चाणक्यको मातृसेवा

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

गुप्तकालमा मगध राज्यमा जन्मेका आचार्य चाणक्य निकै ठूला पठनदास र मातृभक्त थिए । यो उनको बाल्यकालको घटना हो । उनी सानै छँदा एक दिन उनकी आमा निकै रोइरहेकी थिइन् । रोइरहेको देखेर चाणक्यले आमासित त्यसको कारण सोधे । रुँदैरुँदै आमाले त्यसको कारण बताइन्– बाबु, तिम्रो अगाडिका दुवै दाँतमा राजा हुने लक्षण छ । भविष्यमा तिमी ठूलो राजा बन्यौ भने तिमीले मलाई भुल्नेछौ । 

आमाको कुरा सुनेर चाणक्य हाँस्दै बाहिर गए र दुवै दाँत फुकालेर हातमा लिएर आए अनि भने– आमा, अब हेर्नुस् त, तपाईंका शत्रु दुवै दाँत गए । म राजा बन्ने लक्षण मेटियो । अब म जिन्दगीभरि हजुरकै सेवामा रहनेछु । हजुरले आदेश दिनुभयो भने राष्ट्रको सेवा भने पक्कै गर्नेछु । साँच्चै उनले भनेजस्तै भयो । ठूलो भएपछि चाणक्य आमाको आशीर्वाद लिएर अध्ययनका लागि तक्षशिला गए र त्यहाँ उनले २४ वर्षसम्म पढे । 

तक्षशिलामा चाणक्य गुरुहरूका निकै प्रिय शिष्य बने । सबैले उनलाई मनैदेखि पढाएर अनेक विषयमा पारंगत बनाए । तक्षशिलाबाट फर्केर आएपछि चाणक्यले मगधमा एक पाठशाला सञ्चालन गरे । त्यहाँबाट उनले अनेकौँ सुयोग्य शिष्य उत्पादन गरे, जो पछि उनको जीवनमा ठूला सहयोगी साबित भए । चाणक्यले जतिसुकै ठूलो सफलता पाए पनि र जतिसुकै ठूला जिम्मेवारी सम्हाले पनि आफ्नी आमा जीवित रहुन्जेल उनको सेवाबाट कहिल्यै टाढा र विमुख भएनन् ।

सुझावित समाचार