आइसिसी एकदिवसीय विश्वकप : पाकिस्तानको कीर्तिमानी जित

सन् २०११ मा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध ३२७ रन बनाएको थियो, मंगलबार श्रीलंकालाई हराउने क्रममा पाकिस्तानले ३४५ रनको लक्ष्य पूरा गर्दै जित निकाल्यो

बुधबार, २४ असोज, २०८०
डिजिटल संस्करण

आजको खेल भारत र अफगानिस्तान दिउँसो ०२: १५ बजे

पाकिस्तानले आइसिसी एकदिवसीय विश्वकपमा कीर्तिमानी जित निकालेको छ । मंगलबार हैदराबादमा भएको विश्वकपको आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको हो । ओपनर अब्दुल्लाह साफिक र चौथो नम्बर क्रिजमा आएको मोहम्मद रिजवानको सानदार प्रदर्शनसँगै पाकिस्तानले दश बलअघि जित निकालेको हो । पाकिस्तानले तीन सय ४५ रनको लक्ष्य ४८.२ ओभरमा चार विकेट गुमाउँदै भेट्टाएको थियो । 

विश्वकप इतिहासमा तीन सय ४४ रनको विशाल लक्ष्य पूरा भएको यो पहिलोपटक हो । यसअघि सन् २०११ मा आयरल्यान्डले सर्वाधिक ठूलो स्कोर भेट्टाएको थियो । इंग्ल्यान्डविरुद्ध तीन सय २७ रनको विजयी लक्ष्य आयरल्यान्डले ४९.१ ओभरमा सात विकेट गुमाउँदै पूरा गरेको थियो । बेंगलुरुमा भएको खेलमा इंग्ल्यान्डले सुरुवाती ब्याटिङ गर्दै तीन सय २७ रन बनाएको थियो । आयरल्यान्डले पाँच बलअघि जित सुनिश्चित गरेको थियो । केभिन ओ ब्रायनले ६३ बलमा आक्रामक ब्याटिङ गर्दै एक सय १३ रन बनाएको थियो । 

  रिजवान र अब्दुल्लाहको कीर्तिमानी सतक
पाकिस्तानको इनिङ्समा ओपनर अब्दुल्लाह साफिक र चौथो नम्बर क्रिजमा आएको मोहम्मद रिजवानले शतकीय इनिङ्स खेलेका थिए । २३ वर्षीय अब्दुल्लाहले एक सय १३ रन बनाए । अब्दुल्लाहको करिअरकै यो पहिलो शतक हो । रिजवानले अविजित एक सय ३१ रन बनाएका हुन् । उनले ९७ बलमा शतक बनाएका थिए । घाइते भए पनि रिजवानले क्रिज नछाडी टोलीको जित तय गरे । उनी बारम्बार मैदानमा ढल्न पुगेका थिए । तर पनि क्रिज छाडेनन् । यो रिजवानको करिअरको तेस्रो र विश्वकपको पहिलो शतक रह्यो । व्यक्तिगत उच्च स्कोर पनि हो । यसअघि सन् २०१९ मा अस्ट्रेलियाविरुद्धको शृंखलामा दुई शतक बनाएका थिए । 

तेस्रो विकेटका लागि रिजवान र अब्दुल्लाहले एक सय ७६ रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि रिजवानले साउद साकिलसँग ९५ रनको साझेदारी गरेका हुन् । साउद ३१ रन बनाएर आउट भए । यसअघि ओपनर इमाम उल हक र कप्तान बाबर आजम ३७ रन बनाउँदा आउट भएपछि पाकिस्तान दबाबमा आएको थियो । तर, रिजवान र अब्दुल्लाहले उत्कृष्ट इनिङ्स खेल्दै टोलीको जित सुनिश्चित गरेका हुन् । यसअघि पाकिस्तानले नेदरल्यान्ड्सलाई पहिलो खेलमा ८१ रनले हराएको थियो । श्रीलंका दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको हो । जितपछि पाकिस्तान दुई खेलबाट चार अंकसहित दोस्रो स्थानमा छ । 

साबिक विजेता इंग्ल्यान्ड विजयी
साबिक विजेता इंग्ल्यान्डले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पहिलो जित निकालेको छ । मंगलबार हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा इंग्ल्यान्डले बंगलादेशलाई एक सय ३७ रनले पराजित गरेको हो । जितसँगै इंग्ल्यान्डले दुई खेलबाट २ अंक जोडेको छ । पराजित बंगलादेशको पनि समान खेलबाट २ अंक नै छ । पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो । इंग्ल्यान्ड भने पहिलो खेलमा न्युजिल्यान्डसँग ९ विकेटले पराजित हुन पुगेको थियो । 

इंग्ल्यान्डले प्रस्तुत गरेको तीन सय ६५ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा सबै विकेट गुमाउँदा दुई सय २७ रनमा समेटिएको थियो । बंगलादेशका लिटन दासले सर्वाधिक ७६ रन बनाएका थिए । दासले ६६ बलमा ७ चौका र २ छक्का प्रहार गरेका हुन् । मुस्फिकर रहिमले ६४ बलमा ४ चौकासहित ५१ रनको योगदान गरे । यसैगरी, तोविद हृदयले ३९, तस्किन अहमदले १५, मेहदी हसनले १४ र सोरिफुल इस्लामले १२ रन जोडेका थिए । पाँचौँ विकेटका लागि दास र रहिमले ७२ रनको साझेदारी गरे । इंग्ल्यान्डका रिस टोप्लीले सर्वाधिक चार विकेट लिएका थिए । उनले १० ओभरमा एक मेडनसहित ४३ रन मात्रै खर्चिएका हुन् । क्रिस वोक्सले २ विकेट हात पारे । 

 मलानको शतकीय इनिङ्स
ओपनर डेविड मलानले सानदार शतकीय इनिङ्स खेलेपछि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले विशाल लक्ष्य बनाएको थियो । इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय ६४ रनको योगफल तयार पारेको हो । मलानले एक सय ७ बलमा १६ चौका र ५ छक्कासहित एक सय ४० रनको इनिङ्स खेले । तेस्रो नम्बर क्रिजमा आएका जो रुटले ६८ बलमा ८ चौका र एक छक्काको मद्दतमा ८३ रन तथा ओपनर जोनी बेयरेस्टोले ५९ बलमा ८ चौकासहित ५२ रनको योगदान गरेका थिए । 

कप्तान जोस बटलर र ह्यारी ब्रुक्सले समान २०, क्रिस वोक्सले १४ तथा साम करन र आदिल रासिदले समान ११ रन बनाएका हुन् । मलानले दोस्रो विकेटका लागि रुटसँग मिलेर एक सय ५१ रनको बलियो साझेदारी गरेका थिए । मलानले पहिलो विकेटका लागि बेयरेस्टोले एक सय १५ रनको साझेदारी गरेका हुन् । बंगलादेशका मेहदी हसनले सर्वाधिक चार विकेट लिए पनि ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन् । 

 मेन्डिस र सदिराको शतक 
कुशल मेन्डिस र सदिरा समराविक्रमाको सानदार शतकमा श्रीलंकाले पाकिस्तानविरुद्ध तीन सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर ब्याटिङ गरेको श्रीलंकाका ओपनर कुशल परेरा चार बल खेल्दै शून्यमा पेभिलियन फर्किएपछि मध्यक्रमका ब्याट्सम्यानले सानदार प्रदर्शन गरेका थिए ।

कुशल र सदिराले शतक बनाउँदा अर्का ओपनर पाथुम निसंकाले अर्धशतकीय इनिङ्स खेलेका थिए । मेन्डिसले ७७ बलमा आक्रामक ब्याटिङ गर्दै एक सय २२ रन बनाए । मेन्डिसले १४ चौका र ६ छक्का प्रहार गरेका थिए । सदिराले ८९ बलमा ११ चौका र दुई छक्कासहित एक सय ८ रन बनाएका हुन् ।

निसंकाले ५१ रन बनाए । दोस्रो विकेटका लागि मेन्डिस र निसंकाले ९५ बलमा एक सय २ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि मेन्डिस र समराविक्रमाले ६९ बलमा एक सय ११ रनको बलियो साझेदारी गरेपछि श्रीलंका बलियो स्कोरतर्फ अगाडि बढेको थियो । धनञ्जय डी सिल्भाले २५ र कप्तान दासुन सनकाले १२ रनको योगदान गरे । पाकिस्तानका हसन अलीले चार विकेट लिएका थिए । हरिस राउफले दुई तथा साहिन शाह अफ्रिदी, मोहम्मद नवाज र सादव खानले समान एक विकेट लिएका हुन् । 

भारतले फर्कायो पाकिस्तानी टिभी प्रस्तोता
जारी विश्वकपमा रिपोर्टिङ गर्न गएका पाकिस्तानी एक महिला एंकरले भने विवादास्पद पुरानो ट्विटका कारण भारत छाड्नुपरेको छ । जारी विश्वकपमा रिपोर्टिङ गर्न भारत पुगेकी जैनव अब्बासले सोमबार भारत छाडेकी छिन् । उनले नौ वर्षअघि भारतविरोधी दुई ट्विट गरेकी थिइन् । सोही ट्विटका कारण अहिले निकै विवाद भएको छ । 

सुरक्षाका कारण उनलाई अहिले स्वदेश पठाएको बताइन्छ । उनलाई भारतमै राख्दा हिंसा भड्कन सक्ने पनि बताएको छ । उनी मंगलबार हैदराबादमा भएको पाकिस्तान र श्रीलंकाबीचको खेल एंकरिङ गर्ने तयारीमा थिइन् । तर, विवाद बढ्ने देखिएपछि जैनवलाई स्वदेश फर्काइएको छ । उनले पाकिस्तानको खेलमा एंकरिङ गर्न जिम्मेवारी पाएकी थिइन् । पाकिस्तान पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्दा राजीव गान्धी अन्तर्राष्ट्रिय मैदानमा उपस्थित भइन् । उनले पाकिस्तानले खेल्ने चेन्नई, बेंगलुरु र अहमदाबादमा यात्रा गर्ने अनुमति पनि पाएकी थिइन् । 

वकिलले उजुरी गरेका थिए
भारतीय वकिल विनित जिन्दलले जैनवको विवादास्पद ट्विटलाई लिएर उजुरी गरेका थिए । उनको आरोप छ, ‘जैनवले सामाजिक सञ्जालमा हिन्दू र भारतको अपमान गरेकी छिन् ।’ जिन्दलले नौ वर्ष पुरानो जैनवका आधिकारिक दुई ट्विटको स्क्रिनसट लिएका थिए । वकिल जिन्दलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतीय क्रिकेट बोर्ड र होम मिनिस्ट्रीलाई पत्र लेख्दै जैनवलाई देशनिकाला गर्न माग गरेको छु,’ उनले भनेका छन् । ‘अतिथि देवो भवः’ उनका लागि हो, जो देश र हिन्दूको सम्मान गर्छन् । देशको विरुद्ध बोल्नेलाई यहाँँ स्वागत गर्नुहुँदैन,’ जिन्दलले भनेका छन् । सुरक्षाका कारण भारत छाडेकी जैनव संयुक्त अरब इमिरेट्सको राजधानी दुबई पुगेकी छिन् । साइबर क्राइम र आतंकबढ्ने भए पछि जैनव दुबई पुगेकी हुन् । पाकिस्तानी टेलिभिजन कार्यक्रम प्रस्तोता जैनवले युएईको घरेलु लिगमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् । 

भएको के थियो ? 
जैनवले नौ वर्षअघि दुई ट्विट गरेकी थिइन् । जसको अहिले निकै विरोध भइरहेको छ । उनले एक ट्विटमा लेखेकी छिन्, ‘१२० करोड जनता एक ढंगले तीव्र गतिको बलर उत्पादन गर्न सकेका छैनन् । शुद्ध शाकाहारी हो, थोरै मासु खान सुरु गर्नुस्,’ तेन्दुलकर नाम गरेको ट्विटमा रिप्लाई गर्दै जैनवले लेखेकी थिइन् । उनले दोस्रो ट्विटमा हिन्दू धर्मकी देवी काली माताको प्रसंग जोड्दै मजाक गरेकी थिइन् । 
 

सुझावित समाचार