एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई भव्य स्वागत

बुधबार, २४ असोज, २०८०
डिजिटल संस्करण

चीनको हाङझाउमा आयोजना भएको १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियललाई मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । विजयी कराँते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा ठूलो मात्रामा समर्थक र पदाधिकारीको उपस्थिति रहेको थियो । यद्यपि, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को व्यवस्थापन निकै फितलो रह्यो ।

राखेपका पूर्वसदस्यसचिव युवराज लामाले कराँतेमा ऐतिहासिक पदक जिताएकी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई गाडीमा राखेर सामान्य र्यालीसहित राखेप प्रांगणमा पुर्याएका थिए । एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये कराँते खेलाडी एरिकाले रजत र कबड्डी महिला टोलीले कांस्य पदक प्राप्त गरेको थियो । नेपालबाट कुल तीन सय ५३ खेलाडीले सहभागिता जनाएका थिए ।

सन् १९९८ पछि पहिलोपटक नेपालले व्यक्तिगत स्पर्धामा रजत पदक जितेको हो । त्यति वेला तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जिताएकी थिइन् । सन् २००६ पछि नेपालले पहिलोपटक एकभन्दा बढी पदक जितेको हो । सन् २००२ र २००६ मा नेपालले तेक्वान्दोमा समान ३ कांस्य पदक जितेको थियो ।

राखेपले खेलाडीहरूलाई विमानस्थलबाट गौशाला, चाबहिल, नारायणगोपाल चोक, लैनचौर, केशरमहल, दरबारमार्ग, भद्रकाली हुँदै दशरथ रंगशालासम्म र्याली गर्ने योजना बनाएको थियो । तर, इजरायलमा हमासको आक्रमणबाट १० विद्यार्थीको मृत्यु भएपछि नेपाल सरकारले मंगलबार शोक दिवस घोषणा गरेको थियो । जसका कराण राखेपले औपचारिक कार्यक्रम स्थगन गर्नुपर्यो । 

सुझावित समाचार