आइसिसी एकदिवसीय विश्वकप -२०२३ : साबिक विजेता इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध

चालू विश्वकपमा अफगानिस्तानले सनसनी नतिजा निकाल्ने क्रममा इंग्ल्यान्डलाई ६९ रनले हरायो

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

एकदिवसीय विश्वकप क्रिकेटको साबिक विजेता इंग्ल्यान्ड आइतबार अफगानिस्तानसँग ६९ रनले स्तब्ध भएको छ । भारतको अरुण जेट्ली रंगशालामा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो ।

प्रत्युत्तरमा साबिक विजेता इंग्ल्यान्ड ४०.३ ओभरमा दुई सय १५ रनमा समेटिँदा पहिलोपटक अफगानिस्तानसँग पराजित भयो । अफगानिस्तानले एकदिवसीय विश्वकपमा लगातार १४ खेलमा बेहोरेको हारमा पूर्णविराम लगाएको छ । चालू विश्वकपमा अफगानिस्तानलाई सनसनी जित दिलाउने क्रममा मुजिव र रासिद खानले समान तीन विकेट लिए । मोहमद नावीले दुई विकेट हात पारे । 

एकदिवसीय विश्वकपमा इंग्ल्यान्ड पाँचपटक कमजोर टोलीसँग पराजित भएको छ । सन् १९९२ मा जिम्बावेसँग नौ रनले हार सामना गरेको इंग्ल्यान्डमाथि सन् २०११ मा आयरल्यान्डमाथि तीन विकेटले जित निकालेको थियो । यसैगरी, सन् २०११ मै बंगलादेशसँग दुई विकेटले स्तब्ध भएको इंग्ल्यान्ड २०१५ को संस्करणमा बंगलादेशसँगै १५ रनले पराजित भयो । इंग्ल्यान्ड टी–२० विश्वकपमा नेदरल्यान्ड्ससँग दुईपटक पराजित भएको छ ।

एकदिवसीय खेलमा इंग्ल्यान्ड र अफगानिस्तानबीच यो तेस्रो भेट हो । अघिल्लो दुई खेलमा इंग्ल्यान्डले अफगानिस्तानमाथि सानदार जित निकालेको थियो । तेस्रो भेटमा भने अफगानिस्तानले महत्वपूर्ण जित निकाल्यो । जितसँगै अफगानिस्तान दुई अंकका साथ छैटौँ स्थानमा उक्लेको छ । इंग्ल्यान्ड दुई अंकका साथ पाँचौँ स्थानमै छ । इंग्ल्यान्डको ब्याटिङमा ह्यारी बुकले सर्वाधिक ६६ रनको योगदान दिए । उनले सात चौका र एक छक्का प्रहार गरे । ओपनर डेविड मालानले ३२ रन जोडे । यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो रन बटुल्न सकेनन् । पुछारका आदिल रसिद २० रन, मार्क उड १८ रन र रिस टोप्ले १५ रनमा नटआउट भए । 

 शतकीय ओपनिङ साझेदारी
अफगानिस्तानको सुरुवात उत्कृष्ट रह्यो । ओपनर रहमानुल्लाह गुर्बाज र इब्राहिम जार्दानले पहिलो विकेटका लागि १६.४ ओभरमा एक सय १४ रनको साझेदारी गर्दै इंग्ल्यान्डमाथि दबाब राखेका थिए । इंग्ल्यान्डका लागि पहिलो सफलता आदिल रसिदले दिलाए । उनले अफगानिस्तानका दोस्रो ओपनर जार्दानलाई कप्तान रोए रुटबाट क्याचआउट गराए । जार्दानले ४८ बलमा तीन चौकाको सहयोगमा २८ रन बनाए । अफगानिस्तानले १८ ओभरमा दुई विकेट गुमाएको थियो । रहमत साह र गुर्बाज लगातार बलमा आउट हुँदा अफगानिस्तान १५२–४ को अवस्थामा रह्यो । 

ओपनर गुर्बाज विलियमबाट रनआउट हुनुअघि ५७ बलमा आठ चौका र चार छक्काको सहयोगमा सर्वाधिक ८० रनको योगदान दिए । मध्यक्रमका हसमुतुल्लाह साहिदीले २४ बलमा १९ रन बनाए । इक्रमम अलिखरले ६६ बलमा ५८ रन जोडे । उनले तीन चौका र दुई छक्का प्रहार गरेका थिए । रसिद खानले १६ बलमा तीन चौका र एक छक्का प्रहार गरी २३ रन बनाए । मुजिब उर रहमान र इक्रमले आठौँ विकेटका लागि ४४ रनको साझेदारी गर्दै अफगानिस्तानलाई २३३–७ बाट २७७–८ को स्थितिमा राखे । 

उर रहमानले १६ बलमा तीन चौका र एक छक्काको सहयोगमा २८ रन बनाए । इंग्ल्यान्डको बलिङमा आदिल रसिदले सर्वाधिक तीन विकेट लिए । उनले १० ओभरमा एक मेडन राखी ४२ रन खर्चंदै तीन विकेट हात पारे । यसैगरी, मार्क उडले नौ ओभरमा ५० रन दिँदै दुई विकेट लिए । जोए रुटले १९ रनमा एक विकेट लिए ।

सुझावित समाचार