मधेशमा एमालेको आकर्षण देखेर कांग्रेस–माओवादी आत्तिए : ओली

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण

एमाले मधेश प्रदेश अधिवेशन सुरु

एमाले अध्यक्ष केपी ओलीले मधेश प्रदेशमा आफ्नो पार्टीप्रतिको आकर्षण देखेर कांग्रेस र माओवादी आत्तिएको बताएका छन् । बुधबार जनकपुरधाममा एमाले मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले ०७४ को निर्वाचनमा एमालेलाई मधेश प्रवेश गर्न नदिए पनि ०७९ को निर्वाचनमा मधेशकै ठूलो पार्टी बनेको बताए ।

‘०७४ को निर्वाचनमा हामीलाई मधेश प्रवेश गर्न दिएनन् । तर, ०७९ को निर्वाचनमा मधेशको नम्बर एक पार्टी बनियो । तर, अहिले पनि हामीसँग सरकार बनाउने आवश्यक सिट छैन । २५ सिटले सरकार बन्दैन । त्यसकारण अगामी निर्वाचनमा ६० सिट ल्याउने गरी तपाईंहरू तयारी गर्नुस्,’ ओलीले भने । एमालेको सरकार नबनेसम्म मधेशको विकास र समृद्धि नहुने उनको भनाइ थियो । पार्टीले लिएको ‘मिसन– ०८४’ लाई मध्यनजर गर्दै त्यसको तयारीमा अहिलेदेखि नै लाग्न उनले निर्देशनसमेत दिए । 

ओलीले कम्युनिस्ट–कम्युनिस्ट फुटाउने, कम्युनिस्ट सरकार ढालेर दक्षिणपन्थीको पाउमा लगेर बुझाउने, विकासको काम रोक्ने, सुशासन खल्बलाउने काम भइरहेको टिप्पणी गरे । एमाले नेतृत्वको सरकार हुँदा मुलुकको आर्थिक वृद्धि दर आठ प्रतिशत रहेको, १८ प्रतिशत युवाको वैदेशिक रोजगारमा जाने लहर कम भएको थियो उनले दाबी गरे ।

‘अहिलेको सरकारप्रति सर्वसाधारणको रहर नै छैन, यो असफल सरकार हो,’ उनले भने, ‘मधेशी जनतलाई सधैँ भ्रममा राखियो । तर, अब त्यो भ्रम टुटिसकेको छ । अब मधेशी जनतालाई विकास र समृद्धि चाहिएको छ । त्यो एमाले नेतृत्वको सरकारले मात्रै गर्न सक्छ ।’ उनले एमाले कार्यकर्तालाई अनावश्यक मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाए ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको बहुमतको सरकार निर्माण नभएसम्म मुलुकमा राजनीतिक अस्थिता नआउने दाबी गरे । उनले पार्टीमा गुट–उगुट नरहेको बताउँदै प्रदेश नेतृत्व चयनमा केन्द्रबाट कुनै हस्तक्षेप नहुने बताए । महासचिव शंकर पोखरेलले क्षेत्रीय पार्टीले प्रदेश सरकारको नेतृत्व गरिरहे पनि मधेशलाई अस्तव्यस्त बनाएको आरोप लगाए । 

बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशन बिहीबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा अधिवेशन भइरहेको छ । अधिवेशनमा एक हजार २७ जना प्रतिनिधि सहभागी छन् । एमाले मधेश अध्यक्षका आकांक्षी अझै बाहिर खुलेका छैनन् । अध्यक्ष ओलीले सर्वसम्मति रूपमा नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । बन्दसत्रमा केन्द्रीय नेताहरूले प्रदेश नेतृत्वका लागि सर्वसम्मतिको प्रयास गर्ने र सहमति नजुटे मात्रै निर्वाचन प्रक्रियाबाट नेतृत्वको चयन हुने एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले जानकारी दिए । मधेश प्रदेश अध्यक्षमा राजकिशोर यादव, लक्ष्मीनारयण यादव, राजनारायण यादव, चन्देश्वर मण्डललगायतको नाम चर्चामा छ । 
 

See More On

सुझावित समाचार