३ प्रश्न

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

कोसी प्रदेशको राजनीतिक संकटलाई कसरी हेर्नुभएको छ ?
कोसीमा सुरुदेखि नै राजनीतिक दलहरूले विवेक प्रदर्शन गर्न नसक्दा संघीयतासम्बन्धी प्रश्न कायमै रह्यो । प्रदेशमा छोटो समयमा पटकपटक मुख्यमन्त्री फेरिए । लामो संघीय अभ्यासपछि देखिनुपर्ने राजनीतिक अभ्यास अहिलेको छोटो अवधिमै देखियो । कोसीमा परम्परागत जातीय, धार्मिक या सांस्कृतिक पहिचानलाई आधार मान्ने कि प्राकृतिक पहिचानलाई भन्ने विषयमा विवादै रह्यो ।

मधेसमा दलहरूबाट सामूहिक विवेक प्रदर्शन भएकाले विवाद उठेन । तर, कोसीमा त्यस्तो विवेक देखिएन । यो नै कोसीको द्वन्द्वको मुख्य कारण हो । अहिले कोसीको राजनीतिक जटिलताले प्राप्त उपलब्धिमाथि नै प्रश्न उठाउने खतरा बढेको छ । कोसीलाई राजनीतिको प्रयोग भूमि बनाउने प्रयास भइरहेको छ । यदि, कुनै प्रदेशमा गभर्नर शासनको सुरुवात भयो भने त्यो कोसी प्रदेशबाटै हुने सम्भावना देखिन्छ । 

माओवादीलाई नेतृत्व दिँदा समस्या समाधान होला त ? 
सम्बन्धित दलहरूमा मुख्यमन्त्रीका आकांक्षी धेरै छन् । यस्तोमा यो वा त्यो दलबाट अमूक नेता मुख्यमन्त्री बने पनि त्यो प्रदेशका लागि केही हुनेछैन । केवल ‘आया राम गया राम’को अवस्था मात्र हुनेछ । एमालेलगायत सबै दलले उच्चतम विवेक प्रयोग गरे भने प्रदेशको राजनीतिलाई ट्र्याकमा ल्याउन असम्भव नै भने छैन । 

एमाले र कांग्रेसको शेखर समूह मिलेर सरकार बन्न कति सम्भव देख्नुहुन्छ ?
एकअर्काको नजिक बन्नुसम्म त ठिकै हो । तर, संसदीय राजनीतिमा एउटा दल र अर्को दलको एउटा गुट वा समूह मिलेर सरकार नै बनाउने भन्ने सम्भावना चाहिँ हुँदैन । 

सुझावित समाचार