चाडपर्व नजिकिएसँगै सवारीसाधनको चेकजाँचमा कडाइ

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

चाडपर्व नजिकिएसँगै बागलुङ सदरमुकामदेखि देशका विभिन्न भेगमा चल्ने र ग्रामीण भेगमा सञ्चालन हुने सवारीसाधनको चेकजाँचमा कडाइ गरिएको छ । चाडपर्वको अवसरमा चर्को भाडा लिएर यात्रुलाई ठक्ने र क्षमताभन्दा बढी यात्रुहरू बोकेर दुर्घटनाका निम्ति सक्ने हुँदा यसको न्यूनीकरणका निम्ति सवारी चेकजाँचमा कडाई थालिएको प्रहरीले जनाएको छ । 

बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा बागलुङ प्रवेशद्वारको रुपमा रहेको मालढुंगा नाकालगायतका अन्य स्थानमा सवारीसाधनको चेकजाँच गरिएको छ । ‘चाडपर्व नजिकिएसँगै यातायातका साधनमा मनपरी चल्न सक्छ । त्यसको न्यूनीकरणका निम्ति चेकजाँचलाई कडाई गरिएको छ,’ रिजालले भने, ‘गाडीमा भीडभाड, बढी भाडा असुल्ने र मापसे गरेर सवारी चलाउनेलगायतको गतिविधिलाई रोक्न अनगुमनका कार्यक्रम अगाडि बढाएका हौं । नियमित हुनेभन्दा फरक शैलीमा अनुगमन हुनेछ । भाडालगायतका विषयमा यात्रुलाई नै सोध्नेछौँ ।’

यात्रुबाट बढी भाडा असुलेको, क्षमताभन्दा बढी यात्रु बोकेको, मापसे गरेर सवारीसाधन चलाएको जस्ता गुनासोलाई न्यूनीकरण गर्दै दुर्घटनारहित चाडवाड बनाउन सरप्राइज चेकिङ र छड्के चेकिङ गरिएको प्रजिअ रिजालले बताए ।

चेकजाँच गर्ने क्रममा यात्रुलाई भाडाबारे सोधपुछ गरिने, क्षमताभन्दा बढी यात्रु बोके–नबोकेको हेरिने, गाडीका आवश्यक कागजात पनि जाँच गरिने ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मीनबहादुर खड्काले जानकारी दिए । चेकजाँचका क्रममा रातो नम्बरप्लेट भएको सवारीसाधनले यात्रु बोकेको, सवारीचालक अनुमतिपत्र लाइसेन्स नभई सवारीसाधन चलाएको, सवारीसाधनको नवीकरण गुज्रेको फेला परेको उनले बताए । 

See More On

सुझावित समाचार