अन्जान व्यक्तिसँग मोबाइलबाट प्रेम, पहिलो भेटमै विवाह

कलिलो उमेरमै दुई सन्तानकी आमा

शुक्रबार, ३ कार्तिक, २०८०
डिजिटल संस्करण

‘काठमाडौंबाट भर्खरै गाउँ फर्किएको वेला हातमा नयाँ मोबाइल फोन थियो। चञ्चले उमेर, हचुवा नम्बरमा फोन गर्दा एकजना केटासँग कुराकानी भयो। उसले भेटौँ भन्यो। कहिल्यै नभेटेको, नचिनेको केटासँग दिदीको घर जाने बहानामा भेट भयो। पहिलो भेटमै उसले बिहे गरौँ भन्यो। म नि फुरुक्क भएछु, आइहालेँ।’

दक्षिणी धादिङको गजुरी गाउँपालिकाको विकट गाउँ चौकीभञ्ज्याङकी १९ वर्षीया लक्ष्मी चेपाङले आफ्नो विगत सुनाइन्। १४ वर्षकै उमेरमा सुजन चेपाङसँग विवाह गरेकी उनका अहिले दुईवटा बच्चा छन्। कलिलो उमेरमा बुद्धि नआएकाले अन्जान मान्छेसँग विवाह गरेको उनी बताउँछिन्। 

‘श्रीमान् भइसक्दा पनि सुजनलाई मैले राम्रोसँग चिनेकै थिइन्। बिहे गरेपछि नै नजिकबाट चिनेँ,’ उनले भनिन्, ‘घर–ठेगाना थाहा थिएन। परिवारलाई नभनी बिहे गरेँ। बिहे गरेको तीन–चार दिनपछि परिवारको नियास्रो लागेर फोन गरेँ, अनि बिहे गरेको कुरा माइतीमा भनेँ।’

गरिबीको कारण १३ वर्षकै उमेरमा पढाइ छाडेर काम गर्न लक्ष्मी काठमाडौं छिरिन्। ‘घरमा खानेकुरा जुटाउन मुस्किल थियो। पैसाकै कारण स्कुल जान पनि समस्या थियो,’ उनले भनिन्, ‘पैसा कमाउने र घर खर्च जुटाउने सपना बुनेर काठमाडौं छिरेँ। गाई फर्ममा काम गर्दा मासिक पाँच हजार दिन्थ्यो। केही पैसा दिदीहरूलाई पठाएँ, केही घरमा दिएँ। बचेको तीन हजारमा मोबाइल किनेर म आफ्नै गाउँ फर्किएँ।’ त्यसपछि नै उनले अन्जान सुजनसँग फोनमा कुरा गरेकै भरमा विवाह गरेकी थिइन्।

‘अहिले १९ वर्षको भएँ। साथमा छोरा सुनिल र छोरी सेती छिन्। अहिले खेतीपाती गरेर जीविका चलाउँदै आएका छौँ,’ उनले भनिन्, ‘जान–अन्जानमै बिहे गरेको भए पनि श्रीमानले राम्रै साथ दिएका छन्। हामी खुसी छौँ।’

यद्यपि, कम उमेरमै विवाह गर्दा पढ्न नपाएकोमा भने उनलाई पछुतो छ। दुःखजिलो गरेर भए पनि छोराछोरीलाई भने पढाउने उनको इच्छा छ। उनले भनिन्, ‘आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाउने ठूलो रहर छ। उनीहरूले पढेर जे बन्न चाहन्छन् त्यही बनाउने इच्छा छ।’

सुझावित समाचार