पचली भैरवको लिंगो उठाउने जात्रा ४५ वर्षपछि पुनर्स्थापना गरिँदै

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिंगो ठड्याउने जात्रा यस वर्ष पुनर्स्थापित हुने भएको छ ।
 
जात्राका लागि शुक्रबार साँखुमाथिको जंगलबाट लिंगोका लागि रूख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिए । आश्विन शुक्ल चौथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिंगो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो । 

लिंगो उठाउने साइत भने शनिबार गुरुजीले निकाल्ने उनले बताए । विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुनः सुरु गर्न रञ्जितकार समुदायका युवा लागेको पनि गुठियार रञ्जितकारले सुनाए । 

जात्राका लागि लिंगोको रूख काट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका निकायबाट आदेश पूरा गरेर शुक्रबार रातिसम्म लिंगो टेकु पुर्याइने भएको छ । 

आश्विन शुक्ल चौथीका दिन लिंगो उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको छ । यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ ।

अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा लिंगो ढालिन्छ । मल्लराजा जयराम मल्लले यो जात्राको सुरुवात गरेको विश्वास गरिन्छ । उनलाई थकु जुजु भनी यो जात्राका क्रममा पूजा गर्ने गरिएको छ । 

श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको छ । गुठीका थकाली आठ दशक पार गरिसकेका वृद्ध भएकाले युवाको नेतृत्वमा साढे चार दशकपछि यो जात्रालाई पुनर्स्थापना गर्न लागिएको जनाइएको छ । (रासस)

सुझावित समाचार