प्राध्यापकहरूले दिए सामूहिक राजीनामा, प्रवेश परीक्षा पुनः रोकियो

पुल्चोक इन्जिनियरिङ कलेजमा एकपछि अर्को बेथिति

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको इन्जिनियरिङतर्फको स्नातक तहको प्रवेश परीक्षा फेरि अनिश्चित बनेको छ । 

शुल्कवृद्धिको विषयबाट सुरु विवादका कारण प्रवेश परीक्षा र फाराम भर्ने मिति रोकिँदै आए पनि सोमबारको बैठकले प्रवेश परीक्षा र फारम भर्ने मिति तोकेको थियो । 

तर, मंगलबार इन्जिनियरिङ अध्ययन संस्थानका प्रवेश परीक्षा बोर्डका अध्यक्ष, सदस्यसहित सल्लाहकारले संयुक्त राजीनामा दिएपछि २२ असोजका लागि तोकिएको प्रवेश परीक्षासमेत रोकिने भएको हो । 

बोर्डका अध्यक्ष प्रा.डा. सुशीलबहादुर बज्राचार्य, सदस्यहरू उपप्राध्यापक किरणचन्द्र दाहाल, सहप्राध्यापक डा. सञ्जीवप्रसाद पाण्डे, सल्लाहकारहरू सहप्राध्यापक डा. सुरज लामिछाने र सदस्यसचिव विदुर ढकालले राजीनामा दिएका छन् । 

राजीनामा दिनेमा परीक्षा शाखाका सहायक डिन प्रा.डा. हिक्मतराज जोशी पनि छन् । राजीनामापत्रमा छोटो समयमा प्रवेश परीक्षा सञ्चालन गर्न नसकिने उल्लेख छ । 

‘उल्लेखित पत्रअनुसार उक्त मितिमा आवेदन फाराम भराउन तथा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले ४ साउनको पत्रबाट गठन भएको प्रवेश परीक्षा बोर्डका हामी तपसिलका अध्यक्ष, सदस्य तथा सल्लाहकारहरूको संयुक्त राजीनामा पेस गरेका छौँ,’ पत्रमा भनिएको छ ।

सोमबार बसेको विद्यार्थी संगठन, डिन कार्यालयलगायत सरोकारवालाको बैठकले १७, १८ र १९ असोजसम्म फाराम भर्ने समय थप गरेको थियो । बैठकले २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन हुने निर्णय गरे पनि पुनः परीक्षा नै अनिश्चित बनेको छ । 

यसअघि शुल्कवृद्धिमा विवाद भएपछि फाराम भर्न स्थगित गरिएको थियो । विद्यार्थीले शुल्कवृद्धि गर्न नहुने भन्दै आन्दोलन गरेपछि निर्णय फिर्ता लिइएको थियो । एकपछि अर्को विवाद बढ्दै जाँदा विद्यार्थीको भविष्य नै अन्योल हुने अवस्थासमेत सिर्जना भएको छ । 

यसअघि इन्जिनियरिङको स्नातक तहतर्फको शुल्क सात लाख ७५ हजार रुपैयाँ पु¥याइएपछि विवाद सुरु भएको थियो । विद्यार्थीको अनशन र दबाबपछि शुल्कवृद्धिको निर्णय फिर्ता लिए पनि अन्य विवाद बढेपछि प्रवेश परीक्षा नै अन्योलमा परेको छ ।

भागबन्डाको विरोध
नेपालकै इन्जिनियरिङ क्षेत्रको उच्च शैक्षिक संस्था मानिएको पुल्चोकमा विद्यार्थी नेतालाई भागबन्डा गरिएपछि विरोध भएको हो । पुल्चोक क्याम्पसका विभागीय प्रमुखहरूले नै मंगलबार दलीय रूपमा पद भागबन्डा गरेका थिए । जसको सर्वत्र विरोध भइरहेको छ । 

पुल्चोक क्याम्पसका ६ जना विभागीय प्रमुखले मंगलबार विज्ञप्ति निकाल्दै विद्यार्थी संगठनलाई क्याम्पस चलाऊ भनेर जिम्मेवारी सुम्पिएका थिए । 

इन्जिनियर तथा पूर्वाधारविद् सूर्यराज आचार्यले प्राध्यापकहरूले जिम्मेवारी स्ववियुलाई सुम्पिनु लज्जित विषय रहेको बताए । 

‘यो कलेज प्रतिभाशाली विद्यार्थी उत्पादन गर्ने थलो हो, तर विद्यार्थी र प्राध्यापकका पनि भ्रातृ संगठन छन्, यो लज्जित विषय हो,’ उनले भने, ‘प्राध्यापकहरूको धरातल राम्रो नहुँदा विद्यार्थीमा पनि समस्या देखिएको छ, त्यसकारण प्राध्यापक र विद्यार्थी भ्रातृ संगठन बन्द गर्नुपर्छ । र, सरकारले थप लगानी गर्नुपर्छ ।’ 

अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले प्राध्यापकहरूको निर्णयप्रति कडा आपत्ति जनाए । ‘इन्जिनियरिङ अध्ययन संस्थान हो कि एकान्तकुनाको यातायात कार्यालय ! बस व्यवसायी संघ सञ्चालक समितिका सदस्यहरूजस्ता किन देखिन थाले पुल्चोक क्याम्पस मुख्यालयमा बडेबडे कुर्सीमा बस्नेहरू ! लाज ढाक्नुस्,’ उनले भने, ‘प्रतिष्ठित अध्ययन संस्थान नै बदनाम हुन थाल्यो ! गैरजिम्मेवारीपनले हद पार गर्न लागेन र !’

(*प्रस्तुत समाचारमा असावधानिका कारण यसअघि नेपाल इन्जिनियरिङ कलेजको तस्बिर प्रयोग हुन गएकोमा क्षमायाचना गर्दछौँ । हाम्रो असावधानिका कारण नेपाल इन्जिनियरिङ कलेजलाई परेको असर प्रति पनि क्षमायाचना गर्दै अप्रासंगिक तस्बिर हटाएको जानकारी गराउँदछौँ । सम्पादक)

सुझावित समाचार