ठमेल रातभरि खोल्न दिने तयारी

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण

शान्तिसुरक्षाको अवस्था थप चुस्त बनाई रात्रिकालीन व्यवसाय सञ्चालनमा प्रहरी–प्रशासन उदार बन्न लागेको हो  

रात्रि व्यवसायको केन्द्र रहेको ठमेलमा रातभरि व्यवसाय सञ्चालन गर्न दिन प्रहरीले तयारी थालेको छ । शान्तिसुरक्षाको अवस्था थप चुस्त बनाई रात्रिकालीन व्यवसाय सञ्चालनमा प्रहरी–प्रशासन उदार बन्न लागेको हो । 

विगतमा नै जिल्ला सुरक्षा समितिले यससम्बन्धी निर्णय गरिसकेको छ । तर, पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । गत ३१ भदौमा सो निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले फेरि परिपत्र गरेपछि प्रहरीले त्यहाँको शान्ति सुरक्षाको जोखिम मूल्यांकन गरी त्यहीअनुसार तयारी थालेको हो । 

जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) भूपेन्द्रबहादुर खत्री ठमेल क्षेत्रलाई रातभरि सञ्चालन गर्न दिने तयारी भइरहेको बताउँछन् । ‘ठमेललाई २४सै घन्टा खोल्ने पक्षमा हामी छौँ,’ उनी भन्छन्, ‘यसका लागि सरोकारवालासँग छलफलमा छौँ, शान्ति सुरक्षामा पूर्ण तयारी गरेपछि कार्यान्वयनमा जान्छौँ ।’ खासगरी सिसिक्यामरालगायत प्रविधिको प्रयोगबाट शान्ति सुरक्षा बलियो बनाउने र सम्बन्धित व्यवसायीलाई नै थप जिम्मेवार बनाउने प्रहरीको योजना छ । 

१३ मंसिर २०७९ को जिल्ला सुरक्षा समितिको बैठकले नै ठमेलमा व्यवसाय गर्ने समय बढाएको थियो । सो बैठकले क्लब र डिस्को ४ बजेसम्म, डान्सबार, दोहोरी तथा लाउन्ज बारलाई २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । अन्य रेस्टुरेन्टलाई १२ बजे र मदिरा पसललाई १० बजेको समयसीमा तोकिएको छ । तर, यो निर्णय कार्यान्वयन हुन सकेको छैन । केही पहुँचवाला व्यवसायीले मात्र रातभरि सञ्चालन गर्दै आएका छन् । 

ठमेल विकास पर्यटन परिषद्का अध्यक्ष भवी शर्मा ठमेलमा रातभरि व्यवसाय चलाउन गृह र पर्यटन मन्त्रालयसँग समन्वय भइरहेको बताउँछन् । ‘सुरक्षित र मर्यादित तरिकाले रातभरि व्यवसाय चलाउन आचारसंहिता बनाउन सबै पक्षसँग छलफल गरिरहेका छौँ,’ उनले भने, ‘रातभरि चलाउने र भेहिकल फ्री जाने बनाउनेलगायत विषयमा तयारी भइरहेको छ ।’ 

See More On

सुझावित समाचार