीगत खर्च बढाउन सकेमा मात्रै अर्थतन्त्र वास्तविक रूपमा चलायमान हुने बज्राचार्यको भनाइ छ । त्यस्तै, बैंकको ब्याजदरसमेत घट्दै जानुपर्ने उनको भनाइ छ । 

उपभोगमा केन्द्रित तथा विलासिताका वस्तुको आयात बढेकाले अर्थतन्त्र चलायमान भएको रूपमा अथ्र्याउन नमिल्ने निजी क्षेत्रको बुझाइ छ । चाडपर्वकेन्द्रित व्यवसाय र सरकारले सुन आयातको कोटा बढाइदिएकाले आयातमा वृद्धि भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए । उनले भने, ‘आयात बढेको तथ्यांकले व्यापार–व्यवसाय पनि बढ्ने संकेत दिन्छ । तर, अझै बजारमा व्यापार बढेको छनक छैन । फेरि कुन वस्तुको आयात बढ्यो भन्ने पनि होला । सरकारले सुनको कोटा बढाएकाले सुन आयात बढेको भए अर्थतन्त्रलाई तात्विक लाभ नमिल्न सक्छ ।’ अर्थतन्त्रलाई दिगो रूपमा गति दिन औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीको आयात बढ्नुपर्ने उनको तर्क छ । अहिलेको आयात वृद्धिले सरकारी राजस्वमा भने टेवा पुग्ने उनले बताए ।

पहिलो त्रैमासमा समग्र वैदेशिक व्यापार १.३१ प्रतिशतले बढेको छ । पोहोर असोजसम्ममा चार खर्ब ४२ अर्बको वैदेशिक व्यापार थियो । अहिले यो बढेर चार खर्ब ४८ अर्ब नाघेको छ । त्यस्तै, आयातको तुलनामा निर्यात कमजोर हुँदा व्यापार घाटा भने २.१५ प्रतिशतले बढेर तीन खर्ब ६६ अर्ब नाघेको छ । 

 यी वस्तु बढी आयात भए
सर्वाधिक आयात हुनेमा पेट्रोलियम पदार्थकै वर्चस्व छ । यस अवधिमा २९ अर्ब ९२ करोडको डिजेल, १७ अर्ब १० करोडको पेट्रोल, चार अर्ब ७० करोडको हवाई इन्धन र ११ अर्ब ६७ करोडको खाना पकाउने ग्यास आयात भएको छ । पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिले पनि आयातमा यसको वर्चस्व कायम रहेको हो ।

 स्मार्ट फोन, ल्यापटप, गाडीजस्ता विलासिताका वस्तुको आयातमा पनि वृद्धि भएको छ । फलामजन्य उत्पादन, सुन, रासायनिक मल र कच्चा तेलको आयात बढी छ । यसबीचमा नौ अर्ब ४३ करोडको स्मार्ट फोन आयात भएको छ । 
विभागको तथ्यांकअनुसार यस तीन महिनामा पाँच अर्ब १७ करोड हाराहारीको विद्युतीय कार आयात भएको छ ।

 मासिक तुलनामा निर्यात पनि बढ्यो
समग्र निर्यात व्यापार खस्किए पनि मासिक तुलनामा भने निर्यात बढेको देखिन्छ । असोजमा १४ अर्ब ४२ करोडको वस्तु निर्यात भएको छ । तीन महिनाको तथ्यांकअनुसार निर्यात ४० अर्ब ८७ करोडको वस्तु निर्यात भएको छ । यो पोहोरभन्दा २.२६ प्रतिशतले कम हो । पोहोर यही अवधिमा ४१ अर्ब ८२ करोडको वस्तु निर्यात भएको थियो । सर्वाधिक निर्यात हुनेमा १२ किसिमका वस्तु परेका छन् । जसको निर्यात एक अर्बभन्दा बढी छ । जसमा गलैँचा, चिया, अलैँची, धागोजस्ता वस्तु छन् ।

उत्पादनकेन्द्रित कच्चा पदार्थको माग छैन
पशुपति मुरारका पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

उपभोगमा केन्द्रित तथा विलासिताका वस्तुको आयात बढेकाले अर्थतन्त्र चलायमान भएको रूपमा अथ्र्याउन मिल्दैन । चाडपर्वकेन्द्रित व्यवसाय र सरकारले सुन आयातको कोटा बढाइदिएकाले आयातमा वृद्धि भएको हो । अर्थतन्त्रलाई दिगो रूपमा गति दिन औद्योगिक कच्चा पदार्थ, मेसिनरीको आयात बढ्नुपर्छ । 

राजस्व बढेको छ अब सरकारले पुँजीगत खर्च बढाउनुपर्छ
डा. पुष्कर बज्राचार्य, अर्थशास्त्री

यो आयात वृद्धि क्षणिक रूपमा भएको माग वृद्धिको परिणाम हो । अहिले बजार पोहोरजति खराब अवस्थामा छैन । चापर्वले चाँडै पिकअप गरिदियो । यसपालि रेमिट्यान्समा भएको वृद्धि र यसको प्रभावस्वरूप आयात बढेसँगै सरकारी राजस्वमा समेत वृद्धि भएको छ । अब सरकारले पुँजीगत खर्च बढाउन सकेमा मात्रै अर्थतन्त्र वास्तविक रूपमा चलायमान हुन्छ । त्यस्तै, बैंकको ब्याजदरसमेत घट्दै जानुपर्ने हुन्छ ।

See More On

सुझावित समाचार