साउदी अरबको नयाँ राष्ट्रवाद

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण

साउदी अरबका नेता मोहम्मद बिन सलमान सत्तामा आफ्नो अस्तित्व सुनिश्चित गर्न धर्मभन्दा राष्ट्रवादमा निर्भर हुनुपर्छ भन्ने मान्यता राख्छन् 

साउदी अरबमा राष्ट्रवादी रूपान्तरण भइरहेको छ । यस वर्षको साउदी अरबको राष्ट्रिय दिवस (२३ सेप्टेम्बर) मा अधिराज्यभरका मानिस विशेषतः बहुसंख्यक युवा सैन्य विमानको झाँकीतर्फ झन्डा फहराउँदै नाचिरहेका थिए । साउदी राजकुमार मोहम्मद बिन सलमान (एमबिएस) ले आयोजना गरेको समारोहमा देखिएको राष्ट्रवादी उभारले मुलुकको राजनीतिक एवं आर्थिक सुधारलाई इंगित गरिरहेको थियो ।

सुरु गरौँ विदेश नीतिका सुधारबाट । साउदीले चीनको मध्यस्थतामा इरानसँग मेलमिलाप गरेको छ । त्यसैगरी, अमेरिकाको सौजन्यमा साउदीले कूटनीतिक सम्बन्धलाई सामान्य बनाउन इजरायलसँग संवाद थालेको छ । यति मात्रै नभई साउदीले प्रमुख विकासशील अर्थतन्त्रको समूह ब्रिक्समा प्रवेश पाएको छ र यमनमा भइरहेको युद्ध अन्त्य गर्न पहलकदमी पनि लिएको छ । घरेलु स्तरमा पनि साउदी अधिराज्यमा ठूलो परिवर्तन भएको छ, जहाँ सत्ता राजकुमार एमबिएस केन्द्रित भएको छ । त्यसैगरी साउदीले भिन्न मत विशेषतः वैकल्पिक राजनीतिक व्यवस्थाको पैरवी गर्ने इस्लामवादीमाथि दमन गरिरहेको छ । साउदी सत्ताको भाष्यअनुकूल हुने गरी इतिहास र विद्यालयको पाठ्यक्रममा परिवर्तन गरिएको छ । यसबाहेक साउदी अधिराज्यले अन्तर्राष्ट्रिय खेलकुद (विशेषतः गल्फ र फुटबल) मा व्यापक लगानी गरेको छ । र, तेल नीति पनि दीर्घकालीन आर्थिक आवश्यकताअनुसार तर्जुमा गरिएको छ । 

एमबिएसको सुधारले राज्यलाई तेलको राजस्वमाथिको भारी निर्भरताबाट मुक्त गर्दै जाने र विभिन्न क्षेत्रबाट आय आर्जन गर्न विविध अर्थतन्त्रको सिर्जना गर्ने लक्ष्य राखेको छ । यसलाई हासिल गर्न सरकारले धेरै महत्वाकांक्षी परियोजना प्रारम्भ गरेको छ । उदाहरणका लागि लाल सागरछेउ कार्बनमुक्त सहर निओम परियोजनालाई लिन सकिन्छ । यो परियोजना निकै खर्चिलो छ, यहाँसम्म कि तेल उत्पादन गर्ने मुलुकको अर्थतन्त्रका लागि पनि यो परियोजना निकै महँगो हो । 

हालका घटनाक्रमबारे बुझ्न सन् २०१६ पछि साउदी नीतिमाथिको एमबिएसको धारणामा ध्यान केन्द्रित गर्न आवश्यक छ । आफ्ना पूर्ववर्तीले देशको हितमा क्षति पुर्याएर गल्ती गरेका छन् भन्ने उनको विश्वास छ । उदाहरणका लागि उनी इस्लामवादप्रतिको विगतको सत्ताको समर्थनको आलोचना गर्छन् । साउदीमा मौजुदा इस्लामवादका लागि आंशिक रूपमा मुलुकभित्रको धार्मिक विरोध र सन् १९७९ को इरानी क्रान्तिको प्रतिक्रिया जिम्मेवार थियो । र, एमबिएस यो इस्लामवादलाई गम्भीर त्रुटिका रूपमा हेर्छन् । साउदी इस्लामवादले स्थिरतालाई प्रोत्साहन गर्नुको सट्टा मुस्लिम ब्रदरहुड, अल–कायदा र अल साउद राजवंशलाई नै चुनौती दिँदै इस्लामिक राज्य कट्टरपन्थी इस्लामवादी शत्रुको उदय गरायो । एमबिएस सत्तामा आफ्नो अस्तित्व सुनिश्चित गर्न धर्मभन्दा राष्ट्रवादमा निर्भर हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनी भ्रष्टाचार, कर्मचारीतन्त्रको अक्षमता र तेलमा मात्रै निर्भर अर्थव्यवस्था विविधीकरण गर्न नसक्दा साउदी अरब गम्भीर रूपमा अस्थिर बनेको तर्क गर्छन् । उनले देशको भविष्य सुरक्षित गर्न यी ऐतिहासिक गल्तीलाई तत्काल सच्याउनुपर्नेमा जोड दिँदै आएका छन् ।

साउदी अरबको घरेलु सुधार र विदेश नीति अन्योन्याश्रित छन् किनभने राज्यको आर्थिक सफलता मध्यपूर्व क्षेत्रमा शान्ति र स्थिरता हासिल गरेर नै सम्भव छ । एमबिएसले साउदी अरबलाई एक महत्वपूर्ण भूराजनीतिक खेलाडी र व्यापार, यातायात, बन्दोबस्ती र पूर्व एवं पश्चिम जोड्ने सञ्चारको मिलनबिन्दुका रूपमा परिकल्पना गर्छन् । यही कारणले गर्दा साउदीले इजरायलसँग वार्ता गर्न खोजिरहेको छ । इजरायल–अरब द्वन्द्वले क्षेत्रीय अस्थिरता निम्त्याएको छ । स्मरण रहोस्, भूमध्यसागरको प्रवेशद्वारका रूपमा रहेको इजरायलको भौगोलिक स्थानका कारण इजरायल भारतदेखि युरोपसम्म फैलिएको विश्वव्यापी सञ्जालको महत्वपूर्ण कडी हो ।

हालैको एक अन्तर्वार्तामा एमबिएसले साउदी अरबलाई विश्वको शीर्ष १० अर्थतन्त्रमा पुर्याउने इच्छा व्यक्त गरेका थिए । साउदी पहिल्यै जी–२० भित्र १५औँ ठूलो अर्थतन्त्रका रूपमा रहेको छ । उनले जी–७ मा समेत प्रवेश गर्ने लालसा व्यक्त गरेका थिए, तर सफल हुन सकेनन् । तर, मुलुक आर्थिक वृद्धि र ठूला विश्व शक्तिसँग राम्रो सम्बन्ध कायम राख्न ब्रिक्समा सामेल भएका थिए । ब्रिक्समा सामेल हुँदा उनले पश्चिमा शक्ति चिढ्याएको होइन भन्नेमा भने जोड दिएका थिए ।

कर्पोरेट कम्पनीका प्रमुख कार्यकारी अधिकृतले झैँ एमबिएस तथ्यांकलाई केलाएर नेतृत्व हासिल गर्न सकिन्छ भन्नेमा विश्वास गर्छन् । अमेरिका र चीनले आर्थिक सम्बन्ध विच्छेद गरिरहँदा एमबिएस विश्वव्यापी उदार आर्थिक व्यवस्थालाई प्रोत्साहन गर्छन् र २१औँ शताब्दीका प्रमुख राष्ट्र अमेरिका, चीन र भारतसँग सक्रिय रूपमा व्यापार सम्बन्ध विकास गर्न चाहन्छन् ।

तर, जब राष्ट्रिय सुरक्षा र रणनीतिक गठबन्धनको कुरा आउँछ, एमबिएस दृढतापूर्वक अमेरिकी समर्थक रहन्छन् । साउदी सेना अमेरिकाबाट धेरै हदसम्म सुसज्जित र प्रशिक्षित छ भन्ने तथ्यलाई ध्यानमा राख्दा अमेरिका–साउदी सम्बन्धको अन्त्य निकै महँगो पर्नेछ ।

एमबिएसअन्तर्गतको साउदी अरबलाई एक उदीयमान शक्तिका रूपमा हेर्न सकिन्छ, जसले आफ्नो उपलब्ध सम्पत्ति आफ्नो अर्थतन्त्रको विकास र विविधीकरण गर्न प्रयोग गर्न चाहन्छ । त्यसैगरी साउदीले अमेरिका, चीन, रुस र केही हदसम्म युरोपजस्ता ठूला शक्तिबीच विभाजित भएको विश्वमा आफ्नो प्रभाव बढाउन आफ्नो स्रोत र कूटनीतिक सम्बन्ध प्रयोग गर्ने लक्ष्य राखेको छ । एमबिएसले जटिल वैश्विक राजनीतिक परिदृश्य सम्हाल्ने सीप देखाएका छन् । इरानसँगको समस्या समाधानका लागि चिनियाँ मध्यस्थता र इजरायलसँग संवाद गर्न अमेरिकी सहयोग खोज्नु यो परिपक्वताको द्योतक हो । यी रणनीतिक चालले कूटनीतिक चालबाजीमा उनको निपुणता झल्काउँछ ।

(हेकेल प्रिन्सटन विश्वविद्यालयका नर्थ इस्टर्न स्टडिजका प्राध्यापक हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार