हिजो र आजका शासकको चरित्र उही छ। लामो राजतन्त्र र त्यसपछि देशमा गणतन्त्र आएको छ। जनताका प्रतिनिधिले शासन गर्ने व्यवस्था आएको छ। तर, शासनसत्ताको बागडोरमा पुरानै चरित्रका शासक छन्।
३० वर्ष लामो पञ्चायतकालीन समयमा झोडा फाँडेर बस्ती बसाएका विपन्नका घर राज्यले हात्ती लगाएर भत्काउँथ्यो। अहिले समस्या उही छ। झोडा भत्काउन राज्यले हात्ती हाेइन, डोजर प्रयोग गर्छ।
विपन्न, सीमान्तकृत र सुकुमबासीमाथि राज्यको दमन–शैली उही छ। झन्डै पाँच दशकअघि विपन्नमाथि राज्यले गरेको दमनको कथालाई इलामको चुलाचुली रंगमञ्चले ‘झोडा’ नाटकमार्फत सार्वजनिक गरेको छ।
झन्डै पाँच दशकअघि विपन्नमाथि राज्यले गरेको दमनको कथालाई इलामको चुलाचुली रंगमञ्चले ‘झोडा’ नाटकमार्फत सार्वजनिक गरेको छ।
२६ गतेदेखि झापाको दमकमा मञ्चन भइरहेको ‘झोडा’मा पहाडबाट तराई आई झोडा फाँडेर बस्नेहरूको संघर्षपूर्ण र मार्मिक कथा छ। ०२६ सालदेखि तत्कालीन पञ्चायत सरकारले राजनीतिक दलले आफूविरुद्ध गरेको आन्दोलनमा नलाग्न ‘फतवा’ जारी गर्दै भूपू सैनिकलाई तराई झार्छ।
झोडा फाँडेर उनीहरूको बस्ती बसाउन थाल्छ। त्यो समयमा झोडा फाँडेर बस्नका लागि तराई झर्नेको लर्को नै लाग्यो। त्यहीवेलाको सन्दर्भ थियो जीवन शर्माको बसाइँ हिँड्नेको ‘ताँतीले ...’ भन्ने गीत।
.jpg'_'.2023-10-17.jpg)
कतिपयले झोडामा जग्गा नै किने। तर, उनीहरू बिचौलियाको जालमा परे। भूपू सैनिकलाई झोडामा राख्ने हल्ला सर्वजितले पनि सुन्छ।
उसले पल्टनबाट फर्कँदा ल्याएको केही पैसा भूपूमन्त्री सानबहादुरलाई दिएर झोडामा बस्ने अनुमति लिन्छ। ऊ ढुक्क छ किनकि उसले भूपू मन्त्रीलाई नै पैसा दिएको छ। त्यो पनि तमसुक बनाएर। अब उसले सानो छोरा र श्रीमतीलाई लिएर तराई झर्ने निधो गर्छ। ऊसँगै धेरैजना तराई झर्छन्। तर, तराईमा उसले सोचेजस्तो हुँदैन।
.jpg'_'.2023-10-17.jpg)
झोडा फाँडेर बस्न धेरै मुस्किल हुन्छ। दिउँसो झोडा फाँड्दा सरकारका मान्छे आएर लैजान्छन् भन्ने पीरले रातभर लगाएर फाँड्छन्। जसोतसो एउटा झुप्रो त बनाउँछ। तर, उसले सुखले बस्न पाउँदैन। उसलाई वन मुद्दामा फसाइन्छ। हुँदा–हुँदै भूपूमन्त्री सानबहादुरको हत्या गरेको मुद्दासमेत लगाइन्छ। झोडा फाँडेर बसेका अधिकांशलाई राज्यसत्ताको त्रास छ। कतिपय त वन मुद्दाको तारिक निरन्तर धाइरहेका छन्।
झोडा फाँडेर बस्न आएको लालपुर्जा पाउने सपना राजनीतिक भूमरीमा फस्छ। पहाडबाट आएर झोडा फाँडेर बसेकाले राज्यसत्तासँग कस्तो संघर्ष गर्नुपर्छ ? उनीहरूले राज्न्यबाट जग्गाको लालपुर्जा पाउँछन् कि पाउँदैनन् ?
नाटकमा आदिमकालदेखि बसोवास गर्दै आएका आदिवासी समुदायलाई मुख्यपात्रको रूपमा उभ्याइएको छ। नाटकले पाँच दशकअघिको समयमा त पुर्याउँछ नै अहिलेको परिस्थितिमा राज्यले विपन्न सुकुमबासीमाथि गरेको दमनलाई पनि देखाएको छ। नाटकलाई निर्देशक चेतन आङ्थुपोले निकै आकर्षक बनाएका छन्। रंगमञ्चमा छिर्नेबित्तिकै दर्शकले एउटा मानिस सेटमा लडिरहेको देख्छन्। उसको शरीरबाट रगत बगिरहेको छ। लाग्छ– उसलाई गोली लागेको छ। केही समयपछि नाटक सुरु हुन्छ। जहाँ आन्दोलनको आवाज आउँछ। भूमिहीन र भूमिपुत्रहरूको आन्दोलन। जसले नाटकलाई निकै आकर्षक बनाएको छ।
.jpg'_'.2023-10-17.jpg)
नाटकमा दर्शकलाई ‘हुक’ गर्न यो दृश्य उत्कृष्ट छ। यसलाई निर्देशकको चलाखीको रूपमा लिन सकिन्छ। सांस्कृतिक नाटकहरूमा रमाउने निर्देशक आङ्थुपोले यो नाटकको सेटमा धेरै मिहिनेत गरेको देखिन्छ। आदिवासी धिमालदेखि लिम्बू समुदायको संस्कृतिलाई उनले देखाउन खोजेका छन्। एउटै सेटमा पहाड र तराई महसुस गराएका छन्। सेटमा रहेको तल्लो भागबाट तराईको सुगन्ध आउँछ। माथिल्लो भागमा पहाड देखिन्छ। एउटै सेटलाई दुई प्रकारको बनाउन निर्देशकले गरेको मिहिनेतको प्रशंसा गर्नैपर्छ।
एउटै सेटमा पहाडको हिमालदेखि तराई समथर फाँटसम्म देखिन्छ। सेटमा निर्देशक आङ्थुपोले एउटा रूख प्रयोग गरिएको छ। जुन रूख पहाडमा सीधा छ। तराईमा यसको फेद निकै ठूलो देखिन्छ। जसले पहाड र तराईको फरक देखाउँछ। सेटमा प्रयोग गरेका हरेक सामग्रीले आ–आफ्नै अर्थ दिन्छ। तसर्थ निर्देशक आङ्थुपो यस अर्थमा सफल मानिए। उनले तराईको सेट बनाइएको ठाउँमा नाटकस्थलबाट करिब पाँच किलोमिटर उत्तरबाट माटो ल्याएका छन्। त्यहाँ प्रयोग भएको माटोले नाटकको कथा वस्तुलाई झनै सशक्त बनाएको छ।
.jpg'_'.2023-10-17.jpg)
नाटकमा लिम्बू संस्कृतिदेखि पूर्वीतराईमा बसोवास गर्ने धिमालको संस्कृतिलाई पनि देखाइएको छ। कलाकारले आफ्नो भूमिकालाई उत्कृष्ट ढंगले निभाएका छन्। कलाकारको अभिनयमा खोट लगाउने ठाउँ देखिँदैन। धिमाल समुदायकी युवती भएर अभिनय गर्ने कलाकार चेतना आचार्यको अभिनयको जति प्रशंसा गरे पनि कम हुन्छ। उनले धिमाल भाषा बोल्दा उच्चारण गरेको लवज र अभिनयले दर्शकको मन छुन्छ।
नाटकमा एउटा विद्रोहलाई निर्देशक आङ्थुपोले डोरीमार्फत देखाएका छन्। यो नाटकभरिको उत्कृष्ट दृश्य हो। एउटा डोरी कसैले बाट्दै छ। कसैले हातले नापिरहेको छ। कसैले डोरीमा परेको गाँठो फुकाइरहेका छन्। अनि एक नेता झोडा समस्याबारे भाषण गरिरहेका छन्। उनी लालपुर्जा दिने आश्वासन दिइरहेका छन्। त्यत्तिकैमा मीनबहादुर मगर (प्रवीण मगर)ले डोरी फ्याँक्छन्। उनको यो डोरी फ्याँक्ने शैलीले अब जनता सहेर बस्दैनन् भन्ने अर्थ दिन्छ। लगत्तै उनी नेतृत्व लिँदै झोडावासीमाथि भएको दमनविरुद्ध आन्दोलनको घोषणा गर्छन्। यो दृश्यमा डोरीको प्रयोगमार्फत देखाइएको बिम्ब निकै उत्कृष्ट छ।
नाटकमा सबैभन्दा महत्त्वपूर्ण लाइट हुन्छ। यो नाटकमा लाइटमाथिको काम पनि निकै उत्कृष्ट ढंगबाट भएको छ। नाटकलाई अझै राम्रो बनाउन त्यहाँ प्रयोग भएको संगीत र गायनले पनि राम्रो भूमिका खेलेको छ। त्यहाँ प्रयोग भएका बाजाले जुन संस्कृतिमाथि नाटक तयार पारेको हो, त्यसलाई पुष्टि गर्न थप मद्दत गरेको छ।
यो नाटकले मोफसल पनि उत्कृष्ट नाटक दिन सक्षम छ भन्ने पुष्टि गरेको छ। नाकटमा धेरै राम्रा पक्ष हुँदाहुँदै केही सुधार गर्नुपर्ने पक्ष पनि नभएका हाेइनन्। नाटकमा कलाकारले स्वर निकै सानो हुँदा पछाडि बसेका दर्शकलाई सुन्नै मुस्किल हुन्छ। त्यहाँ माइकको पनि प्रोग हुँदैन।
.jpg'_'.2023-10-17.jpg)
तर, कलाकारले केही ठूलो स्वरमा संवाद बोले पछाडिका दर्शकलाई केही सहज हुने थियो। यस्तै, नाटकमा एक–दुईवटा पात्र अनावश्यक हाबी भएको देखिन्छ। जसले दर्शकलाई केही खल्लो बनाएको छ। नाटकका केही पात्र छन्, दृश्यमा उनीहरू मुख्य भूमिकामा रहेका पात्रभन्दा धेरै हाबी हुन खोजेको देखिन्छ। जसलाई निर्देशक आङ्थुपोले सुधार गर्नुपर्ने देखिन्छ। यस्तै, नाटकमा धेरै लिम्बू भाषा र धिमाल भाषाको पनि प्रयोग भएको छ।
जसले गर्दा भाषा नबुझ्ने दर्शकले संवाद नै बुझ्न सक्दैनन्। नाकट सबै समुदायका लागि बनाएका कारण यसतर्फ पनि निर्देशकले ध्यान दिनुपर्छ। यद्यपि, निर्देशक आङ्थुपो यो पनि आन्दोलन भएको बताउँछन्। ‘राज्यले अदिवासी–जनजातिमाथि दमन गर्दा सबैभन्दा पहिला भाषामाथि गर्यो। तसर्थ, हामीले भाषालाई सशक्त रूपमा देखाउन खोजेका हौँ । यो एउटा आन्दोलन पनि हो,’ उनी भन्छन्।
गायक–संगीतकार गणेश रसिकको उपन्यास ‘आकाश गंगाको ओतमुनि’लाई कवि सुमन लिङ्देनले नाट्य रूपान्तरण गरेका हुन्। नाटक ३० असोजसम्म मञ्चन गरिनेछ।
.jpg'_'.2023-10-17.jpg)
नाटक हेरेपछि गायक–संगीतकार गणेश रसिकले नाटकले आफ्नो उपन्यासलाई न्याय गरेको बताए। ‘उपन्यासलाई नाटकमा ढाल्न ज्यादै गाह्रो छ। उपन्यासमा भावना कहाँ–कहाँ बग्छ। त्यसलाई संयोजन गर्न अति कठिन छ। तर, यो नाटकमा उत्कृष्ट संयोजन भएको छ। अहिलेको परिवेशमा ढालिएको छ। जिउँदै रहँदा यो कथामा नाटक हेर्न पाएँ। खुसी छु,’ उनले भने, ‘०३२/३३ सालमा झापा आउँदा केर्खा बजारदेखि क्याम्पासम्म जंगल नै जंगल थियो। जंगलमा स–साना झुप्रा थिए। त्यतिवेलाको अवस्थामा नाटकले फर्कायो। वनपाले र प्रहरीको दमन मैले आँखाले देखेको छु। नाटकमा त्यस्तै गरी प्रस्तुत गरिएको छ।’
अहिले पनि झोडा समस्या यथावत् रहेकाले यो नाटक अहिले पनि सान्दर्भिक रहेको बताए। ‘यो नाटक युवा पुस्ताले हेर्नुपर्छ। हिजोका पुस्ता कसरी यहाँ संघर्ष गरेर बसेका थिए, इतिहास जान्नुपर्दछ,’ उनले भने, ‘यो नाटक हाम्रो माटोको कथा हो। जीवन संघर्षको कथा हो।’
नाटकमा मनकुमार योङहाङ, रमिला राई, उदय बेघा, बन्वो सन्तोष, प्रवीण मगर, बबिना राई, मीना नेम्वाङ, विपिसा राई, मनिक शंकर, युगल लिम्बू, दीपक खरेल, प्रवीण भण्डारी, चेतना आचार्य र प्रिन्स तामाङले अभिनय गरेका छन्। संगीतमा बालकृष्ण राई, एमपी मगर, दिनेश रसाइली, दीपेश मगर, ताया राई स्वस्तिका लिम्बू र आशा सावा छन्। नाटकमा प्रयोग भएको गीत सुन्दर कुरुप र ताया राईले लेखेका हुन्। नाटकका निर्माता सुरेश माङपाहाङ राई हुन्।