चार्टर जहाज पठाएर नेपालीको उद्धार गर्न सांसदहरूको माग, उद्धारमा ढिलाइ गरेको गुनासो

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

सांसदहरूले तत्काल चार्टर जहाज इजरायल पठाएर फसेका नेपालीको उद्धार गरी स्वदेश ल्याउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले हमासको आक्रमणबाट इजरायलमा मृत्युवरण गरेका १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरे । उनीहरूले सम्पर्कविहीनको खोजी, घाइतेको उपचार र उद्धारको माग गरे भने मृतकको शव तुरुन्त नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । केही सांसदले परराष्ट्रमन्त्रीलाई चार्टर जहाजसँगै इजरायल पठाउनुपर्ने धारणासमेत राखेका थिए । 

सांसदहरूले पश्चिमी इजरायलमा अलपत्र नेपालीको उद्धारमा सरकारले ढिलाइ गरेको भन्दै विरोध जनाए । उनीहरूले घटना भएको तीन दिनसम्म पनि उद्धारका लागि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना गरे । छिमेकी देशहरूले विशेष विमान पठाएर आफ्ना नागरिकको उद्धार गरिसकेको भन्दै नेपालले पनि यस्तै प्रकृतिको पहल गर्न सुझाव दिएका हुन् । 

कांग्रेस सांसद अर्जुननरसिंह केसीले हमास आक्रमणमा मारिएका १० जना नेपालीको शव तुरुन्त काठमाडौं ल्याउन माग गरे । स्वदेश फर्काउन नेपालीहरूले गुहार गरिरहेको भन्दै केसीले इजरायलमा रहेका नेपालीको यकिन गरी घाइते भएकालाई उपचारको व्यवस्था र नेपाल फर्काउनको निम्ति सरकारले तत्कालै युद्धस्तरमा काम गर्नुपर्ने बताए । पछिल्लो घटनाक्रम कुन खाले विकसित भइरहेको छ र कति नेपाली विस्थापित छन् भन्ने विवरण सरकारले संसदमा पेस गर्नुपर्ने उनको माग थियो । सांसद अञ्जनी श्रेष्ठले इजरायल घटनामा मृत्यु भएकाहरूको परिवारलाई मलमपट्टी लगाउने, घाइते उद्धार र अन्य नागरिकलाई पनि यथाशक्य स्वदेश फर्काउन माग गरिन् । 

एमाले सांसद गोकुल बाँस्कोटाले इजरायलसँग दक्षिण एसियामै नेपालको पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै अहिलेको घटनामा सरकारको कूटनीतिक कमजोरी छताछुल्ल भएको बताए । बाँस्कोटाले दक्षिणी क्षेत्र मात्र होइन अन्य क्षेत्रमा पनि लडाइँ सुरु भएको भन्दै उनले सुरक्षित रूपमा नेपाल फर्काउने प्रबन्ध गर्न माग गरे । सांसद अमरबहादुर रायमाझीले अलपत्र परेका नेपालीको तुरुन्त उद्धारको व्यवस्था गर्न माग गरे । सांसद अमृतलाल राजवंशीले घटनास्थलमा अलपत्र परेका नेपालीको उद्धार गरी स्वदेश फर्काउन माग गरे । 

सांसद आश्माकुमारी चौधरीले बेपत्ता नागरिकको यथाशीघ्र खोजी, घाइतेको उपचार र स्वदेश फर्काउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । ईश्वरबहादुर रिजालले नेपालीहरू इजरायलमा बंकरभित्र उद्धार र मृत्यु पर्खेर बसेको भन्दै मृत्युको मुखमा पुगेका नेपालीलाई राज्य छ भन्ने अनुभूति गराउन माग गरे । ईश्वरी घर्तीले उद्धारमा भइरहेको ढिलाइले सरकार र नेपाली राजदूत कूटनीतिक रूपमा कमजोर देखिएको टिप्पणी गरिन् । उर्मिला थेबेले हराएका व्यक्तिको खोजी, त्यहाँ रहेका विद्यार्थी र अन्य नेपालीको उद्धार कार्यमा सरकारले ढिलाइ गरेकोमा भत्र्सना गरिन् । बंकरमा लुकेर बस्न बाध्य नेपालीहरूको उद्धारमा तत्काल लाग्न उनले सरकारको ध्यानाकर्षण गराइन् । 

ऋषिकेश पोखरेलले घाइते र बेपत्तासहित सबै नेपालीको सुरक्षाको प्रबन्ध मिलाउन अनुरोध गरे । एकनाथ ढकालले युद्ध घोषणा भइसकेको र  नेपाली आतंकित बनेको भन्दै सरकारले तदारुकता नदेखाएको टिप्पणी गरे । प्रभावकारी ढंगबाट नेपालीको उद्धार गर्न उनले माग गरे । 

माओवादी उपमहासचिव जनार्दन शर्माले बेपत्ताको खोजी र घाइतेको शीघ्र उपचारका लागि सरकारसँग माग गरे । युद्धको घोषणा भइसकेपछि संकटमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि विशेष पहल गर्न अनुरोध गरे । अप्ठेरोमा जीवन बिताइरहेकालाई सम्पर्कमा ल्याएर कूटनीतिक पहलमार्फत यथाशीघ्र कार्य अगाडि बढाउन र मृतकको शव नेपाल ल्याउन उनले माग गरे । युद्धरत क्षेत्रमा शान्ति स्थापनाका लागि नेपालको तर्फबाट आफ्नो भूमिका निभाउन सरकारको ध्यानाकर्षण गराए । 

सांसद अमनलाल मोदीले बेपत्ता विद्यार्थीको खोजी र कूटनीतिक पहलबाट उद्धार गर्न माग गरे । उर्मिला माझीले इजरायलमा जारी युद्ध लम्बिन सक्ने भएकाले प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको उद्धार गर्न प्रभावकारी कूटनीतिक समन्वय र पहल गरी नेपालीहरूलाई स्वदेश फिर्ता गराउन वा सुरक्षित स्थानमा स्थानान्तरण गर्न, घाइतेको सहज उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरिन् ।

छिरिङल्हामु लामा तामाङले मृतकको शव तत्काल नेपाल ल्याउने प्रबन्ध मिलाउन सरकारसँग माग गरिन् । घाइतेको उद्धार र उपचारका लागि इजरायली सरकारसँग समन्वय गर्न र जोखिममा रहेका अन्य विद्यार्थीलाई स्वदेश फर्काउन उनले सुझाइन् । एकढिक्का भएर सबैले सरकारलाई साथ दिनुपर्ने उनको भनाइ थियो । 

रास्वपाका असिम शाहले इजरायलमा १० जना नेपाली मारिनुमा देशभित्रका हमासहरू पनि जिम्मेवार रहेको टिप्पणी गरे । ‘देशमा सीमित मान्छेको रजगज छ । देशको स्रोत–साधनमा यिनै हमासको हालीमुहाली छ । देशको कानुन यिनै हमासका लागि छ । देशभित्रका हमासको अत्याचार सहन नसकेर युवा विदेश जान्छन् । उता अर्काे हमासले ज्यान लिन्छ,’ उनले भने । 

सुझावित समाचार