बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका– ९ सुन्दरबस्तीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएकाे छ भने चारजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान करिब ६:४५ बजेको समयमा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा.६४प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशा जाँदै गरेको बा.प ०३–००१ ज ०२९८ नम्बरको इलेक्ट्रोनिक गाडीले ठक्कर दिएर भाग्ने क्रममा नालीमा खस्दा उक्त गाडी र मोटरसाइकलमा सवार पाँचजना घाइते भएका हुन् ।
उपचारको क्रममा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका– १२ की २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गाडीमा सवार रामेछाप जिल्ला मन्थली नगरपालिका– १ की २३ वर्षीय पुष्पा तामाङ, लिखुतामाकोसी गाउँपालिका– ६ का ५१ वर्षीय टंकप्रसाद दाहाल र मोटरसाइकलचालक इलाम जिल्ला थाकथुम गाउँपालिका– ३ का ४० वर्षीय रामकुमार राई र मोटरसाइकलको पछाडि सवार ३९ वर्षकी प्रविशा सुनुवार घाइते भएका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । इलेक्ट्रोनिक गाडीचालक काभ्रे जिल्ला पनौती नगरपालिका– ५ बस्ने वर्ष ४१ को उपेन्द्र थापालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।