व्यावसायिक घराना एमएस ग्रुपले ‘बुनेको : कैस्मियर टेल्स’ अनलाइन फेसन सप सञ्चालनमा ल्याएको छ । एमएस ग्रुपको नयाँ पुस्ताकी सदस्य माल्भिका अग्रवालले अनलाइन फेसन सप सञ्चालनमा ल्याएकी हुन् ।
काठमाडौंमा आयोजना गरिएको ओपनिङ समारोहमा ‘बुनेको : कैस्मियर टेल्स’का विभिन्न डिजाइनहरू प्रदर्शनीमा राखिएका थिए । स्कार्फ, ट्युब टप, स्वेटर, सललगायतका एक दर्जनभन्दा बढी डिजाइनका पहिरनहरू प्रदर्शनमा राखिएका थिए । एमएस ग्रुपका अगुवा सुमित अग्रवालकी छोरी माल्भिकाले सानैदेखिको रुचिअनुसार आफूले फेसन उद्योगमार्फत अघि बढ्न चाहेको बताइन् ।
उनले आफू ‘बुनेको : कैस्मियर टेल्स’मार्फत नेपाली फेसन अन्तर्राष्ट्रिकरण गर्न जुटेको बताइन् । उनले भनिन्, ‘मेरो अन्तिम चाहना नै बुनेको कस्मिरीका माध्यमबाट फेसनमा नेपालको प्रतिभा, सामग्री र कला विश्वलाई देखाउँदै नेपालको नाम विश्वमा चिनाउने नै हो ।’ उनकाअनुसार कपडाको मूल्यअनुसार यसको गुणस्तर र दिगो–स्थिरता कपडाका आधारभूत गुण हुन् । गुणस्तरले कपडाप्रतिको विश्वास बढाउँछ भने साजसज्जाले यसलाई जीवन्त बनाउँछ ।
यसका उत्पादनमा नेपालको शिल्प कौशल र इटालीको डिजाइनको विशिष्ट कलालाई एकै ठाउँमा ल्याउने प्रयास गरिएको उनको भनाइ छ । यसका धेरैजसो डिजाइनहरू सावधानीपूर्वक फेसनको सम्पदा मानिने इटालीमै गरिएको उनले बताइन् । ‘ती डिजाइनलाई कला, संस्कृति र परम्पराको धनी देश नेपालमा जीवन्त रूप दिइएको हो,’ उनले भनिन्, ‘यी दुइटाको एकताबाट बनेका वस्तु हेर्दा अवश्य लोभलाग्दा छन् नै । साथै, स्थानीय कला र विश्वव्यापी प्रस्फुटनको सन्देश पनि बोकेका छन् ।’