हवाई प्रतिबन्धबारे नोभेम्बरमा निर्णय हुन्छ : युरोपेली राजदूत

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले नेपाललाई युरोपियन क्षेत्रमा उडानमा लगाएको रोकका विषयमा निर्णय हुने बताएकी छिन् । सोमबार सञ्चारकर्मीसँग इयू दूतावासमा आयोजित अन्तरक्रियामा लोरेन्जोले युरोपियन युनियनले नेपाली जहाजहरूलाई कालोसूचीमा राखेको नभएर हवाई सुरक्षाका विषयमा निर्णय लिएको बताइन् ।

‘सेप्टेम्बरमा युरोपियन कमिसनबाट विज्ञहरूको समूहले मूल्यांकन गरेका छन् । युरोपियन कमिसनका मात्र नभए अन्य विज्ञहरूसहितको हवाई सुरक्षा समिति गठन भएको छ । त्यसको बैठक नोभेम्बरको मध्यमा बस्नेछ,’ उनले भनिन्, ‘त्यो कमिटीले लिने निर्णयपछि मात्रै यसबारेमा थप भन्न सक्छु ।’ 

राजदूत लोरेन्जोले नेपालमा संघीयता कार्यान्वयनमा सरकारलाई सहयोग गर्ने विषय इयूको प्राथमिकतामा रहेको बताइन् । ‘धेरै देशमा संघीय सरकार र स्थानीय सरकारबीचमा तनाव हुन्छ । यो नेपालमा मात्र होइन, अभ्यास गर्दै जाँदा विषय समाधान हुन्छन्,’ उनले भनिन् । नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ मा विकासशीलतर्फ स्तरोन्नति हुँदै गरेको सन्दर्भमा उनले अन्तर्राष्ट्रिय समुदायबाट नेपालले पाउँदै आएको सुविधा निरन्तरताका लागि गृहकार्य गर्नुपर्ने सुझाव पनि दिइन् ।

इयूले नेपालमा हरित अर्थतन्त्र, पूर्वाधार ग्याप हटाउन मद्दत गर्ने उनको भनाइ थियो । मानवपुँजी (गुणस्तरीय शिक्षा)मा सहयोग गर्ने तथा नेपालको सुशासन र संघीयता कार्यान्वयनको एजेन्डालाई इयूले सहयोग र समर्थन गर्ने प्राथमिकतामा राखेको राजदूत लोरेन्जेले सुनाइन् । 

See More On

सुझावित समाचार