कञ्चनपुरको बेदकोट नगरपालिकामा मौलिक रैथाने परिकार प्रदर्शन गरिएको छ। ४३औँ विश्व खाद्य दिवसको अवसरमा कृषि ज्ञान केन्द्र कञ्चनपुरको आयोजनामा बेदकोटको सुन्दरपुरमा प्रदेशका मौलिक रैथाने परिकार प्रदर्शन गरिएको हो।
कार्यक्रममा सहभागी सरोकारवाला व्यक्तिहरूले स्वास्थ्यका लागि गुणकारी हुने उल्लेख गर्दैै मौलिक रैथानी खाद्य परिकार सेवनमा जोड दिएका छन्। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जनक सिंहले स्वच्छ र स्वस्थ खाना उपभोग बढाउने उद्देश्यले रैथाने परिकार प्रदर्शन गरिएको बताए।
.jpg'_'.2023-10-16.jpg)
यसैगरी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले खाद्य सुरक्षाका लागि कृषिमा लगानी बढाई स्वदेशी वस्तु उपभोगमा जोड दिए। सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बजारका खानेकुरा स्वास्थ्यका लागि उपयुक्त नहुने उल्लेख गरे। उनले भने, ‘अहिले बजारमा पाइने अधिकांश खाद्यवस्तु स्वस्थ्यकर हुँदैनन्। मानव स्वास्थ्यका लागि हाम्रै मौलिक परिकार उपयुक्त छन्।’
खाद्य अधिकार सञ्जाल कञ्चनपुरका अध्यक्ष कोमलनिरन्जन भाटले जिल्लामा खाद्य सुरक्षामा चुनौती बढिरहेको बताए। उनले बजारमा पाइने केमिकलयुक्त खाद्य परिकारले मानव स्वास्थ्यमा हानी पुर्याउने उल्लेख गर्दै मौलिक रैथाने परिकार उपभोग गर्नुपर्नेमा जोड दिए।
.jpg'_'.2023-10-16.jpg)
कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द सिजापतिले ज्ञान केन्द्रले किसान र उपभोक्तालाई रैथानी खाद्य परिवारको महत्त्व बुझाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने व्यक्ति तथा संघसंस्थाहरूलाई सम्मानसमेत गरिएको छ।