नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएको छ । हिन्दू धर्मावलम्बीका लागि यो चाड अझै विशेष रहन्छ । वर्षमा एकपटक आउने चाड सबैका लागि विशेष हुने भइहाल्यो । घरपरिवार, देश–विदेशमा रहने आफन्तसँगै दाजुभाइ, दिदीबहिनी एकै स्थानमा जम्काभेट हुने अवसर भएकाले पनि दसैँलाई विशेष रूपमा लिइने गरेको हो । नयाँ–नयाँ कपडा लगाउने, मीठो–मीठो खाना खाने, चंगा उडाउने, पिङ खेल्दै नेपाली समाजमा दसैँ मनाउँदै आइएको छ । अन्य क्षेत्रमा झैँ खेलकुदमा पनि यो वर्षको छुट्टै महत्व छ । वर्षभरि खेल खेलेका खेलाडी घरपरिवार, इष्टमित्र, साथीभाइलाई भेट्न र रमाइलो गर्न घर पुग्ने गर्छन् । सधैँ खेलमा व्यस्त रहने अधिकांश खेलका खेलाडीले यसपटक विश्राम पाएका छन् । यसपटक क्रिकेट र पारा ओलम्पिकका खेलाडी अन्तर्राष्ट्रिय खेलकुदमा व्यस्त छन् । पुरुष राष्ट्रिय क्रिकेट टोलीले मूलपानीमा थ्री नेसन्स कप खेलिरहेको छ । यू–१९ पुरुष क्रिकेट टोलीले मलेसियामा एसिसी प्रिमियर कप खेलिरहेको छ । युवा टोली एसिया कपमा छनोट हुने योजनासहित प्रतियोगितामा होमिएको छ । टोली छनोटका लागि एक जित मात्रै टाढा छ । पारा तेक्वान्दोका खेलाडी एसियन गेम्समा पुगेका छन् । यसबाहेक अन्य खेलका खेलाडी व्यस्त छन् । १९औँ एसियाली खेलकुद (एसियाड) खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । २९ खेलका दुई सय ५३ खेलाडी एसियाड खेलेर स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएसँगै अधिकांश खेलाडी घर पुगिसकेका छन् । केही भने पुग्ने अवस्थामा छन् । यसपटक दसैँमा खेलाडी के गर्दै छन् ?
घर परिवारसँग दसैँ मनाउँछु : मानबहादुर श्रेष्ठ, कप्तान, भलिबल
यो एक महिना निकै व्यस्त भएँ । सुरुमा चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदपछि श्रीलंकामा प्रतिस्पर्धा गर्न गएँ । त्यसछि अहिले महेन्द्रनगरमा भलिबल खेल्न आएको छु । त्रिभुवन आर्मीले सहभागिता जनाएपछि प्रतिस्पर्धामा सहभागी भएको हुँ । हामी च्याम्पियन भएका छौँ । दसैँको मुखैमा यो उपलब्धिले खुसी दिलाएको छ । अब, घर जान्छु । यसपटक पनि गाउँ (नवलपुर)मा मनाउने योजना बनाएको छु । दसैँमा त्यस्तो विशेष मनाउने भन्ने केही छैन । सामान्य तरिकाले नै मनाउँछु ।
घरमै रमाइलो गर्छु : सावित्रा भण्डारी, महिला खेलाडी, फुटबल
१९औँ एसियाली खेलकुदपछि इजरायल पुगेकी थिएँ । हमासको आक्रमणपछि मानसिक रूपमा डर थियो । स्वदेश आइपुगेँ । घर (लमजुङ) जाँदै छु । घरमै परिवारसँग रमाइलो गर्छु । अघिल्ला दसैँहरू खेलकै कारण धेरैपटक घरपरिवारसँग रमाउन पाइएन । यसपटक घरमा रमाइलो गर्ने अवसर पनि हो । क्लबले बोलाएपछि फेरि फर्कनुपर्छ । जति समय हुन्छ, घर परिवारमै रमाइलो गर्छु ।
दसैँमा चंगा उडाउँछु : संगिना वैद्य, पूर्वखेलाडी, तेक्वान्दो
दसैँ सबैले हर्षोल्लासका साथ मनाउने गर्छन् । सबैले दसैँ विशेष रूपमा मनाइरहँदा म भने सामान्य रूपमा मनाउने गर्छु । खासमा दसैँमा मेरो विशेष केही छैन । मूलघर नुवाकोटमा भए पनि धेरैजसो रमझम काठमाडौंमा नै हुने गर्छ । यहाँ साथीहरूसँग हुन्छु । टीका काठाडौंमा पनि हुन्छ । दसैँका वेलामा मूलघर नुवाकोटमा पनि जान्छु । दसैँको एउटा रमाइलो पक्ष भनेको चंगा उडाउने हो । यसलाई म कहिल्यै पनि मिस गर्न सक्दिनँ ।
एसियाडको पदकसँगै हुन्छु : एरिका गुरुङ, कराँते, खेलाडी
चीनको हाङझाउमा जितेको रजतपदकको बधाई लिने क्रम अहिलेसम्म रोकिएको छैन । मैले कराँतेमा पहिलोपटक रजत पदक दिलाएका कारण सिंगो देश रमाइरहेको छ । घर परिवार सबै खुसी छन् । सबैबाट साथ पाएको छु । दसैँमा धेरै व्यस्त हुन्छुजस्तो लाग्छ । पदकपछि सबैले साथ दिएका छन् । घर परिवारसँगै दसैँ मनाउँछु । भ्याएसँग इष्टमित्र कहाँ पुग्छु ।
घरपरिवारसँग रमाउँछु : एन्जिला तुम्बाप्पो सुब्बा, महिला खेलाडी, फुटबल
१९औँ एसियन खेलकुद भएकाले पछिल्लो समय धेरैजसो अभ्यासमै बितेको थियो । विभागमा आबद्ध भएकाले मेरो दैनिकी अभ्यासमै केन्द्रित रह्यो । यतिवेला म मेरो फिल्म (अञ्जिला)को सुटिङमा व्यस्त छु । अहिले क्लास चलिरहेको छ । दिउँसोको समय त्यतै जान्छ । अब, दसैँ सुरु भएको छ । साथीसँग रमाइलो हुन्छ । घर जाने पनि योजना छ ।
टीकाबिनाको दसैँ हुनेछ : उषा भण्डारी, भलिबल खेलाडी
एसियाड खेलेर पर्किएपछि विश्राम पाएकी छु । घरपरिवारसँगै बसिरहेकी छु । यसपालि काठमाडौंमा नै हुन्छ । दशैँको रमाइलो सुरु भइसकेको छ । तर, यसपालि मेरो टीका छैन । गत वर्ष हजुरआमा बित्नुभयो । आमाले टीका लगाउनुहुँदैन । म मात्रै के लगाउनु भनेर टीका लगाउँदिनँ भनेकी छु । टीकाविना नै यसपटक दसैँ मनाउने हो ।
दसैँसँगै क्रिकेट : ललित राजवंशी, खेलाडी, क्रिकेट
अहिले हामी पुनः एकपटक देशको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा सहभागी भइरहेका छौँ । मूलपानी क्रिकेट मैदानमा त्रिकोणात्मक टी–२० शृंखला भइरहेको छ । दसैँसँगै क्रिकेट पनि चलिरहेको छ । हामी सबै खेलाडीको अहिले दसैँ मनाउनेभन्दा पनि नेपाललाई शृंखला दिलाउने ध्यान छ । यो प्रतियोगितालगत्तै आइसिसी टी–२० विश्वकपको छनोट सुरु हुन्छ । त्यस पनि केन्द्रित हुनुपर्छ । हामी सबै होटेलमै रमाइलो गरिरहेका छौँ । यद्यपि, सिरिजका कारण घर जाने नपाए पनि टोलीमा रहेका साथीहरूसँगै रमाइलो भइरहेको छ ।