प्रेरक प्रसंग : द्रौपदी र साधु

शुक्रबार, ३ कार्तिक, २०८०
डिजिटल संस्करण

एकपटक द्रौपदी बिहानी स्नान गर्न यमुना घाट पुगिन् । राम्ररी उज्यालो भइसकेको थिएन । उनी स्नान गरिसकेर वस्त्र फेर्दै थिइन् । अचानक उनको दृष्टि नुहाएर यमुनाको जलबाट बाहिर निस्किँदै गरेका एक साधुमाथि पर्यो । साधुले शरीरमा एक लँगौटी मात्र पहिरिएका थिए । किनारमा उनको अर्को लँगौटी थियो । उनी फेर्नका लागि त्यही लँगौटी लिन अघि बढेका मात्र थिए, अचानक आएको हावाले त्यसलाई उडाएर यमुनाको जल प्रवाहमा पुर्याइदियो । यमुनाले निमेषभरमै साधुको लँगौटी बेपत्ता पारिदियो । साधु बडो धर्मसंकटमा परे । उनीसित फेर्नका लागि अर्को लँगौटी थिएन । शरीरमा भएको चिसो लँगौटी पनि फाटेको थियो । 

बिस्तारै उज्यालो हुँदै थियो । साधु बडो चिन्तित देखिए । उनी लज्जावश नजिकैको झाडीमा लुके । यो सब देखिरहेकी द्रौपदीले आफूले फेर्दै गरेको सारीको एक छेउ ध्यार्र च्यातिन् र साधुको नजिकै पुगेर भनिन्– साधु महाराज, हजुर यतिखेर अप्ठ्यारोमा हुनुहुन्छ । मेरो यो सारीको एक छेउ लिनुहोस् र आफ्नो लाज ढाक्नुहोस् । 

बडो अप्ठ्यारोसित साधुले द्रौपदीको सारीको छेउ समाते र उनलाई एक आशीर्वाद दिए– आज तिमीले मलाई जसरी सहयोग गरेर दुनियाँसामु लज्जित हुनबाट जोगाएकी छ्यौ, ठीक त्यसैगरी एक दिन भगवान्ले पनि तिमीलाई जोगाउनुहुनेछ । तिमीले आजको सहयोग आवश्यक परेको समयमा भगवान्बाट ब्याजसहित फिर्ता पाउनेछ्यौ । 

आखिरमा कौरवसभामा दुःशासनले सारी तानेर निर्वस्त्र बनाउन खोज्दा भगवान् श्रीकृष्णले वस्त्र प्रदान गरेर उनलाई लज्जित हुनबाट जोगाए । सायद द्रौपदीको त्यही सत्कर्मको फल पो थियो कि श्रीकृष्णको सो उपकार ।

सुझावित समाचार