एकपटक स्वामी रामतीर्थ अमेरिकाको सन्फ्रान्सिस्कोमा थिए । उनको नामवरपर निकै फैलिसकेको थियो । एक दिन एनी नामकी एक महिला उनको निवासमा आइन् र रुँदै भनिन्- स्वामीजी, प्राणघातक रोगका कारण मेरो एक मात्र छोराको ज्यान गयो । हजुर सिद्धपुरुष हुनुहुन्छ । मेरो छोरालाई पुनर्जीवन दिनुहोस्, प्रभु !
स्वामीजीले भने— माता, धैर्य गर्नुस्, म तपाईंको छोरालाई फिर्ता ल्याइदिन्छु । र, जीवनमा दुःख भगाएर सुख प्राप्त गर्ने मूल मन्त्र पनि दिनेछु । तर, त्यसका लागि तपाईंले केही मूल्य चुकाउनुपर्नेछ । एनीले भनिन्— मसँग धनसम्पत्तिको कमी छैन । हजुरले जति भन्नुहुन्छ, म त्यति मूल्य तिर्न तयार छु । स्वामीले भने– रामको परमानन्द साम्राज्यमा धनसम्पत्तिको कुनै कमी छैन । राम योभन्दा पनि ठूलो मूल्य चाहन्छन् ।
एनीले हात जोडेर भनिन्– स्वामीजी, म जस्तोसुकै मूल्य चुकाएर पनि त्यो आनन्द हासिल गर्न चाहन्छु । स्वामीले ‘रामको साम्राज्यमा आनन्दको कमी कहाँ छ ?’ भन्दै ती महिलालाई एक गरिब बस्तीमा लिएर गए । त्यहाँको अनाथ अश्वेत बालकको हात ती महिलाको हातमा दिँदै भने– ल लिनुहोस् माता, तपाईंको छोरा । यसलाई आफ्नो काखमा लिएर ममता खन्याउनुहोस् । यसैलाई छोरा ठानेर आफ्नो प्रेम दिनुहोस् । तपाईंले यसलाई जति माया ममता दिनुहुनेछ, तपाईंको आनन्द उति नै बढ्दै जानेछ ।
स्वामीजीका शब्दमा विश्वका समस्त उपेक्षित, मातृहीन र भोकानांगाप्रति अपार स्नेह प्रकट भइरहेको थियो । अर्काको दुःख अपनाएर त्यसैबाट सुखानुभूति गर्ने उनको महान् भावना बुझेर ती महिला दंग परिन् । धुलोमैलो अश्वेत बालकलाई आफ्नो छातीमा टाँसेर स्वामीजीलाई धन्यवाद दिँदै खुसीसाथ ती महिला बिदा भइन् ।