नाकामा हातहतियार, विस्फोटक पदार्थ र लागुऔषध पहिचान गर्न सक्ने तालिमप्राप्त कुकुरसमेत परिचालन
सशस्त्र प्रहरी बलले चाडपर्व विशेष सुरक्षा योजना तयार गरी कार्यान्वयन गरेको छ । सुरक्षा योजनाअनुसार २९ हजार एक सय ५४ जना सशस्त्र प्रहरी परिचालित हुनेछन् । दुई हजार नौ सय २९ जना तयारी हालतमा राखिएको छ ।
चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजना तयार पारिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्रले चीन र भारतका सीमाक्षेत्रमा एक सय २५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) स्थापना गरिएको छ । कतिपय नाकामा विशेष चेकजाँच गर्न थालिएको छ । झापाको काँकडभिट्टालगायत नाकामा हातहतियार, विस्फोटक पदार्थ र लागुऔषध पहिचान गर्न सक्ने तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।
आपराधिक क्रियाकलापको रोकथाम एवं नियन्त्रण गर्न गस्ती, पेट्रोल, चेक प्वाइन्ट ड्युटी खटिनुको साथै मुख्य राजमार्गमा हुन सक्ने घटना सुरक्षा योजनाअन्तर्गत पाँच सय ६३ स्थानमा पैदल गस्ती, तीन सय ६६ स्थानमा मोबाइल गस्ती, ३७ स्थानमा एलआरपी (लामो दूरीको गस्ती) गर्ने भएको छ । त्यस्तै, दुई सय नौ स्थानमा क्युआरटी र तीन सय ७३ स्थानमा चेकप्वाइन्ट तथा पिकेट ड्युटीमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ हुने भएका छन् । त्यस्तै, उपत्यकामा पाँचवटा अनुगमन टोलीसमेत परिचालित गरिएको छ । चाडपर्वमा भारतबाट धेरै नेपाली आउने भएकाले उनीहरूलाई सहयोग गर्न विभिन्न नाकामा हेल्प डेस्कमा राखिएको र यसलाई स्थायी रूपमै सञ्चालन गरिने सशस्त्र प्रहरीको तयारी छ ।
युनिट सरुवाको सुरुवात
सशस्त्र प्रहरी बल नेपालले युनिट सरुवाको परम्परा सुरु गरेको छ । एकाइगत अवधारणालाई प्रभावकारी बनाउन युनिट सरुवा थालिएको सशस्त्र प्रहरीले जनाएको छ । पहिलोपटक सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेको ‘क’ गुल्म र नम्बर ७ गण सिराहाको ‘क’ गुल्मको गुल्म फर्मेसनमा परस्परमा सरुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत काभ्रे जिल्लामा तैनाथ रहेको नम्बर १५ गणको ‘क’ गुल्म आश्रित गुल्मको रूपमा सिन्धुली जिल्लामा तैनाथ थियो भने नंम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीअन्तर्गत सिराहा जिल्लाको नम्बर ७ गणको ‘क’ गुल्म मार्डरमा रही प्रस्तावित सीमासुरक्षा गुल्मको रूपमा मातहत तीनवटा बिओपीसहित तैनाथ थियो ।
सशस्त्र प्रहरी बल नेपालको संगठनभित्र बाहिनी, गण, गुल्म र प्लाटुनलगायतका संरचना छन् । हाल काभ्रे र सिराहाका गणमातहत गुल्म तहको परस्पर सरुवा गरे पनि भविष्यमा गण तहका एकाइहरूको समेत सरुवा गरिने योजना रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालका प्रत्येक एकाइहरूको आ–आफ्नै आदर्श वाक्यसमेत तय गरिएको छ । युनिट सरुवाले गर्दा एकाइमा कार्यरत कर्मचारीहरूको आफ्नो एकाइप्रति गौरवको भावना विकास हुने र सामूहिकताको भावना जागृत हुनेसमेत संगठनले विश्वास लिइएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाको भनाइ छ ।
एकाइगत रूपमा सरुवा गर्दा सो एकाइमा कार्यरत कर्मचारीहरूमा एकता, भ्रातृत्व तथा भगिनत्व प्रगाढ हुने, एकअर्काका बारेमा सम्पूर्ण जानकारी अद्यावधिक हुन सशस्त्र प्रहरी अधिकारी बताउँछन् । आदेशको शृंखला अझ प्रभावकारी रूपमा विकास हुने तथा एकाइप्रतिको अपनत्व अभिवृद्धि भई सकारात्मक सोच र सहयोगात्मक भावनाको विकास हुने तथा एकाइ सरुवा गर्दा फौजी अनुशासन र आचरणको समेत पालना हुने आधारमा युनिट सरुवाको परम्परा सुरु भएको हो ।
एकाइगत सरुवा गर्दा व्यक्तिगत रूपमा काजमा बस्ने, अन्य एकाइमा सरुवा भएर जान चाहने र कुनै व्यक्ति विभिन्न कारणले एकै स्थानमा लामो समयसम्म बस्ने प्रवृत्ति पनि रोकिने सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । यसअघि सशस्त्र प्रहरी बल नेपालले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नोअनुकूल कार्यालयमा काज कार्यरत रहने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी काजसम्बन्धी नयाँ मापदण्ड तयार पारी लागू गरिसकेको छ ।