जनताको अवस्था परिवर्तन गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण : बानियाँ

आइतबार, २८ असोज, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जनताको अवस्था परिवर्तन गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

मकवानपुरको मनहरी गाउँपालिका– ७ बिजौनामा नवनिर्मित वडा कार्यालय भवनको आइतबार उद्घाटन गर्दै नेता बानियाँले यस्तो बताएका हुन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा घरदैलोको सरकारको रूपमा स्थापित वडा कार्यालयले आफ्नै भवनबाट जनतालाई सेवा दिने वातावरण बन्नु सुखद भएको बताए।

‘वर्तमान व्यवस्थाले मुलुकमा रहेका सबै जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराको अस्तित्व र पहिचानलाई स्वीकार गरेको छ। यो साँच्चिकै जनताको व्यवस्था हो। यो व्यवस्थालाई बलियो बनाउन स्थानीय सरकारका रूपमा वडाले महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भने।

सभापति बानियाँले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि निजामती कर्मचारी र राजनीतिमा देखिएका केही गल्ती–कमजोरीलाई क्रमशः सुधार गर्दै लैजाने हो भने व्यवस्थाप्रति जनताको विश्वास झनै बढ्दै जाने दाबी पनि गरे।

उक्त अवसरमा वडाभित्र रहेका रमन्टार मावि र रोटरी माविमा अध्ययन गर्ने जेहेनदार छात्रछात्रालाई २३ थान साइकल वितरण गरिएको थियो। साइकल खरिदका लागि वडाले दुई लाख रुपैयाँ खर्च गरेको छ।

गाउँपालिकाको ८७ लाख रुपैयाँ बजेटमा मनहरी– ७ स्थित बिजौनामा वडा कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष ठाकुरराम तितुङले जानकारी दिए।

सुझावित समाचार