३ प्रश्न

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

कोशीमा विकसित पछिल्लो राजनीतिक परिदृश्यको संकेत के हो ?
कोशीको पछिल्लो राजनीतिक अलमलले संविधान कार्यान्वयनमै जटिलता निम्त्याइरहेको थियो । मुलुकलाई राजनीतिक अस्थिरता, आर्थिक संकट र साम्प्रदायिक गतिविधिले गाँज्दै लगेको समयमा बहुसंख्यक जनताले पत्याएका देशका सबैभन्दा ठूला शक्ति कांग्रेस र एमाले मिलेर जानुपर्छ भन्ने आवाज पटकपटक उठिरहेकै थियो । यसका लागि हामीले कांग्रेससँग कुराकानी गर्दा उसको संस्थापन पक्षले त्यो हिम्मत गरेन । तर, शेखर कोइराला र केदार कार्कीजीले त्यो हिम्मत गर्नुभयो । कांग्रेससितको हाम्रो सहकार्य पवित्र उद्देश्यबाट प्रेरित छ । 

कोशीमा मध्यावधिमा जान नपर्ने र राजनीतिक स्थिरता पनि आउनेमा कति विश्वस्त हुनुहुन्छ ? 
मध्यावधि नेपाली जनताको माग र चाहना दुवै होइन । देशले पनि यति छोटो समयमै अर्को निर्वाचन धान्न सक्दैन । यही यथार्थलाई मध्यनजर गरेर कोशी प्रदेशलाई मध्यावधिमा धकेलेर प्रदेश संरचना गलत हो भन्ने भाष्य स्थापित गर्ने प्रयासलाई असफल पार्न हामीले पहल गरेका हौँ । यसले यहाँको राजनीतिमा स्थिरता ल्याउनेमा हामी विश्वस्त छौँ । 

अबका दिनमा कोशीको प्रभाव अन्य प्रदेश र केन्द्रमा पनि पर्न सक्ने सम्भावना कति देख्नुहुन्छ ?
हामीले कोशीमा प्रयास गर्दैमा केन्द्रमा पनि त्यसैको प्रभाव परिहाल्छ त भन्न सकिन्न । तर, अहिलेको सूचना प्रविधिको युगमा स्वाभाविक रूपमा यसको प्रभाव देशभर पर्न भने सक्छ । केन्द्रदेखि प्रदेशसम्म कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने समयको माग हो । कांग्रेसले यसलाई समयमै बुझ्न सकेन भने पछि मिल्छु भन्दा पनि मिल्न नपाउने गरी समय घर्किन पनि सक्छ । 

सुझावित समाचार