विद्यालय नियमित आउने वातावरण बनाइराख्न र बीचैमा पढाइ छाड्ने प्रवृत्ति रोक्न मकवानपुरको एक विद्यालयले बिहीबार एक सय १५ जना विद्यार्थीलाई साइकल प्रदान गरेको छ । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका– ४ मसिनेमा रहेको पशुपति माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई साइकल वितरण गरेको हो ।
बिहीबार विद्यालय परिसरामा आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विद्यार्थीलाई साइकल वितरण गरिन् । उनले विद्यालयले विद्यार्थीका लागि साइकल वितरण गरेर प्रशंसनीय काम गरेको उल्लेख गर्दै बीचैमा विद्यालय छाड्ने समस्या केही हद भए पनि यस अभियानले रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी भर्ना बढाउने र टिकाइराख्नका लागि प्रदेश सरकारकारले पनि सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरिन् ।
विद्यालयले मनहरी गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा विद्यार्थीका लागि साइकल खरिद गरेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिए । उनले ४ नम्बर वडाका वडाध्यक्ष प्रकाश थापाको अगुवाइमा प्राप्त १० लाख रुपैयाँ बजेटबाट साइकल वितरण गरेको बताए । प्रधानाध्यापक आचार्यले विद्यालय आउजाउ गर्न एक घन्टाभन्दा बढी पैदल हिँड्नुपर्ने बाध्यता भएका विद्यार्थीका लागि यसबाट सहजता पुग्ने विश्वास व्यक्त गरे ।