उडान तय भएका २४ कामदारलाई इजरायल नजान सरकारको अनुरोध

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण

सरकारले बुधबार उडान तय भएका २४ कामदारलाई इजरायल नजान अनुरोध गरेको छ। 

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनाले भिसा प्राप्त गरेर उडान समयसमेत तय भइसकेको अवस्थामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको असामान्य अवस्थाका कारण त्यहाँ नजान भनेको हो। २४ सहायक कामदारको उडान बुधबार बिहान १ बजे तय भएको थियो। 

श्रम मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भनेको छ, ‘२४ जना सहायक कामदारको उडान तालिका तय भएकोमा हाल इजरायल र प्यालेस्टाइनबीच जारी युद्धको अवस्थामा इजरायलमा लर्न अफ अर्न कार्यक्रमअन्तर्गत कृषि क्षेत्रमा काम गर्न गएका १० जना नेपाली नागरिकलगायत धेरै संख्यामा इजरायली र अन्य नागरिकहरूकोसमेत जीवन क्षति भएको कारण इजरायलको हालको संकटपूर्ण अवस्थामा उडान तालिकाबमोजिम उडान प्रतीक्षामा रहेका तपशीलबमोजिमका २४ जना नेपाली कामदारहरूलाई इजरायलको यात्रा नगर्न एवं इजरायलको शान्ति सुव्यवस्था सामान्य भएपश्चात् वैदेशिक रोजगारसम्बन्धी थप कारबाही अगाडि बढाउने भनी यस मन्त्रालयको निर्णय जानकारीको लागि अनुरोध छ।’

सुझावित समाचार