त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याइरहेको छ ।
तर, नेपालको सुरुवात भने राम्रो हुन सकेन । पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल भुर्तेल प्लेडअन हुँदै आउट भए । युएईका मोहम्मद जबदुल्लाहको तेस्रो बल खेल्ने क्रममा बलले उनको ब्याटको भित्री किनारा लिँदै अफ स्टम्प उडाइदियो ।
जारी प्रतियोगितामा कुशलको ब्याट चल्न सकिरहेको छैन । कुशल आउट भएपछि उनको स्थानमा आज पनि सोमपाल कामीलाई पठाइएको छ ।
मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात खेलाडीको क्षतिमा एक सय ६४ रन बनाएपछि नेपाल अहिले लक्ष्य पछ्याइरहेको हो ।
युएईका तर्फबाट विकेटकिपर ब्याटर भृत्य अरविन्द र बसिल हमिदले सर्वाधिक ४५–४५ रन बनाए । यस्तै, आसिफ खानले १८, खालिद साहले १२, अलिसान सराफु र अली नासिरले नौ–नौ तथा कप्तान मुहम्मद वसिमले आठ रन बनाए ।
बलिङमा नेपालका लागि सोमपाल कामी र अविनाश बोहाेराले दुई–दुई तथा करण केसी र गुल्सन झाले एक–एक विकेट लिए । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कुनै विकेट लिन सकेनन् । एक ओभर मात्र बलिङ गरेका दीपेन्द्रलाई युएईका ब्याटरले १८ रन हाने ।
शृंखलाभरि उत्कृष्ट फर्ममा रहेका करण आजको खेलमा प्रभावशाली देखिएनन् । उनले चार ओभरमा ५३ रन दिए । यस्तै, चार ओभरमा सोमपालले ३३ रन दिए ।
आजको खेलमा नेपालले ललित राजवंशीको स्थानमा विवेक यादवलाई खेलाएको छ ।