हात्ती भगाउने ‘नाइट ड्युटी’मा बाहुनडाँगीवासी

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

भारतबाट नेपाल आउने हात्तीको झुन्डले सधैँजसो मेचीनगरको साबिक बाहुनडाँगी (हाल मेचीनगर वडा नम्बर १, २, ३, ४, ५) का तीन हजार बिघा खेतमा लगाइएका बाली खान्छ, कुल्चिन्छ । त्यही भएर यहाँका बासिन्दा हात्ती रुँग्न रातभर जाग्राम बस्छन् 

हात्तीबाट हुने क्षतिको क्षतिपूर्ति कति ?
- वन्यजन्यु भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० अनुसार हात्ती मानव बस्तीमा प्रवेश गरी नेपाली नागरिकको मृत्यु भएमा : हकवालालाई १० लाख
- घाइते भएमा : २० हजारसम्म
- गम्भीर घाइते भएमा : दुई लाखसम्म (तर, औषधि उपचारमा दुई लाखभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको जुनसुकै अस्पतालमा आकस्मिक उपचार गराउँदा लागेको खर्च र त्सपछि सरकारी अस्पतालमा उपचार गराउदा लागेको सम्पूर्ण खर्च)
- अंगभंग भई शारीरिक रूपमा अशक्ति भएमा : एकमुस्ट पाँच लाख
- खेतको खाद्यान्न बालीमा क्षति पुगेमा खेतीको क्षेत्रफल र प्रकृति हेरेर बढीमा १० हजार उपलब्ध गराइन्छ । तर, एक मौसममा लगाइएको बालीको हकमा एकपटक र वर्षमा दुईपटकसम्म मात्र राहत उपलब्ध गराउने व्यवस्था छ ।

हात्ती रुँग्न मेची बगरमा बसेका किसान

मेचीनगर– ४ बाहुनडाँगीका ७२ वर्षीय मोहन खपांगीलाई हरेक दिन साँझको खाना खान हतार हुन्छ । साँझ ६ बजेसम्म धानखेत नपुग्ने हो भने हात्तीको बथानले धान सखाप पारिदिन्छ । त्यही भएर उनी नेपाल–भारत सीमाको मेची नदीको बगरछेउमै रहेको खेतमा साँझ ६ बजे पुग्छन् । बिहान ७ बजेसम्म खेतमै बास हुन्छ । अन्नबाली हात्तीबाट जोगाउन यसरी रातभर जाग्राम बसेको चार दशक नाघिसक्यो, उनको दैनिकी नै बनेको छ ।  

वर्षको पाँच महिना भारतबाट मेचीबगर हुँदै आउने हात्तीको झुन्ड छेक्न बाहुनडाँगीवासीले खेतनजिकै टुङ (मचान) बनाएका छन् । त्यही टुङमा बसेर रातभर हात्ती रुँग्न खपांगी । साबिक बाहुनडाँगीस्थित मेची नदीको बगरमा रहेको तीन हजार बिघा खेतीमा प्रत्येक वर्ष प्रत्यक्ष हात्तीले क्षति पुर्‍याउँछ । हात्ती रुँग्न मेची बगरस्थित विभिन्न ठाउँमा १७ वटा टुङ छन् । एउटा टुङमा २० जनासम्म अट्छन् । टुङबाहेक टहरा बनाएर पनि बस्ने गरेका छन् ।

मकै पाक्ने वेलामा जेठ र असार दुई महिना र धान खेती लगाएपछि भदौदेखि मंसिरसम्म बगरमा बसेर हात्ती छेक्नुपर्छ, होइन भने भारतबाट आउने हात्तीको झुन्डले बाली भित्र्याउन दिँदैन । ‘हात्ती छेक्न गतिलो लाइट हुन्छ न त हात्ती भगाउने अन्य सरसामानै । हात्ती भगाउने त हाम्रो दैनिकी नै भइसक्यो,’ हात्ती रुँग्न बिहीबार राति ९ बजे मेचीको ढिलमा भेटिएका खपांगीले भने, ‘कहिले हात्तीले जितेर सबै बाली खान्छ । कहिले हामीले जितेर बाली भित्र्याउँछौं ।’ रातभर जाग्राम बसेर हात्ती भगाउँदा पनि यसपटक तीनपटक खेतमा पसेर धान खाएको उनी बताउँछन् । 

भारतबाट नेपाल आउने हात्तीको झुन्डले सधैँजसो मेचीनगरको साविक बाहुनडाँगी (हाल मेचीनगर वडा नम्बर १, २, ३, ४, ५) का खेतमा लगाइएका बाली खान्छ, कुल्चिन्छ । नेपालतर्फ खेती भए पनि सीमावर्ती भारततर्फ जंगल छ । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार भारतको असामदेखिको हात्तीको हञ्जा यहाँ आउने गरेको हो । अहिले धानको सिजनमा हात्ती भगाउन दुईदेखि तीन सय स्थानीय रातभर खेतबारीमा हुन्छन् । तालिम प्राप्त २५ जनाको आरआरटी टिम पनि हात्ती धपाउन खटिन्छ ।

नयाँ पत्रिकाकर्मी बिहीबार राति मेची नदीको बगर पुग्दा स्थानीय बासिन्दा पाकेको धान बाली हात्तीबाट जोगाउन पैठेजोरी खेल्न तयार देखिन्थे । हातमा टर्च, झोलामा हात्ती तर्साउने माइकसहित मेची बगरमा भेला भएका उनीहरूको एउटै उद्देश्य थियो, हात्तीबाट पाक्नै लागेको धान जोगाउने । 

हात्ती छेक्न गएकामध्ये कतिपय हात्तीसँगै बगर–बगर कुदेर बालीमा पस्न दिँदैनन् भने कतिपय टुङमा बसेर रातभर रुङ्न । ‘रातभर टुङबाट टिन ठटाएर हात्ती लखेट्छौँ । रातभर हात्तीको ड्युटी गरेर दिउँसो सुत्छौँ । कहिले त ड्युटी बस्दाबस्दै बाली खान्छ,’ हात्ती लखेट्न बिहीबार राति मेचीबगरमा भेटिएका मेचीनगर– २ का कृष्ण कार्कीले भने । उनले बगरको दुई बिघा खेतमा धान लगाएका छन् । ‘हात्ती बगरमै भएका वेला लखेट्न सके बालीमा पस्दैनन् । तर, बालीमा पसेपछि लखेट्नै मुस्किल हुन्छ,’ उनले भने, ‘हात्ती टाढा छ भने बाँधमा बसेर लाइट बालेर र कराएर पनि लखेट्छौँ । पटाका पड्काउछौँ ।’ हात्ती भगाउन मेची नगरपालिले एउटा ट्रयाक्टर पनि जोहो गरिदिएको छ । 

विद्युतीय तारबारले पनि रोक्न सकेन हात्ती 
राष्ट्रिय प्रकृतिक संरक्षण कोषले हात्ती नियन्त्रणका लागि विश्व बैंकको आर्थिक सहयोगमा सीमावर्ती क्षेत्रमा नेपालतर्फ १७.१४ किलोमिटर विद्युतीय तारबार गरेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार मेचीनगर र इलामको रोङ– ६ को जिर्मलेदेखि मेचीनगर– ६ सम्म ०७२ मा सोलार फेन्सिङ तारबार गरिएको हो । तर, तारबारले हात्ती रोक्न सकेको छैन । ‘सुरुका दुई वर्ष त तारबारले हात्ती छेकेको थियो । अहिले हात्ती फेन्सिङसँग अव्यस्त भइसकेको छ,’ स्थानीय मोहन खपांगीले भने, ‘सुरुमा करेन्टसँग डराउने हात्ती अहिले सजिलै पस्न थाले । हात्तीको दाह्रामा करेन्ट नलाग्ने भएपछि दाह्राले हटाएर पस्न थालेको छ ।’ त्यसबाहेक तारबार ठाउँठाउँमा चुडिँदा झनै समस्या भएको छ । डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले सोलार फेन्सिङ तारबार मर्मतका लागि वार्षिक १० लाखसम्म बजेट उपलब्ध हुने गरेको छ । ‘जहाँ बिग्रेको छ त्यहीँ मर्मत गछौँ,’ उनले भनिन्, ‘फेरि हात्ती छिर्न थालेको छ भन्ने जानकारी आएको छ ।’

ऐलानी खेत हुनेले पाउँदैनन् राहत
बाहुनडाँगीका युवराज विश्वकर्माको मेची नदीछेउमै दुई बिघा खेत छ । पुस्तौँदेखि भोगचलन गर्दै आएको खेत भने ऐलानी हो । उनको परिवार यहाँबाट उत्पादन हुने धान, मकैमा अश्रित छ । हात्तीबाट जोगाउन सके अन्न भित्र्याउन पाउँछन् होइन भने मजदुरी गरेर पेट पाल्नुपर्छ । हात्तीले अन्नबाली नष्ट गर्दा उनी राहत पाउँदैनन् । वन्यजन्यु भएको क्षतिको राहत वितरण निर्देशिका– ०८० मा ऐलानी जमिनको अन्नबाली हात्तीले क्षति गर्दा राहत दिने व्यवस्था छैन । नम्बरी खेतको खाद्यान्न बालीमा क्षति पुगेमा खेतीको क्षेत्रफल र प्रकृति हेरेर बढीमा १० हजार उपलब्ध गराइन्छ  । तर, एक मौसममा लगाइएको बालीको हकमा एकपटक र वर्षमा दुईपटकसम्म मात्र राहत उपलब्ध गराउने व्यवस्था छ ।

हात्ती छेक्न नेपाल–भारतको र्‍यापिड गस्ती

मेचीबगरमा खानाको खोजीमा भारतबाट नेपालतर्फ आउँदै गरेका हात्ती । तस्बिर सौजन्य : शंकर लुँइटेल

हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि नेपाल र भारतमा र्‍यापिड रेस्पोन्स टिम बनेको छ । यी दुवै टिमले समन्वय गरेर हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि काम गरिरहेका छन् । हात्ती नेपालतर्फ छिरेको सूचना भारतपट्टिको र्‍यापिड रेस्पोन्स टिम दिने गरेको छ ।

नेपालपट्टिको टिम रातभर टर्च, माइक र ट्र्याक्टर लिएर हात्ती छेक्न मेची बगरमा पुग्ने गरेको र्‍यापिट रेस्पोन्स टिम नेपाल तर्फका संयोजक न्युटन कार्कीले बताए । उनीहरूको तालिमप्राप्त टिम छ । यद्यपि, समस्या नै समस्यामा हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि काम गरिरहेको उनले बताए । भारततर्फ सरकारले मेचीको बगरमा लाइट जडान गरेको छ । जसले हात्ती देख्न सहज हुन्छ । तर, नेपालतर्फ अन्धकार भएकाले हात्ती देख्न नै समस्या हुने गरेको उनले बताए । हात्ती–मानव द्वन्द्व न्यूनीकरणका लागि दुवै देशको सरकार स्तरीय संयन्त्र बनाएर काम गर्नुपर्ने कार्की बताउँछन् । 

१० वर्षमा हात्तीको आक्रमणबाट ६१ को ज्यान गयो
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ लागू भएयता झापामा हात्तीको आक्रमणमा परी ५४ नेपाली र सात गैरनेपाली गरी ६१ जनाले ज्यान गुमाएका छन् । यही अवधिमा विभिन्न कारण १७ वटा हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् । 

झापामा खानेकुरा खोजीका लागि भारतबाट आउने हात्तीको ठूलो हन्जाबाहेक करिब २५ वटा रैथाने हात्ती रहेको उनले बताइन् । ‘रैथाने कति छन् भन्न समस्या छ । पहिला १० देखि १३ वटासम्म छन् भन्ने पत्ता लगाएका थियौँ । अहिले २५ वटासम्म पनि देखिएको छ । आउने–जाने भइरहँदा हामीसँग यकिन तथ्यांक छैन,’ उनले भनिन्, ‘गणना गर्न हामीसँग प्रविधि पनि छैन । वाइल्डलाइफको छुट्टै शाखा पनि छैन । गणनाको काम भएको छैन ।’

अर्जुन कार्की, वडाध्यक्ष, मेची नगरपालिका– ४ 
हात्तीपीडितको समस्यालाई संघीय सरकारले गम्भीर रूपमा लिएको छैन । दैनिक सयौँ बिघा जग्गामा क्षति पुग्दा राज्यले कानमा कुन खालको तेल हालेको छ । किन सुन्दैन ?’ यो सरकारले राज्यको समस्या बनाउनुपर्छ । यो क्षेत्रमा राज्यले राहत होइन निश्चित प्याकेजमा राखेर क्षतिपूर्ति दिनुपर्छ । मेचीबगरमा हात्तीले खाने चिज लगाउने, फूलबारी बनाउने, ताल पोखरी, प्राकृतिक पार्क बनाउने योजनामा छौँ । जसले पर्यटकलाई पनि आकर्षण गर्छ । धानखेतीलाई पानी खेतीमा रूपान्तरण गरेर माछा पाल्ने योजना बनाउने तयारीमा छौँ । भारतसँगको सीमा भएकाले पर्यटकीय क्षेत्र बनाउँदा राम्रो हुन्छ । अहिले नगरपालिकाले विद्युतीय फेन्सिङ तार मर्मत, यसमा बस्ने कर्मचारीलाई तलब दिने काम पनि गरिरहेको छ । विभिन्न ठाउँमा ट्रयाक्टर भाडामा लिएर हात्ती खेदाउन प्रयोग गरेका छौँ ।

अम्बिकाप्रसाद खतिवडा प्रवक्ता, राष्ट्रिय प्राकृतिक संरक्षण कोष 
झापाको हात्ती प्रभावित क्षेत्रमा उच्च प्रविधिको प्रयोग गरेर विद्युतीय तारबार गरेका छौँ । हात्तीको पुरानो रुट हुन्छ । सधैँ त्यही रुट हिँड्छ । त्यो बाटो हिँड्दा लखेट्न खोज्ने, जिस्काउने गर्दा मानवीय क्षति पनि भएको छ । द्वन्द्वलाई न्यूनीकरण गर्न सहअस्तित्व नै कायम गर्ने हो । हामी हात्तीलाई पनि हटाउन सक्दैनौँ । यसका लागि जनचेतनामूलक कार्यक्रम गर्ने योजना बनाइरहेका छौँ । सहअस्तित्व कायम गर्न हामीले उनीहरूलाई सम्मान गर्नुपर्छ । पृथ्वी मानिसको मात्र होइन, वन्यजन्तुको पनि हो भन्ने हिसाबले हेर्नुपर्छ । उनीहरू हिँड्ने बाटोवरिपरि क्षयीकरण गरेका छौँ । त्यसलाई हटाउने, करिडोर मेन्टेन गर्ने काम गर्नुपर्दछ । उसलाई जिस्क्याउने, हप्काउने गर्नुहुँदैन । हात्तीले खान नमिल्ने अन्नबाली लगाउनुपर्छ ।

सुझावित समाचार