पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीकाे सम्भावना

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण
पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीकाे सम्भावना

फाइल तस्बिर

हाल नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव छ। उक्त मौसमी प्रणालीका कारण हाल देशभर आंशिक बदलीका साथै सामान्यतया मौमस सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौमसविद् रोजन लामिछानेले जानकारी दिए।

उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौंको अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता ६ किलोमिटरभन्दा धेरै रहेको मौसमविद् लामिछानेले जानकारी दिए। 

आज काठमाडौंमा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको र दिउँसोतिर आंशिक बदली रही एक–दुई स्थानमा क्षणिक वर्षा हुन सक्ने उनले बताए। 

आज राति कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। 

कोशी प्रदेशको थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ।

See More On

सुझावित समाचार