दोलखामा प्रहरीले तस्करीको थप तीन किलो सुन बरामद गरेको छ । पक्राउ परेकामाथि अनुसन्धान गर्ने क्रममा बिगु गाउँपालिका–३ जामुनेस्थित केशर तामाङको घरबाट शुक्रबार थप सुन बरामद भएको हो । तामाङ यसअघि नै पक्राउ परिसकेका छन् । चार किलो सुन पनि उनीबाटै बरामद भएको हो ।
दोलखा प्रहरीले बुधबार चार केजी सुनसहित पाँचजनालाई पक्राउ गरेको थियो । केशरसहित पेम्बा तामाङ, माधव मगर, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ प्रहरी हिरासतमा छन् । बिहीबार काठमाडौंबाट बिगु– १ का राज तामाङ पक्राउ परेका थिए । उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा थप सुन बरामद भएको दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले बताए । ‘हालसम्म सात केजी सुन बरामद भएको छ, ६ जना पक्राउ परेका छन्,’ उनले भने, ‘तस्करीको नेटवर्कमाथि विस्तृत अनुसन्धान अघि बढेको छ ।’
संगठित किसिमको तस्करी देखिएकाले भन्सार ऐनका साथै प्रहरीले संगठित अपराधको कसुरमा पनि अभियुक्तहरूलाई म्याद थप गरेको हो । लामाबगर क्षेत्रको चीनसँगको नाका खुलेको तेस्रो दिनमै सुन बरामद भएको हो । यसमा ठूलै समूहको संलग्नताको आशंका गरिएको छ ।