नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोलीले बिहीबार एसिसी यू–१९ प्रिमियर कपमा इरानमाथि दुई सय ७४ रनको सानदार जित निकालेको छ । नेपालको जितमा कप्तान देव खनालले शतकीय इनिङ्स खेलेका थिए । पहिलो ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर तीन सय ५३ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा इरान ३०.४ ओभरमा ७९ रनमै समेटिँदा नेपाल फराकिलो अन्तरले विजयी भयो । मलेसियाको युकेएम क्रिकेट ओभलमा नेपालका कप्तान देवले केवल ६० बल सामना गरी १२ चौका र चार छक्काको सहयोगमा एक सय रनको योगदान दिएका थिए ।
देवले ५९ बलमा शतक पूरा गरेका थिए । शतक लगाएपछि सामना गरेको बलमै उनी पेभेलियन फर्केका थिए । नेपालको यू–१९ क्रिकेट इतिहासमा अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक लगाउने उनी पहिलो खेलाडी हुन् । यसअघि उनले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय इनिङ्स खेलेका थिए । इरानलाई कम योगफलमा अलआउट गर्न दीपेश कँडेलले घातक बलिङ गरेका थिए । उनले सात ओभरमा केवल चार रन खर्चिएर तीन विकेट लिए । सुवास भण्डारीले तीन विकेट हात पार्न ६ रन खर्चिए । उनले ८.५ ओभर बलिङ गरेका थिए । हेमन्त धामी र आकाश चन्दले इरानका समान दुई खेलाडीलाई आउट पारे ।
लक्ष्य पछ्याएको इनिङ्समा इरानका ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । उनले २२ बलमा पाँच छक्का र एक चौका प्रहार गरेका थिए । उनले पहिलो विकेटका लागि समन शेखीसँग ३६ रनको साझेदारी गरेका थिए । ६.६ ओभरमा सुवासले नेपाललाई पहिलो सफलता दिलाए । उनले शेखीलाई पाँच रनमा आउट गरे ।
नेपालको कमजोर सुरुवात
टस हारी ब्याटिङ गरेको नेपालको सुरुवात गतिलो भएन । ओपनर अर्जुन कुमाल शून्य रनमै पेभेलियन फर्किएका थिए । यसैगरी, तेस्रो क्रमका आकाश त्रिपाठी तीन रनमा आउट भए । लगातार विकेट गुमाउँदा नेपालमाथि इरानी बलर हावी भएका थिए । तर, चौथो क्रमका ब्याट्सम्यान तथा कप्तान देवले इनिङ्स सम्हाले । उनले दीपक बोहोरासँग तेस्रो विकेटका लागि एक सय ६६ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याए । बोहोराले ५९ बलमा ६५ रन बनाए । दीपकप्रसाद डुम्रे र दीपेश कँडेलले पाँचौँ विकेटका लागि ९१ रनको साझेदारी गरे । दीपकप्रसादले ४४ बलमा ६९ रन जोडे ।