विद्यालय नियमित आउने वातावरण बनाइराख्न र बीचैमा पढाइ छाड्ने प्रवृत्ति रोक्न मकवानपुरको एक विद्यालयले ११५ विद्यार्थीलाई साइकल प्रदान गरेको छ।
जिल्लाको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा रहेको पशुपति माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई साइकल वितरण गरेको हो। बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विद्यार्थीलाई साइकल वितरण गरेकी हुन्।
उनले विद्यालयले विद्यार्थीका लागि साइकल वितरण गरेर प्रशंसनीय काम गरेको उल्लेख गर्दै बीचैमा विद्यालय छाड्ने समस्या केही हदसम्म भए पनि यस अभियानले रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्। ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यार्थी भर्ना बढाउने र टिकाइराख्नका लागि प्रदेश सरकारले पनि सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरिन्।
विद्यालयले वडा नम्बर ४ को आर्थिक सहयोगमा विद्यार्थीहरूका लागि साइकल खरिद गरेको प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिए। उनले ४ नम्बर वडाका वडाध्यक्ष प्रकाश थापाको अगुवाइमा प्राप्त १० लाख रुपैयाँ बजेटबाट साइकल वितरण गरेको बताए।
प्रधानाध्यापक आचार्यले विद्यालय आउजाउ गर्न एक घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने बाध्यता भएका विद्यार्थीहरूका लागि यसबाट सहजता पुग्ने विश्वास व्यक्त गरे।