दोलखा सुन तस्करीमा ठूलै गिरोह संलग्न रहेको प्रहरी निष्कर्ष

आइतबार, १४ असोज, २०८०
डिजिटल संस्करण

दोलखाको उत्तरी नाका फलेकबाट भएको सुन तस्करीमा ठूलै गिरोह संलग्न रहेको देखिएपछि अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेषज्ञ टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले बुधबार र शनिबार गरी सात किलो सुन बरामद गरेको थियो । प्रहरीले दुवैपटकको सुन बिगु गाउँपालिका– १ का २८ वर्षीय केशर तामाङको डेराबाट बरामद गरेको हो । उनले तस्करीको सुन लुकाउन छुट्टाछुट्टै दुईवटा डेरा भाडामा लिएका थिए । प्रहरीले सुरुमा घटनालाई सामान्य रूपमा लिएको थियो । तर, पक्राउ परेका अभियुक्तबाट नयाँ तथ्य खुलेको मात्र नभई थप सुनसमेत बरामद भएपछि घटना गम्भीर रहेको निष्कर्षमा प्रहरी पुगेको हो । सोहीकारण घटनाको अनुसन्धान गर्न सिआइबीको विशेषज्ञ टोली दोलखा पुगेको हो । 

सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले दोलखामा बरामद सुनको अनुसन्धान गर्न सिआइबीको टोली दोलखा पुगेको जानकारी दिए । ‘दोलखामा एउटै समूहबाट तस्करी गरिएको सात किलो सुन बरामद भयो । घटनामा केही अभियुक्त पक्राउ परेका छन् । उनीहरूको पृष्ठभूमि हेर्दा जति सामान्य देखिएको छ, घटना त्यसोभन्दा निकै गम्भीर हुन सक्ने हाम्रो बुझाइ हो । त्यसैले अनुसन्धानमा सिआइबीको टोली खटिएको हो,’ उनले भने ।

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा केशरसहित विगु गाउँपालिका– १ का १८ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वुछिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, २० वर्षीय माधव मगर र राज तामाङलाई पक्राउ गरेको छ । उनीहरू सबै तिब्बत–लामाबगर सीमाक्षेत्रका स्थानीय हुन् । उनीहरूको पृष्ठभूमि सामान्य देखिए पनि तस्कर गर्न लगाउने गिरोह संगठित र ठूलो रहेको प्रहरीको निष्कर्ष छ । 

गिरोहले विगतमा पनि सोही नाका हुँदै पटक–पटक सुन तस्करी गर्ने गरेको दोलखा प्रहरी प्रमुख डिएसपी दीपक खड्काले बताए । ‘पक्राउ परेका सबै सीमाक्षेत्रका स्थानीय हुन् । उनीहरूको पृष्ठभूमि सामान्य नै देखिन्छ । तर, तस्करीका लागि प्रयोग गरिएको ‘टे«न्ड’ विश्लेषण गर्दा घटनामा ठूलै गिरोह संलग्न रहेको देखिन्छ । यिनीहरूले यसअघि पनि पटक–पटक सुन ल्याएको देखिन्छ । त्यसो हुँदा अनुसन्धान गम्भीर ढंगले नै भइरहेको छ,’ उनले भने ।

प्रहरी स्रोतका अनुसार गिरोहले थप चार किलो सुन पनि सोही नाकाबाट तस्करी गरी नेपाल भित्र्याएको छ । उक्त सुन भने अझै फेला परेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणपछि चीनले गत ७ असोजबाट एक साताका लागि रोङजिया र कोल्दु नाका खुला गरेको थियो । रोङजिया नाकाबाट चीनको फलाक पुग्न सकिन्छ । नाका खुलेलगत्तै चीनले लामाबगर क्षेत्रका स्थानीयलाई फलेकसम्म जानआउन खुला गरेको थियो । त्यसैको फाइदा उठाउँदै गिरोहले तस्करीमा लामाबगरको स्थानीयलाई प्रयोग गरेको प्रहरीको भनाइ छ । हवाईमार्गबाट हुने सुन तस्करीमा पछिल्लोपटक कडाइ भएपछि सोही गिरोह स्थलमार्गतर्फ लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

‘पछिल्लोपटक हवाईमार्गबाट हुने सुन तस्करीमा कडाइ भएको छ । त्यही गिरोह स्थलमार्गतर्फ लागेको हुन सक्छ । विमानस्थलबाट हुने सुन तस्करीको गिरोह र फलेकबाट भएको सुन तस्करीको गिरोहबीचको ‘नेक्सस’ खोज्ने काम भइरहेको छ । विवरण अनुसन्धानपछि खुल्दै जालान्,’ सिआइबी प्रवक्ता अधिकारीले भने ।

प्रहरीका अनुसार बरामद सात किलो सुन पेम्बाले नेपाल भित्र्याएका हुन् । उनलाई चिनियाँ नागरिकले काठमाडौं लैजान भन्दै सुन दिएका थिए । पेम्बाले सुन केशरलाई दिएका थिए । केशरले छुट्टाछुट्टै दुईवटा डेरामा लुकाई राखेका थिए । उक्त सुन लिन काठमाडौंबाट नुर्वुछिरिङ र उनकी श्रीमती सुनमाला चरिकोट पुगेका थिए । उनीहरू पेम्बाका दिदीभिनाजु हुन् । उनीहरूबाट बरामद सुनको बजार मूल्य ६ करोड ३२ लाख १३ हजार रुपैयाँ पर्छ ।

राजस्व अनुसन्धान विभागले गत २ साउनमा मात्रै हङकङबाट तस्कर गरी ल्याइएको ६०.७१६ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो । अनुसन्धानका क्रममा सो गिरोहले दुई महिनाको अवधिमा विमानस्थलबाट मात्रै ३६२.७७८ किलो सुन तस्करी गरेको खुलेको थियो । घटना सम्बन्धमा अहिले जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस चलिरहेको छ । घटनामा २९ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध तीन अर्ब ५० करोड ३० लाख ९१ हजार नौ सय ७५ रुपैयाँ बिगोदाबी गरिएको छ । 

विमानस्थल र रसुवामा थप तीन किलो सुन बरामद 
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवा नाकाबाट थप तीन किलो सुन बरामद गरेको छ । विमानस्थलमा प्रहरीले फिलिपिनी नागरिक ३० वर्षीया अर्विकन अरोन्स मनलङबाट अर्धठोस अवस्थाको २.७२० किलो सुन बरामद गरेको छ । उनी फ्लाई दुबईको उडानबाट काठमाडौं आएकी थिइन् । दुबईबाट नेपाल आएकी उनले सुन गुप्तांगभित्र लुकाएर ल्याएकी थिइन् । विमानस्थलमा उत्रिएकी उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले निगरानी गरेको थियो । सोहीक्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी लिएको थियो ।

विमानस्थलस्थित एक्स रे मेसिनमा लगेर चेकजाँच गर्दा गुप्तांगमा लुकाई राखिएको सुन बरामद भएको थियो । उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ । त्यस्तै, सिआइबीको टोलीले रसुवा नाकाबाट एक किलो सुन बरामद गरेको छ । रसुवाबाट सुन भित्रिरहेको सूचनापछि सिआइबीको टोली नाका पुगेको थियो । चेकजाँच गर्ने क्रममा सिआइबीले एक किलो सुन बरामद गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ । 

सुझावित समाचार