सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु

आइतबार, ३१ भदौ, २०८०
डिजिटल संस्करण
सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु

चिकित्सकको आन्दोलनका कारण वीर अस्पतालको बन्द टिकट काउन्टर बाहिर अलपत्र अवस्थामा सेवाग्राही । तस्बिर : संजित परियार/नयाँ पत्रिका

हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ताटोलीबीच छलफल सुरु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जारी वार्तामा चिकित्सकले कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। गत भदौ २७ गते सन्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमै खटिएको वेला कुटपिट भएको थियो।

कुटपिटपश्चात् नेपाल चिकित्सक संघले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो।

संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले दोषीलाई पक्रिने सुनिश्चितता नहुँदासम्म देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द रहने प्रस्ट पारे। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आफूहरूले बुँदागत रूपमा विषयहरू राखेको भन्दै सरकारले दोषीलाई पक्राउ गर्ने सुनिश्चितता गर्नुपर्नेमा जोड दिए। 

कार्कीका अनुसार छलफलको मुख्य विषयमा कुरा मिल्न सकेको छैन। संघको आन्दोलनका कारण देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द छन्।

सुझावित समाचार